पूर्वडीएसपी खिउँजूविरुद्ध करणी मुद्दा
ललितपुर : पूर्वडीएसपी राजकुमार खिउँजूविरुद्ध करणी गरेको आरोपमा जाहेरी परेको छ। ललितपुरको महांकाल गाउँपालिकाकी २३ वर्षीया युवतीले खिउँजूविरुद्ध बुधबार किटानी जाहेरी दिएकी हुन्।
महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत रहेको बेला खिउँजूले उनलाई यौन शोषण गरेको दाबी युवतीको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले खिउँजूविरुद्ध मुद्धा दर्ता भएको जानकारी दिए।
राईले मुद्दा दर्ता भए लगतै उनको मेडिकल परीक्षण गरिसकिएको बताए। ‘मुद्दा दर्ता भएसँगै प्रक्रिया अगाडि बढाइसक्यौँ’, उनले भने, ‘कानुन बमोजिम चल्छौँ।’
६ महिना भन्दा पहिलाको घटना भएकाले एक पटक उक्त विषयको बारेमा राम्ररी अध्ययन गरेर उनलाई नियन्त्रणमा लिने जनाए। उनको खोजी गर्न सुरु गरिएको राईले बताए।
सोल्टी होटलको क्यासिनोमा कार्यरत युवतीले खिउँजूलाई चापागाउँ वृत्तमा भेटेको बताएकी छन्। प्रहरी रिपोर्ट बनाउन जाने सिलसिलामा उनले प्रलोभनमा पारेर यौन शोषण गरेको दाबी गरेकी छन्।