ओलीसँग मेरो व्यक्तिगत दूरी बढेको छ
प्रधानमन्त्री केपी ओलीसँग दूरी बढेपछि प्रचण्डसँग निकटता बढ्नु स्वाभाविक भएको बताउँछन् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यशैली र व्यवहारले कसैसँग निकट र टाढा बनाउने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भनाइ छ।
उनले पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुपर्ने, एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था गर्नुपर्ने माग निरन्तर उठाउँदै आएका छन्। केन्द्रीय समिति बैठक, एमसीसीबारेको कार्यदल, सरकारका गतिविधिका बारेमा केन्द्रित रहेर नेपालसँग अन्नपूर्णकर्मी रामकृष्ण अधिकारीले गरेको कुराकानी :
केन्द्रीय समिति बैठकका निर्णयबारे
केन्द्रीय समिति बैठक बोलाउन झण्डै २१ महिना लगाउनुभयो, यो बैठकको सन्देश के हो ?
हाम्रो कार्यशैलीमा देखापरेको त्रुटि र बैठकको कमिटिगत प्रणालीमा सामूहिकताको आवश्यकता र महत्त्वलाई आत्मसात् गर्ने कमजोरी, व्यक्तिवाद जस्ता प्रवृत्तिले गर्दा कमिटिको महत्त्व घटेकाले बैठक बस्न नसकेको हो। यति लामो समय बैठक बस्न नसक्नुको कुनै कारण थिएन। कुनै पनि काम समयमा हुनुपर्छ –चाहे कमिटि निर्माण गर्ने, बैठक बस्ने वा त्यसको अधिवेशन/महाधिवेशनको कुरा होस्, समयभित्र ती काम सम्पन्न हुनुपर्छ।
बैठक सञ्चालन, विषयवस्तुमा प्रवेश गर्नेदेखि त्यसमाथि गहन छलफल गर्ने र निचोड निकाल्ने काम हुनुपर्छ। जनवादी केन्द्रीयताको सिद्धान्तको पूर्णपरिपालना, कमिटिको बैठकमा खुला छलफल/बहस, आएका निर्णय सबैले पालना गर्ने केन्द्रीयताको विकास पार्टीभित्र हुनुपर्छ। खुला बहसले मात्र जनवादको प्रयोग हुन्छ। निर्णयको परिपालनाले केन्द्रीयता हुन्छ। केन्द्रीयता सबैका निम्ति वाध्यकारी हुन्छ। जुनसुकै तहका नेता–कार्यकर्ता किन नहुन्।
पार्टी बैठकमा नेताहरूले व्यक्त गरेका भावना सराहनीय थिए। उहाँहरूले आफ्ना पीडा, आक्रोश र विरोध शालीनताका साथ व्यक्त गर्नुभयो। पार्टीभित्रका अनेक खालका विचलनका प्रवृत्तिलाई राम्रो ढंगले व्यक्त गर्नु भएको छ। हामीले गल्ती–कमजोरी नदोहोर्याउने प्रतिवद्धताका साथ अगाडि बढ्न सक्नुपर्छ।
बैठकका सफलता के–के रहे ?
विषयवस्तुमा सबैले बोल्ने मौका पाउनुभयो। त्यत्रो ठूलो कमिटिको बैठक सञ्चालन गर्नु, बैठक बसाल्नु सानो कुरा थिएन। सबैले पूर्ण बैठकमा आफ्ना कुरा राख्दा धेरै समय लाग्थ्यो। यस अर्थमा समूह–समूहमा छलफल गर्ने विधि नै उपयुक्त हुन्थ्यो। त्यही तरिकाबाट बैठक सम्पन्न गर्यौं। त्यहाँबाट आएका साझा सरोकार र चिन्ताका विषयलाई सम्बोधन गर्ने काम भएको छ।
प्रदेश–२ का बारेमा अध्यक्ष प्रचण्डको निचोड गलत थियो। त्यहाँ भएको मनपरी र बदमासीलाई उहाँले ढाकछोप गर्नुभयो। किन ढाकछोप गर्नुभयो, कुन स्वार्थले त्यस्तो गर्नुभयो भन्ने थाहा भएन। अधिकाशंको कुरा नमानेर एउटा व्यक्तिको पछि लागेर उहाँले दिएका अभिव्यक्ति आपत्तिजनक छन्।
फोटाका सन्दर्भमा पनि उहाँले व्यक्त गरेका धारणा आपत्तिजनक रहे। अध्यक्षद्वयका फोटा हटाउने, माक्र्स, एंगेल्स र लेनिनका फोटा राख्ने कुरा सकारात्मक हो। कतिपय कुरा मलाई चित्त नबुझेको हो। उहाँ (प्रचण्ड) लाई पनि भनौंला, बाहिर जाओस् भनेर पनि मैले तपाईंमार्फत सुनाइदिएको हुँ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मसँग भन्दै हुनुहुन्थ्यो, ‘फोटाका बारेमा म पनि विपक्षमा हुँ।’ फोटो राख्नै हुन्न भन्ने पक्षमा म पनि हुँ। उहाँको मलाई चित्त बुझेको कुरा त्यो हो।
पार्टी बैठकमा माक्र्स–एंगेल्सका तस्बिर हटाएर दुई अध्यक्षको फोटो राख्ने प्रस्ताव प्रचण्डको हो ?
मेरो सामुन्नेमा त्यसरी फोटो राख्ने कुरा कसैले भनेको छैन। तर प्रधानमन्त्रीले मसँग फोटो राख्ने पक्षमा छैन भन्नुभएकाले र प्रचण्डले फेरि पनि छलफल गर्न सकिन्छ भन्नुभएकाले उहाँ (प्रचण्ड) मा बढी चाहना देखिन्छ। त्यो चाहना गलत हो।
म प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विरोधी हुँ। त्यसले नयाँ तानाशाह जन्माउँछ।
म पूर्वएमालेभित्र व्यक्तिवादका विरुद्धमा लड्दै आएको हुँ। हामी पुरानो नेतामध्येमा पर्ने भएकाले हाम्रो भूमिकाका बारेमा प्रश्न उठ्यो भने के जवाफ दिने ? हामी सबै फेरि हाराहारीका छौं। एउटा पुस्ता अर्काे पुस्ताको पुस्तान्तरणको अन्तर पनि छैन। त्यो हुँदा कसैले पनि आफूलाई विशेष मान्छेको रूपमा प्रस्तुत गर्ने काम नगरौं।
प्रदेश २ का सन्दर्भमा प्रचण्डले निकालेको निचोडलाई गलत भन्नुभयो, प्रदेशका अध्यक्षले पार्टी बैठकमा रिपोर्ट राख्दा प्रदेशमा विवादै नभएका विषयमा माथि (शीर्ष नेता) बाट विवाद ल्याउने काम गरिएको, पद छोड्न नदिने र काम पनि गर्न नदिने काम भएको बताउनुभएको थियो। अध्यक्षले दिएको जवाफमा पनि तपाईंले चित्त बुझेन भन्नुभयो, यसबारे प्रष्ट पारिदिनुहोस् न ?
प्रदेशको एउटा व्यक्तिले के भन्छ, के गर्छ भन्ने बारेमा म केही भन्न चाहन्न। त्यो पार्टी कमिटिको निकायको कुरा भयो। पार्टीले सीधै सर्कुलर गरेको छ— २ नम्बर प्रदेशमा धेरै बदमासी भएको छ। पार्टीमा नभएका गैरपार्टीका मान्छेलाई प्रदेश र जिल्ला कमिटिमा ल्याउने काम भएको छ। त्यसैगरी पार्टीको विरोधमा चुनावमा भाग लिएकालाई पनि ल्याइएको छ। यी सबै विषयमा संगठन विभागले छानबिन गर्दैछ। यसको समाधान पनि संगठन विभागले नै गर्छ।
प्रचण्डले दिएको जवाफमा खासै चित्त बुझेन भन्नुभयो नि ?
उहाँले त्यहाँको विषयमा हलको भावनालाई व्यक्त गर्न सक्नुभएन। त्यहाँ भएका बेथितिका बारेमा उहाँले चर्चा पनि गर्न सक्नु भएन। हलमा उठेका दुवै भावनालाई समेट्नु पर्दथ्यो। त्यसमा उहाँ चुक्नुभयो।
यी दुइटा विषयबाहेक बैठकले निकालेका निचोडका अन्य पक्ष ठीक छन् ?
अध्यक्ष प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफमा दिएका अधिकांश अभिव्यक्ति राम्रा थिए। विधिमा जाने, पद्धतिको पालना गर्ने, पार्टी एकताको काम छिटो सक्ने, समय सीमाभित्र गर्ने भन्ने प्रतिबद्धता व्यक्त भएको छ। त्यो प्रतिबद्धता पालना हुनुपर्छ भन्नेमा सबैको जोड थियो। पोलिटब्युरो गठनका विषयमा प्रतिबद्धता व्यक्त भएको छ। त्यस हिसाबले अगाडि बढ्न सकिन्छ भन्ने आशा छ। पार्टीका दुवै अध्यक्षले केन्द्रीय समिति सदस्यको भावना बुझ्नुहुन्छ भन्ने विश्वास छ।
लचकताको पक्ष कमरेड प्रचण्डमा अलिक ज्यादा देखिन्छ। लचकताका नाममा भएका कमजोरीबारे मैले स्पष्ट भनेको छु। नेताहरूले उठाएका विषय रियलाइज गर्ने, पार्टी विकासका लागि चिन्ता गर्ने र सरकारले गरेका राम्रा कामको चर्चा गर्नुपर्यो भनी केपी ओलीबाट व्यक्त विचार ठीक थिए। केन्द्रीय सदस्यले कसरी कुरा उठाउनुभयो भन्नुभन्दा पनि सरकारका उपलब्धिलाई जनताले कसरी लिएका छन् भन्ने कुरालाई महत्त्व दिनुपर्छ। जनताको मन जित्ने काम हुनुपर्यो।
एमसीसी विवादबारे
पार्टीभित्र बहसमा आएको एमसीसीका सन्दर्भमा नेकपाले कार्यदल गठनको निर्णय लियो, यसभित्रको सन्देश के हो ?
एमसीसीमा गहन छलफल होस् भनेरै कार्यदल गठन गरिएको हो। हामी सबैले समय दिएर त्यसका सबै विषयवस्तु हेर्न पाएका छैनौं। कार्यदल भएपछि एक होइन, अनेक दिमागको प्रयोग/उपयोग हुन्छ। त्रुटि देखिए भने सुधार गर्ने उपायको खोजी गरिनेछ। आम रूपमा आर्थिक सहयोगको विपक्षमा छैनौं। इन्डो प्यासिफिकमा जोडिन पुगेकाले मात्र हामी बढी सशंकित भएका हौं। अमेरिकीहरूकै जवाफले पनि सशंकित हुनुपर्ने अवस्था उत्पन्न भयो। जटिलता खडा गरिदियो।
अमेरिकाको पनि प्रष्ट धारणा पाउन सकेनौं। एमसीसीमा केही त्रुटि छन् भने त्यसलाई मिलाउने, सच्चाउने र नेपालको हितमा असर पुर्याउने कुरा छन् भने त्यसलाई हटाउने हो। हामी आर्थिक सहयोगको विपक्षमा नभई अनुचित सर्तबन्दीको विपक्षमा मात्र हौं। कसैले पनि त्यत्तिकै पैसा दिँदैन। बैंकले ऋण दिनुपर्यो भने पनि त्यत्तिकै दिँदैन। उचितलाई उचित र अनुचितलाई अनुचित मान्नुपर्छ।
स्थायी समितिले सचिवालयलाई निर्णय अधिकार दियो, सचिवालयले निर्णय लिएको छैन, केन्द्रीय समितिमा कुरा उठ्यो र त्यहाँबाट फेरि कार्यदल बन्यो। किन यस्तो गलोचक्करमै घुम्न थाल्नुभयो ?
हामीले त्यसबेलै त्रुटि गर्यौं। यी विषयमा आवाज उठ्नेबित्तिकै हामीले पहिले नै व्यापक छलफल गरेको भए हुन्थ्यो। मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भनेको थिएँ, ‘किन यो विषयमा तपार्इंले छलफल गराउनु हुन्न ? बहस गर्नुहुन्न ? फरक विचार राख्ने मान्छेलाई बोलाउने, कुरा सुन्ने, समूहमा छलफल गर्दा के बिग्रिन्छ ? तर उहाँले समय अभावका कारण मैले नभ्याएर हो भन्नुभयो। त्यसपछि पनि मैले भनें –हामीलाई जिम्मा दिनुहोस्, हामी छौं, हामी त्यहाँ बसेर छलफल गरेर कुरा सुन्न सक्छौं भनेको थिएँ। तर त्यहाँ उहाँले सकारात्मक कुरा गर्नु भएको थियो। यो विषयबारेको छलफल उहिल्यै गर्नु पर्दथ्यो। ढिलै भए पनि कार्यदल बनेको छ। कार्यदलको प्रतिवेदनपछि छलफलबाट हामी सहज ढंगले यसको टुंगो लगाउँछौं।
निर्णय लिन कत्तिको सहज होला ?
बाहिर भनेजस्तो त्यति जटिल होइन। बैठकमा तीनवटा कोणबाट कुरा उठेका थिए। पहिलो, थोरै मत एमसीसी पास गर्ने हुन्न भन्ने थियो। दोस्रो थोरै मत जस्ताको तस्तै पारित गराउने र तेस्रो अधिकाशंको मत थियो– हामीले राम्ररी बुझ्न पाएका छैनौं। अधिकांशको राय सन्तुलित छ। राष्ट्रिय हितप्रतिको चिन्ता छ। हामी असंलग्न परराष्ट्र नीतिबाट पछि नहटौं भन्ने छ। त्यसैगरी कुनै पनि गठबन्धनमा हामी सामेल हुँदैनौ, कसैको पिच्छलग्गु पनि हुँदैनौ। कसैको पक्ष र विपक्षमा हामी जादैनौं भन्ने अधिकांश नेताको राय छ।
प्रधानमन्त्री कार्यदल बनाउन इच्छुक हुनुहुन्थेन तर तपाईंहरूको जोडबलमा मात्र कार्यदल बनाइएको भन्ने छ नि ?
सचिवालय सदस्यका बीचमा सहमत भएर कार्यदल बनेको हो। कार्यदल बनाएर जाने विषयमा प्रचण्डको बढ्ता जोड थियो। कमरेड केपीको नबनाए पनि हुन्छ भन्ने थियो। कार्यदल बनाउनै हुन्न भन्ने पक्षमा हुनुहुन्थेन। ओली कार्यदल बनाएर बहस गरौं न त भन्ने पक्षमा गएकैले कार्यदल बनेको हो।
नोट अफ डिसेन्टको सम्बोधन
पार्टी सचिवालय बैठकमा यहाँले दुईपटक आफ्ना असहमतिपत्र दर्ता गराउनुभएको थियो, त्यो पार्टी बैठकको एजेन्डा बन्नुपर्छ भनेर भनिरहनुभएको थियो, केन्द्रीय समिति बैठकमा तपाईंले उठाउँदै आएका विषय एजेन्डा बने ?
मैले पार्टीमा उठाउँदै आएको कुरा केन्द्रीय समितिमा व्यापक रूपमा आयो। धेरैले बोल्नुभयो। बैठकमा मैले नबोले पनि मेरो भावना व्यक्त भएको थियो। विधिमा पार्टी चलाउने, एक व्यक्ति एक कार्यकारी पदको दिशामै अगाडि बढ्ने, सर्कुलरअनुसार नै सबै कमिटिको एकीकरणको काम सम्पन्न गर्ने हो भन्ने कुराकै निष्कर्ष निस्कियो। प्रचण्डले त्यहीअनुसारकै निष्कर्ष सुनाउनुभयो। त्यसमा गुनासो गर्नुपर्ने कुरा थिएन।
भनेपछि सचिवालयमा तपाईंले राखेका विषय केन्द्रीय समितिले सम्बोधन गर्यो ?
हो। विषयवस्तु आएको छ। बैठकमा गम्भीर रूपले ध्यानाकर्षण भएको छ। सुधार गर्नुपर्छ भन्ने जवाफ पनि छ। हामी क्रमशः सुधार्छौं भन्नुभएको छ।
पार्टी बैठकमा सचिवालयका दुई अध्यक्ष र महासचिवबाहेक तपाईंहरूले आफ्नो मत पनि राख्नु भएन किन ?
होइन, दुई अध्यक्षका तर्फबाट उठेका प्रश्नमा सम्बोधन भइसकेपछि बोल्नैपर्छ भन्ने भएन। अध्यक्षकै सम्बोधनमा मेरो भावना पनि आएको छ। मलाई बोल्ने कि नबोल्ने भन्ने कुरा आएको थियो सचिवालयको बैठकमा। मैले बोल्ने विषय आइसकेपछि किन बोल्नुपर्यो र भनेको हुँ।
सरकारको समीक्षाबारे
सरकारबारे पार्टी केन्द्रीय समितिमा कत्तिको छलफल भयो ? त्यहाँभित्रको छलफलबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
सरकारबारे अलग्गै एजेन्डा राखेर सचिवालयका सदस्यले समीक्षा गर्र्नुपर्छ। छलफल गरेर जति धेरै विचार मन्थन गर्यो, त्यत्ति नै राम्रो हुन्छ। बहसबाट नडराऔं, विवादबाट नतर्सिऔं भन्ने मेरो धारणा हो। ठूलो कमिटि भयो भन्नेबित्तिकै बैठक गर्न नडराऔं। सबैका कुरा कमिटिको बैठकमा पोख्न दिनु राम्रो हो। मान्छेका असन्तुष्टि, गुनासा, आक्रोश त्यहीं प्रकट हुँदा केही पनि बिग्रँदैन मान्छेको भावना पवित्र छ भने।
तीनै तहको सरकार सञ्चालनमा कस्तो संयन्त्रको कुरा आएको हो ?
सरकार सञ्चालनलाई प्रभावकारी बनाउन संयन्त्रको कुरा गरिएको हो। त्यस्ता संयन्त्रमा अवश्य पनि पार्टी कमिटि हुन्छन्। पार्टी कमिटिभित्र सरकारमा बसेका मान्छे पनि रहनेछन्। संयन्त्र प्रमुखमा सरकारकै प्रमुखलाई राख्न हुँदैन। प्रमुख अर्काे हुनुपर्छ। प्रमुख त्यही हुने भन्नेबित्तिकै उसले डोमिनेट गरिहाल्छ। उसले विषय अगाडि बढ्न दिँदैन।
कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो। उहाँसँग दूरी बढिसकेपछि स्वाभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो। मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो। कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो।
प्रदेशको बनाउनुछ भने प्रदेशको पार्टीका जिम्मेवार व्यक्तिलाई राख्नुपर्छ, प्रदेशको मुख्यमन्त्रीसहितको सानो टिम, पार्टीका अगुवा रहनेछन्। नगरपालिकामा पनि नगरका मेयर वा नगरका पार्टी अगुवा हुन्छन्। उनीहरूले मूल्यांकन र समीक्षा गर्नेछन्, मार्गदर्शन गर्नेछन्। केन्द्रमा पनि त्यसैगरी संयन्त्र बनाउनुपर्छ।
राष्ट्रिय अभियानबारे
बैठकबाट तीनमहिने अभियान पनि तय गर्नुभयो, यो अभियानको खास उद्देश्य के हुन्छ ?
एकताको सन्देश तलसम्म पुर्याउने, पार्टी पंक्तिमा नयाँ विश्वास पैदा गर्ने, दुइटै पूर्वसमूहबाट आएकालाई पूर्णरूपमा एउटै भावधारामा समाहित गर्ने र सबै तहका कमिटिलाई पूर्णरूपमा क्रियाशील गराउन उत्पे्ररित गर्ने अभियानको उद्देश्य हो।
पार्टीलाई जनताका बीचमा जनतासँगै एकाकार बनाउन मार्गदर्शन गर्ने र पार्टीका विचार र राजनीतिक दर्शन तलसम्म पुर्याउने। एकीकरणको महत्त्व, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पार्टीको महत्त्व के छ भन्ने बारेमा पार्टी पंक्तिको चेतनास्तर माथि उठाउने र अगाडि बढ्न उत्पेरित गर्ने काम नै अभियानका उद्देश्य हुन्।
पार्टी गुटबन्दीबारे
पार्टीमा गुटबन्दी बढेको भन्दै नेताहरूले तपाईंहरूतिर नै निसाना लगाएको देखियो नि ?
शीर्र्षनेता भनेको कमरेड केपी ओली, कमरेड प्रचण्ड र मप्रति पनि होला। अरू कमरेडहरूप्रति पनि होला। माथिकै नेताहरूको भूमिका र आपसी सम्बन्धले नै पार्टीमा त्यसको असर पर्छ। गुटबन्दी अन्त्य गर्न एउटै उपाय भनेको विधि र पद्धतिअनुसार पार्टी अघि बढाउने हो।
पार्टी विधिमा चलाउनेबित्तिकै मान्छेको मूल्यांकन उसको गुण र दोषका आधारमा गर्न थालियो भने सबैलाई चित्त बुझ्छ। पार्टीलाई मापदण्डबाट नभई गोजीबाट मान्छे झिकेर राख्न थाल्नुभयो भने त्यसले असन्तुष्टि जन्माउँछ। एउटा पंक्तिलाई पाखा गर्न थाल्नुभयो भने पाखा लगाइएका सबै एक ठाउँमा भेला हुन्छन्।
माथिदेखि तलसम्म आफूलाई मन नपरेका मान्छेलाई पन्छाउन थाल्ने हो भने त्यस्ता पाखा लगाएइकाहरूसामु पाँच विकल्प हुन्छन्।
पहिलो– पार्टी छोडेर जाने, दोस्रो– निरास र शिथिल भएर बस्ने, तेस्रो–दास बनेर दासता स्वीकार गर्ने, चौथो – विद्रोह गर्ने र पाचौं –असन्तुष्टि पोख्ने। पार्टी छोड्ने कुरा कल्पना नगरे हुन्छ। पूरै निष्किय भएर बस्ने काम पनि गर्नुहुँदैन। दासता स्वीकार गर्ने कुरा स्वीकार्य हुँदैन।
त्यसो हो भने वामदेव गौतम निवासमा गत पुस २३ गते बसेको सचिवालयका बहुमत सदस्यको बैठक केका लागि भएको थियो ?
त्यो ठूलो कुरा होइन। सँगै बसियो। पार्टीप्रति चिन्ता व्यक्त भयो। पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्नेमा सबैले चिन्ता व्यक्त गर्नुभयो। त्यसलाई अन्यथा लिन जरुरी छैन।
प्रधानमन्त्रीलाई विधिमा चलौं भन्न दबाब दिन थियो त्यो बैठक ?
होइन, त्यसमा विधि विषयमा छलफल भएको हो। नेताहरू यसरी पार्टीप्रतिको चिन्तामा छलफलमा बस्नु कुन नौलो कुरा भयो र ! मकहाँ पनि नेताहरू आउनुहुन्छ, भेटघाट/कुराकानी हुन्छ। यसलाई पनि अन्यथा लिने ? यसलाई गुटबन्दीको अर्थमा लिनु हुँदैन।
दिवंगत राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताका नाममा चलेका प्रतिष्ठान पनि गुटबन्दीका अखडा भए भन्ने नेताहरूको चिन्ता देखिन्थ्यो, यसबारेमा बैठकले केही सम्बोधन नगरेको हो ?
पार्टीको मार्गदर्शनमा खुलेका प्रतिष्ठान पनि छन्। जस्तो पुष्पलाल प्रतिष्ठान, मदन आ िश्रत स्मृति प्रतिष्ठान, तुल्सीलाल स्मृति प्रतिष्ठान, मोतिदेवी स्मृति प्रतिष्ठान र मनमोहन स्मृति प्रतिष्ठान पार्टीको मार्गदर्शनमा खुलेका छन्। पूर्वएमालेतिर पार्टीले खोलेका प्रतिष्ठान यति मात्रै हुन्। पूर्वमाओवादीतिर सम्भवतः पोस्टबहादुर, निर्मल लामाका नामका प्रतिष्ठान होलान्। मलाई उताका धेरै जानकारी छैन।
मदन भण्डारी फाउन्डेसनसँग जोडिएको विषय बैठकमा बढ्ता उठेको हो। तलसम्म उसका गतिविधिलाई लिएर उठेका होलान्। जेहोस् यी सबैलाई व्यवस्थित गर्नुपर्छ। होइन भने मदन भण्डारी फाउन्डेसनका नाममा तलसम्म गतिविधि बढाउने अनि पुष्पलाल मैत्रीकेन्द्र किन नखोल्ने ? अहिले मदन भण्डारी फाउन्डेसन र पुष्पलाल मैत्री केन्द्र तलसम्म प्रतिस्पर्धामा गइरहेका छन्। यस विषयमा पार्टी गम्भीर बन्नुपर्छ।
शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे
शासकीय स्वरूपदेखि निर्वाचन प्रणालीका विषयमा पनि पार्टीभित्र बहस देखा चलेको हो ?
म प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विरोधी हुँ। त्यसले नयाँ तानाशाह जन्माउँछ। फिलिपिन्सका मान्छे त्यस्तो खालको व्यवस्थाबाट वाक्क भइसके। श्रीलंकनले पनि भन्दैछन्– त्यस्तो गर्न हुँदो रहनेछ। मसँग धेरैले भनेका छन्।
नेपालका मान्छेको प्रवृत्ति हेर्दा यहाँ तानाशाह मात्र जन्मिन्छ। त्यसकारण त्यस्तो गरेर जान हँुदैन। संसद् हुँदा त यस्तो छ भने प्रतिपक्ष नहुँदा के होला ? कुनै तानाशाह जन्मिँदा अर्काे समस्या खडा भइदिन्छ। संवाद र अन्तरसंवादका लागि हामीकहाँ सुधारिएको या परिमार्जित संसदीय प्रणाली उपयुक्त हुन्छ। त्यही नै अवलम्बन गरेर जानुपर्छ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पनि हुनुहुन्न ?
त्यो पनि गर्नु हुँदैन। इजरायल त्यो प्रक्रियावाट गुज्रिसकेको छ। त्यहाँबाट पनि धेरै जटिलता खडा भएको विश्वका अनुभवले देखाइसकेको छ।
निर्वाचन प्रणालीका विषयमा ?
निर्वाचन प्रणाली धेरै महँगो भएको छ। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा चिन्तन गर्नु आवश्यक छ। पूर्ण समानुपातिकमा जान हुँदैन। त्यसले जनतासँगको सम्बन्ध तोड्छ। नेताहरूको प्रवृत्ति उही हो – गोजीबाट मान्छेको नाम निकालेर टप्प टिपेर ल्याउने। जनताका बीचमा जानु परेन। गणेश प्रवृत्ति हुर्किन्छ। हामीले अपनाएको प्रणाली नै ठीक छ।
संविधान संशोधनका विषय कहाँ पुग्यो ?
अहिले हामीले संविधान संशोधनको आवश्यकता महसुस गरेका छैनौं। केही पर्यो भने पछि नै छलफल गरौंला।
महाधिवशेन र नेतृत्वबारे
महाधिवशेनको कार्यतालिका बैठकले तय गरेको छ, कत्तिको सम्भव छ ?
महाधिवेशन कार्यतालिका अनुसार नै कार्यान्वयन गरेर जानुपर्यो। निर्णय गर्ने, समयमा काम नगर्ने प्रवृतिको म घोर विरोधी हुँ। पहिले पनि १५ दिनभित्र पार्टी एकताको सम्पूर्ण काम सम्पन्न गर्ने भनेर स्थायी समितिमा निर्णय भयो। पालना भएन। पालना नहँुदा आत्मालोचना पनि आएन। यो ढिलासुस्तीको म पक्षमै छैन। म बोलेर दसवटा कुरा फेर्ने प्रवृतिको घोर विरोधी हँु। बोलीको पक्का हुनुपर्यो, वचनको पक्का हुनुपर्यो, दोहोरो चाल चाल्ु भएन।
महाधिवेशन कार्यतालिका आएपछि नेतृत्वका चर्चाका कुरा पनि स्वाभाविक रूपमा आउलान्, महाधिवेशनवाट नेतृत्वका लागि यहाँको दाबी हुन्छ कि हुँदैन ?
त्यस्तो खालको प्रवृत्ति मेरो छैन। काम पहिले गरौं, कार्यकर्ता, पार्टी सदस्य र आवश्यकताले के भन्छ यसैका आधारमा निर्णय गर्ने छु। सडकमा गीत गाउँदै हिँड्ने बेला अहिले होइन।
अध्यक्षद्वयसँगको सम्बन्ध
प्रधानमन्त्रीसँग केही समयअघि तपाईंको तिक्ततापूर्ण सम्बन्ध पनि देखापरे, बाहिर सञ्चारमाध्यममा पनि ती विषय सार्वजनिक भए। प्रधानमन्त्रीसँग तपाईंको सम्बन्ध अहिले कस्तो छ ?
नेताहरूबीचको सम्बन्ध घामछायाँ जस्तो छ। ‘कहिले लभ, कहिले हेट’को सम्बन्ध बन्दो रहेछ। यसलाई विश्वासको जगमा बसाल्नुपर्छ। विश्वासयुक्त सम्बन्ध कायम गर्नुपर्छ।
अहिले सुध्रिएको भन्न मिल्छ ?
एउटै हातले ताली त बज्दैन। ताली बजाउने हो भने दुवै हात अघि बढाउन जरुरी पर्छ। मेरो चाहना पार्टी बलियो होस् भन्ने मात्र हो। सरकार जनताप्रति उत्तरदायी होस्। जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्न सकोस् भन्ने मेरो चाहना हो। मेरो उद्देश्य पैसा कमाउने र पदका लागि कसैसँग सम्झौता गर्ने छैन। निजी स्वार्थका लागि मरिमेट्ने मेरो स्वार्थ छैन। मेरो उद्देश्य कम्युनिस्ट पार्टी लाकेप्रिय बनेको देख्न मन छ।
प्रचण्डसँगको सम्बन्ध ...
प्रचण्डसँगको सम्बन्ध पनि नीति आधारित हुन्छ। म भ्रष्टाचारको विरोधी हुँ। म यो ‘शो’ गर्ने प्रवृत्तिको विरोधी हुँ। म तामझामको विरोधी हुँ। म किफायतिबाट चल्नुपर्छ भन्ने मान्यताको पक्षपोषक हुँ। म विधिको आधारमा कार्यकर्ताको मूल्याकन गर्नुपर्छ, मापदण्डका आधारमा चल्नुपर्छ भन्ने पक्षपोषक हुँ। पार्टी, कमिटिलाई गतिशिलता दिनुपर्छ भन्ने पक्षमा छु। कमरेड प्रचण्डले पनि ठीक हो, अब त्यसरी जानुपर्छ भन्दै हुनुहुन्छ। केपी ओलीले पनि त्यही भन्दै हुनुहुन्छ। तर व्यवहारबाट देखियोस् भन्ने मेरो चाहना हो।
पछिल्ला दिनमा तपाईंको प्रचण्डसँग निकटता बढ्न थालेको हो ?
अवश्य पनि। कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो। उहाँसँग दूरी बढिसकेपछि स्वाभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो। मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो। कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो।