'गीत गजल र शीतलमा' स्रष्टा पुरस्कृत
काठमाडौं : गीत गजल र शीतल कार्यक्रमको १३ औं श्रृङ्खलामा वर्ष पुरस्कार अन्तर्गत सोमबार गीतकार विष्णुबाबु देवकोटा र गजलकार ईश्वर दाहाल सम्मानित भएका छन् । सम्मान स्वरूप उनीहरूलाई जनही पच्चिस हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।
यस्तै हरेक दुई महिनामा हुने स्रष्टा सम्मान अन्तर्गत गायिका मिना निरौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 'अनुजलाई प्रोत्साहित गरौँ, राम्रा गजल लेखनलाई विकास गरौँ' भन्ने उद्देश्यका साथ दुईवर्षअघि गीत गजल र शीतल कार्यक्रमको सुरुवात गरिएको थियो।
गीत गजल र शीतल कार्यक्रममा बजारमा चर्चा कमाउँदै गरेका गायक गायिकाका साथै कहिले गीत लेखिरहेका गीतकारलाई निम्तो गरिन्छ भने कहिले स्थानीय स्तरमा बसेर उत्कृष्ट गजल लेखिरहेका गजलकारलाई बोलाइन्छ ।
कुञ्ज थियटर थापागाँउमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि थिए । प्रमुख अतिथि उपराष्ट्रपति पुनले सम्मानित स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले सर्जकलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । नाटक साहित्यको पुरानो र लोकप्रिय विधा भएकाले नेपालमा पछिल्लोपटक थियटरका कलाकारले राम्रो काम गरिरहेकामा आफूलाई खुसी लागेको उनले बताए।