पुँजी बजार सुधार
नेपाल राष्ट्र बैंकले सेयर धितोमा कर्जा खुकुलो पार्ने संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिका लागि थप सेयर निष्कासन, हकप्रद सेयरमा लगानी जस्ता विकल्प दिएपछि सेयर बजारमा सेयरको आपूर्ति बढ्न गएको थियो। एकातर्फ सेयरको आपूर्ति बढ्ने र अर्कातर्फ बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जामा कडाइ, सेयर धितोलाई उच्च जोखिम मानेर धितो मूल्यांकन विधिमा परिवर्तन तथा अर्थमन्त्रीले सेयर बजारको विरुद्धमा दिएका अभिव्यक्तिपछि ओरालो लागेको सेयर बजार पुनः पुरानै लयमा फर्कन प्रयासरत छ।
२०७३ साउन १२ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च १८८१ विन्दुमा पुगेको थियो। २०७२ भदौदेखि २०७३ साउनसम्म एक वर्षको अन्तरालमा संसारका स्टक मार्केटमा बिरलै देखिने ‘कपल बुल’ समातेको नेप्से परिसूचक लगातार ओरालो लागेर अघिल्लो महिनादेखि भने केही सुधारका संकेत देखा परेका छन्। वास्तवमा पुँजी बजार भनेको अर्थतन्त्रको ऐना पनि हो। नेपालमा वास्तविक क्षेत्रका कम्पनीहरूको न्यून उपस्थिति र वित्तीय क्षेत्रका कम्पनीहरूको बाहुल्यका कारण नेप्से परिसूचकलाई हेरेर धारणा बनाउन नहुने तर्क पनि हुने गरेको छ। तर बाह्य लगानीकर्ता र आम मानिसले अर्थतन्त्रको अवस्था बुझ्न पुँजी बजारको अवस्था हेर्ने गर्छन्। त्यसकारण पनि अहिले अर्थमन्त्रीले पनि पुँजी बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन्।
खासगरी सेयर बजार घट्दो क्रममा हुँदा त्यसलाई स्थायित्व दिनुपर्ने साना मझौला लगानीकर्ता पनि आत्तिएर सेयर बिक्री गर्न थाल्छन्। सट्टेबाजहरूले बजार बढाउँदा बढेको बजार देखेर उत्साही भएर पस्ने, बजार ओरालो लाग्दा आत्तिएर सेयर बेच्न हतारिने खासगरी साना तथा मझौला लगानीकर्ता हुन्छन्, जसले सेयर बजार प्रवेश गरेर गुमाइरहेका हुन्छन्। सेयरको मूल्य लगातार घटिरहेका बेलामा बेचेर बाहिरिनु मूर्खतापूर्ण हुन्छ। अर्कातर्फ संस्थागत लगानीकर्ताका रूपमा सरकारका गैरबैंकिङ वित्तीय संस्थाहरू– कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलाई प्रवेश गराएर तिनीहरूलाई ‘मार्केट मेकर’ को भूमिका दिनुपर्छ। जसले गर्दा सट्टेबाजहरूले बजारलाई प्रभावित पारेर साना–मझौला लगानीकर्तालाई हतोत्साही नबनाऊन्।
अहिले बैंक तथा वित्तीय संस्थाबाट अन्य क्षेत्रमा ऋणको माग घटेको छ। यसका कारण बैंक तथा वित्तीय संस्थाहरूमा प्रचुर तरलता छ। उनीहरूले लगानीका विकल्पहरू खोजी गर्दैगर्दा सेयर बजारमा कर्जा प्रवाह बढ्ने ठाउँ औंल्याएका छन्। राष्ट्रबैंकले सेयर धितोको कर्जालाई कम जोखिमयुक्त मानेर धितो मूल्यांकन विधिमा परिवर्तन र सेयर धितोमा दिन पाउने कर्जाको परिणाम वृद्धि गरेको खण्डमा पुनः सेयर बजारमा पुँजी प्रवाह हुन्छ। कारोबार बढ्न थाल्छ, जसले सेयर बजारमा सुधार हुनेछ।
कतिपयले बजारको पुँजीकरण, धितोपत्रको बजारलाई जुवाको घर पनि भन्ने गर्छन्, जुन गलत बुझाइ हो। पुँजी बजारमार्फत पुँजी परिचालन हुन्छ। जुन मानव शरीरमा मुटुले रगत पम्प गरेजस्तै हो। मुटुले प्रतिदिन ६ हजारदेखि सात हजार पाँच सय लिटर रगत पम्प गर्छ। जबकि मानव शरीरमा ४.७ देखि ५.५ लिटर रगत हुन्छ। पुँजी बजारले पनि मुटुले रगत पम्प गरेजस्तै पुँजी परिचालन गरी अर्थतन्त्रलाई गतिशील बनाउँछ।
सेयर बजारलाई बढी सहभागितामूलक बनाउने, कारोबार राफसाफमा सरलीकरण गर्नेलगायतका सुधार गर्ने ठाउँहरू अझै धेरै छन्। पुँजी बजारमा जति ठूलो संख्यामा कारोबारीहरूको प्रवेश हुन्छ, बजारले त्यति स्थायित्व प्राप्त गर्दै जान्छ। यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले सघन गृहकार्य गर्न जरुरी छ।