तल्लोसोराडमा विद्युत विस्तार

तल्लोसोराडमा विद्युत विस्तार

बैतडी : जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको तल्लोसोराड क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोड्ने कार्य सुरु भएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुर्‍याउने काम सुरु भएको हो । 

तल्लोसोराडमा विद्युत पुर्‍याउनका लागि काम सुरु भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाले जनाएको छ । तल्लोसोराडमा विद्युत पुर्‍याउन पाटन र मेलौली सवस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढिसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख सतीशकुमार कर्णले बताए । 

दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि आर.के.इन्टरनेश्नल प्रालिसँग ठेक्का सम्झौता भएको उनले बताए । ‘मेलौलीमा सवस्टेशन निर्माणका लागि १२ करोड र पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोडमा ठेक्का सम्झौता भएको छ’, उनले भने, ‘गत जेठमा भएको सम्झौता अनुसार एक वर्षभित्र सवस्टेशन निर्माण गरिसकिने छ । दुवै ठाउँमा सवस्टेशन निर्माण भएपछि विद्युतको राष्ट्रिय प्रशारण जोडिनेछ ।’

यस्तै पाटनदेखि मेलौलीसम्म विद्युत लाइन विस्तारको काम सुरु भएको प्रमुख कर्णले बताए । यसका लागि अमृत इन्द्रधनु जेभीसँग २ करोड १४ लाखमा ठेक्का सम्झौता भएको छ । ‘विद्युत लाइन विस्तारको काम पनि एक वर्षभित्रै सक्ने लक्ष्यसहित गत जेठमा सम्झौता भएको हो’, प्रमुख कर्णले भनेऽ ‘३३ केभी प्रशारण लाइन विस्तार र सवस्टेशन निर्माणको काम सम्पन्न भएपछि विद्युतको राष्ट्रिय प्रशारण सुरु हुन्छ ।’

तल्लोसोराड क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । ‘हाम्रो ठाउँमा सडक पनि पुगिसकेको छ । विद्युतको राष्ट्रिय प्रशारण पुर्‍याउन काम सुरु हुँदा हामी धेरै खुसी भएका छौं’, मेलौलीका लक्ष्मण पार्कीले भने, ‘तल्लोसोराड क्षेत्रमा सडकसँगै विद्युत विस्तार हुँदा धेरै सहज हुनेछ ।’

मेलौलीमा सवस्टेशन निर्माणको काम सम्पन्न भएपछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको विद्युतको राष्ट्रिय प्रशारणमा पहुँच पुग्ने नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले बताए । उनले भने ‘हामीले पनि विभिन्न पालिकामा विद्युत विस्तारका लागि पहल गरिरहेका छौं । तल्लोसोराडमा प्रादेशिक कार्यालयबाटै विद्युत विस्तारका लागि काम भइरहेको छ ।जिल्लाबाट पनि मेलौलीको वडा नं २ सलेनामा विद्युत विस्तार गर्ने तयारी गरेका छौं ।’

५ स्थानीय तह विद्युत विहीन 

जिल्लाका ५ स्थानीय तह अझै पनि विद्युतको राष्ट्रिय प्रशारणमा जोडिन सकेका छैनन् । स्थानीय तहहरुमा विद्युत नहुँदा दैनिक कामकाजमा समेत बाधा हुने गरेको छ । मेलौली नगरपालिका र पुर्चौंडी नगरपालिकामा लघुजलविद्युत आयोजनाको विद्युत बलेको भए पनि विद्युतको राष्ट्रिय प्रशारण पुगेको छैन। यस्तै शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिका पनि विद्युतको राष्ट्रिय प्रशारणको पहुँचमा पुगेका छैनन् । 

विद्युत नहुँदा सोलारकै भरमा काम सञ्चालन गर्नुपर्ने बाध्यता रही आएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । ‘कार्यालयका विभिन्न काम कम्प्युटरका माध्यमबाट गर्नुपर्छ । अन्य विद्युतबाट हुने काम पनि सोलारको माध्यमबाट गरिरहेका छौं’, उनले भने, ‘गाउँपालिकाको केन्द्रमा विद्युत सेवा नहुँदा धेरै समस्या हुने गरेको छ ।’

विद्युत नहुँदा धेरै काम प्रभावित हुने गरेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने, ‘विद्युत नहुँदा धेरै सेवासमेत प्रभावित हुने गरेका छन् । तल्लोसोराडमा विद्युत पुर्‍याउने हिसाबले काम सुरु भएकाले अबको दुई वर्षभित्र विद्युत पुग्ने आश गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.