आमाको गाउँ
गाउँबाट गोठै बोकेर
सहर झरेपछि मेरा बा
आमाको सासमा झुन्डिएर
उही सहर झर्यो
आमाको सुस्केराको गीत पनि
तर झरेन
सुनाउँदा सुनाउँदैको
उनको गृहस्थीको अधकल्चो कथा
गाउँमै छुट्यो
सपनाको ‘अपूरो’ कविता
जसलाई पूरा गर्न
हामी कोही पनि फेरि गाउँ फर्केनौं।
झरी रोकिइसक्दा पनि
खरको छानोबाट
तप्प तप्प झरिरहने
बलेसीको थोपाजस्तै
कसैले नटिपे पनि फाट्टफुट्ट झरिरहने
पारिजातका थुंगाजस्तै
झरिरहन्थे गाउँका खबर सहरतिर
खबरले भन्थ्यो—
अझै छ रे पिँढीमुनिको मट्केल्नो
मरेको छैन रे—
आमाले जुठेल्नामा रोपेको
गोलभेडाको झ्याङ
हरियै छ रे—
तुलसीको मठ छेउमा रोपेको
पतिनाको झ्याङ पनि
तर,
घर छोडेकै राति
उप्काएर लगेका हुन् रे
ढिकी र जाँतो
दाउराको हार त झन् रित्याएका हुन् रे उति बेलै
खै कुन्नि कसले लगेछ
चिल्लो सिलौटो र
मैले सानी छँदा दही मथ्ने गरेको
मदानी र ठेकी पनि
तुलसीको मठमा गाडेको
ठूलो तामे दियो छैन सुनेपछि
घरको सह नै रित्तिएझैं
रोइन् आमा
छोडेपछि घर
आमाका सपनासँगै
धेरै थोक छुटेजस्तै
छुट्दो रहेछ आमाको मन पनि
जब जब खबर झर्थे गाउँबाट
तब तब बेस्सरी खस्थिन् आमा
आफ्नै आँखाबाट
‘छोडेको घरको के माया ?
सम्झनामा दुख्नुको के अर्थ ?
छुटिसकेको समय
फेरि फर्किन्छ र आमा ? ’
‘तँ बुझ्दिनस् नानी !
हज्जारौं सपना मुछेर बनाएको मझेरी हो त्यो’
सम्झाएर कहाँ सम्झिन्थिन् र आमा !
एक दिन—
उज्यालो खबर सहर झर्यो
‘गाउँ ‘इन्द्रेणी’जस्तै रंगीन भएको छ रे
परिवार नबसेको घरमा
परिवारहरू बसेका छन् रे
कसैको आँखा नबस्ने
हाम्रो त्यै बूढो घरमा
सबै तन्नेरीको ‘मन बसेको’ छ रे
हाम्रो घर ‘होम–स्टे’ भएको छ रे’
जति जति उकालो चढ्दै जान्छ उमेर
त्यति नै ‘गाउँ’ मात्र सम्झिँदो रहेछ जिन्दगी
अहिले
सिंगै जून आएर
थपक्क बसेको छ आमाको अनुहारमा।