मृत्युअघि आमालाई हात हल्लाएको नभेषको फोटो वर्षकै उत्कृष्ट (१९ तस्बिर)
काठमाडौं : आइएमई-ग्लोबल-आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन्।
हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई बैंक फोटो अफ द इयर घोषित भएको हो।
चित्रकारले आइएमई-ग्लोबल-आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान प्राप्त गरेका छन्।
यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे। त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा उचालेका छन।
सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे भने डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते। त्यसैगरी नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो।
सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए।
नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो। सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो।
डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो।
त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो र चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो। एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए।
निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटो छानेको छ। ‘आइएमई-ग्वोबल-आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोको प्रदर्शनीे काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको प्रतियोगितामा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरको ‘सेलपे डेली लाइफ’ मा १ हजार २ सय ६७, सिटी ‘एक्सप्रेस कल्चर एन्ड टुरिजम’ मा १ हजार ४ सय ३३, ‘नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार ९८, ‘अर्घाखाँची सिमेन्ट न्युज फोटो’ मा ५ सय २, ‘डिसहोम स्पोर्ट्स’ मा ५ सय ७५, ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ मा ९ सय १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ४४ वटा फोटोकथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए।
विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफि, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका छन्।
आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले फोटो पत्रकार क्लबसँग निरन्तर सहकार्य गर्ने अवसर पाएकोमा पिजे क्लबलाई धन्यवाद दिए। नले यस्ता कार्यक्रमले भिजिट नेपाल इयर २०२० लाई समेत सफल पार्न सघाउने अपेक्षा व्यक्त गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले देशभरिबाट समावेश फोटोमध्येबाट उत्कृष्ट छानेर पुरस्कृत गरेकोमा क्लबसहित आयोजनामा खट्नुभएका सबैलाई धन्यवाद दिए।
मन्त्री भट्टराईले यस वर्ष सरकारले भिजिट नेपाल २०२० पर्यटन वर्षका रुपमा मनाइरहेको उल्लेख गर्दै नेपाल पर्यटनका लागि सुरक्षित रहेकाले नेपाल घुम्न हिच्किचाउन नपर्ने बताए।
उनले यो प्रतियोगिताले पर्यटन प्रवद्र्धनमासमेत सघाउने विश्वास व्यक्त गरे। निर्णायक मण्डलका सदस्य शेखर खरेलले प्रतिस्पर्धामा सहभागी सबै फोटो राम्रा रहेको तर पुरस्कृत भने केही मात्र हुने भएकाले ६ हजारजति फोटाबाट उत्कृष्ट छान्न कठिन भएको बताए।
उनले यस्ता प्रतियोगिता व्यावसायिक र गैरव्यावसायिक फोटोग्राफर सबैका लागि आफ्नो क्षमता प्रस्तुत गर्ने गतिलो मञ्च भएको उल्लेख गरे।
शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ५ वर्षयता फोटोपत्रकार क्लबसँग सहकार्य गरिरहेको उल्लेख गरे। उनले शिखरले फोटो पत्रकारको स्वास्थ्य बिमाका साथै क्यामेरालगायत उपकरणको बिमा शिखर इन्स्योरेन्सले गरिरहेको बताए।
क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए। उनले प्रतियोगिताको दौरानमा केही त्रुटी भएपनि यस्ता त्रुटीलाई आगामी दिनमा सच्याउँदै झन् उत्कृष्ट प्रतियोगिता गर्ने बताए।
‘सातौं संस्करणसम्म आउँदा भएको सहभागीताले हामीलाई हौस्याएको छ’, कार्कीले भने, ‘यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ।’