फैलियो भाइरसको त्रास
काठमाडौं : आँखाले देख्न नसकिने सूक्ष्म विषाणु भाइरसको संक्रमणले विश्वभर त्रास बढेको छ। पछिल्लो समय नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि भाइरसको संक्रमणले हुने रोगलाई १० घातक सूचीकृत रोगअन्तर्गत राखेको छ। संक्रमणको महामारी निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। भाइरसको संक्रमणले हरेक वर्ष कुनै न कुनै त्रास बढाउने गर्छ।
नयाँ भाइरसका रूपमा उत्पत्ति भएको नोबेल कोरोना भाइरसको संक्रमण बढेपछि डब्लुएचओले जनवरी ३० लाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो। कोरोना भाइरसको संक्रमणबाट चीन, फिलिपिन्स र हङकङमा गरी ६ सय ३६ जनाको ज्यान गएको छ। ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको जनाइएको छ।
सबै भाइरस जोखिम हुँदैननभाइरस अति सूक्ष्म संक्रामक हुन्छन्। त्यसैले यसलाई नांगो आँखाले देख्न सकिँदैन। विशेष किसिमको सूक्ष्मदर्शक यन्त्रको सहायताले भाइरस देख्न सकिन्छ। मानिसबाहेक पशुपक्षी र वनस्पतिलाई पनि भाइरसको संक्रमण हुने गर्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट, संयोजक डा. शेरबहादुर पुनका अनुसार पशुपक्षी तथा बाहिरी वातावरणमा हुने भाइरस नै विभिन्न माध्यमबाट शरीरमा प्रवेश गर्छन्। र, रोग लाग्छ। ‘अनगिन्ती भाइरस हुने भए पनि सबैले मानिसलाई हानि गर्दैन’, डा. पुनले भने।
भाइरस सीमापारि, त्रास वारि
सीमापारि कोरोनालगायत भाइरसको संक्रमण हुँदा सीमावारि त्रासको वातावरण सिर्जना हुने गरेको डा. पुनको भनाइ छ। अफ्रिकी मुलुक उद्गमस्थल मानिएको इबोला, जीकाजस्ता भाइरस केही समयको अन्तरालमा देखिने गर्छन्। चीनमा अप्रत्यासित रूपमा देखा परेको कोरोना भाइरस नेपालमा पनि उत्तिकै जोखिमपूर्ण रहेको डा. पुन बताउँछन्। उनी भन्छन्, ‘रोग सर्न मानिसको आवतजावत नै मुख्य मानिन्छ।’
भाइरसले आक्रमण गरेपछि मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई निष्क्रिय पारिदिन्छ। विशेषगरी दीर्घ बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी जोखिममा पर्छन्। तर, स्वस्थ व्यक्तिलाई भाइरसबाट हुने जटिलताको सम्भावना न्यून हुन्छ। भाइरसको संक्रमण हुनेबित्तिकै ज्यान जाँदैन। समयमै उपचार पाए संक्रमित पूर्णरूपमा स्वस्थ हुने गर्छ। नोबेल कोरोना भाइरसबाट पनि मृत्यु हुनेमा ८० प्रतिशतभन्दा बढी ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक छन्। यी ज्येष्ठ नागरिकमा कुनै न कुनै मुटु वा मधुमेहजस्ता दीर्घ रोग थिए।