चीनसँग सीमा जोडिएको लप्चीमा कोरोनाबारे निगरानी
दोलखा : चीनसँग सीमा जोडिएको दोलखाको लप्चीमा कोरोना भाइरसको संक्रमण रोक्न सतर्कता अपनाउन सुरू गरिएको छ । चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दोलखामा विभिन्न कार्य गरी सतर्कता अपनाउन सुरू गरिएको हो ।
चीनसँग सीमा जोडिएको विगु गाउँपालिका–१, लामाबगरको लप्ची गाउँमा कोरोना भाइरसबारे सचेतना कार्यक्रम आयोजना गर्न लागेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
लप्चीको माथिल्लो भू–भागमा हिउँ जमेर तत्काल आवतजावत नभए पनि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सतर्कता अपनाउनु अनिवार्य भएको सीमा प्रशासन कार्यालय लामाबगरका प्रमुख श्रीकृष्ण विडारीले जानकारी दिए। कोरोनाको महामारीले लामो समय रहन सक्ने र फागुनबाट तिब्बततर्फ आवतजावत हुने भएकोले अहिलेदेखि नै सर्तकता अपनाउन लागिएको उनले बताए ।
स्वास्थ्य प्रमुख झाका अनुसार हालसम्म सो क्षेत्रमा कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको जानकारी छैन । तत्काललाई कोरोना भाइरसबाट बच्ने उपाय, लक्षण र उपचारका विधिबारे जिल्लास्थित िसञ्चारमाध्यमबाट सूचनाहरु प्रशारणको काम भइरहेको झाले बताए । विगु गाउँपालिकाले सीमामा परिचालन गर्ने गरी प्रतिकार्य समिति समेत गठन गरेको प्रजिअ शर्माले जानकारी दिए।