तराई झरेका गाउँ फर्कदै
सन्धिखर्क : दुई वर्षअघि शितगंगा नगरपालिका १० सिद्धारा हर्रेका माधवप्रसाद पौडेलले हर्रेमा रहेको जग्गा बिक्री गर्न खोजे। जग्गा किन्न मानिस खोजे तर बिक्री भएन।
अचेल जग्गा किन्ने मानिस दैनिक आउँछन्। हर्रे र बर्रे क्षेत्रमा जग्गा किन्न आउने ह्वात्तै बढेको पौडेलले बताए। रूपन्देही र कपिलवस्तुबाट व्यावसायिक योजनाका साथ हजारौं रोपनी जग्गा किन्न आउने बढेका छन्। पौडेलले भने, ‘अहिले जग्गा बेच्न स्थानीयले छाडे। जग्गा बिक्री गरेर तराई झरेका मानिस पनि गाउँ फर्कन सुरु गरेका छन्।’ अर्घाखाँचीको अति विकट अर्थात् जिल्लाकै कर्णाली भनेर चिनिने सिद्धारामा सडक पिच हुन थालेपछि जग्गाको मूल्य मात्र होइन, व्यावसायिकता पनि बढेको छ। स्थानीय अत्यन्तै हर्षित भएका छन्।
शितगंगा नगरपालिकाको केन्द्र ठाडामा आउने कच्ची बाटो रहे पनि वर्षात्को समयमा बाटो बन्द हँुदै आएको थियो। त्यही सडककै कारण स्थानीय धमाधम बसाइ सरेका थिए। दुई वर्ष पहिलासम्म १२, १५ हजार रोपनीमै जग्गा बेचेर हिँडेकाहरू अहिले पछुताएका छन्। ‘जसले जग्गा बिक्री गरेर गयो, अहिले सडक पिच हुन थालेपछि तिनै मानिस जग्गा खोज्दै आउने गरेका छन्’, शितगंगा नगरपालिका १० का वडाध्यक्ष हिम्मत पोख्रेलले बताए।
हिउँदमा चल्ने र वर्षामा नचल्ने सडकका कारण वर्षामासमा कोही बिरामी परे ४ घण्टा स्टेचर तथा डोकोमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लैजान स्थानीय बाध्य थिए। अहिले गोरुसिंगे सन्धिखर्क सडकको चाक्लादेखि सिद्धाराको हर्रेसम्मको सडक पिच हुन थालेपछि स्थानीय हर्षित हुन थालेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट चाक्ला सिद्धारा, पाकुरी, नयाँबस्ती, धान खोला सडक निर्माण हुन थालेको हो। लुम्बिनी अर्घाखाँची पुष्पा जेभीले २४ करोड ७४ लाखको लागतमा अहिले १० किलोमिटर पिचको काम गरिरहेको लुम्बिनी अर्घाखाँची पुष्पा जेभीका प्रमुख वसन्त भुसालले बताए।
बहुवर्षीय काम भएकाले यो योजना महेन्द्र राजमार्गको धानखोला पुगेपछि मात्र सम्पन्न हुनेछ। ‘पाँच घण्टा पैदल हिँडेर ठाडा पुग्थ्यौं, अहिले सडक बन्न सुरु गरेको छ। पिच भएपछि २०, २५ मिनेटमै ठाडा जान सकिने भयो’, हर्रेका ७३ वर्षीय बलबहादुर नेपालीले भने, ‘अब त वर्षामा पनि बिरामी गाडीमा लैजान सकिने भयो।’ स्थानीयले ४ घण्टा स्टेचर र डोकोमा बोकर बिरामी ठाडा लैजानु पर्ने बाध्यता हटेको उनले बताए। यो सडकले नेपालकै कृषि क्रान्तिमा जोड दिने देखिएको छ।
सडक पिच हुन थालेसँगै रूपन्देही र कपिलवस्तुबाट आएर यहाँ कृषि तथा पशु फर्महरू सञ्चालन गरेका छन्।विकट ठाउँ भएकै कारण यहाँका मानिस वर्षेनी बसाइ सराइ गर्दै आएका थिए। सिद्धारा १० बाट मात्रै वर्षेनी २५ देखि ३५ घरसम्म बसाइ सराइ गर्ने गरेका थिए। सडक पिच हुने भएपछि बसाइ सराइ रोकिने जनता आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम पोख्रेलको बुझाइ छ।