कमरेड लामालाई

कमरेड लामालाई

हामी नेपालीहरू खाना पचाउन नसकौंला तर यस्ता काण्डहरू सहजै पचाउन सक्ने जाति। यसलाई पनि पचाइए।


निर्मल लामा २०२८ सालमा कारागार मुक्त हुँदा उनलाई तत्कालीन सरकारको तर्फबाट ट्याक्सी र ट्रक प्रदान गरिने प्रस्ताव आएको थियो। आत्मसम्मान खरिद गर्ने र विचलनतिर धकेल्न चालिएको यस्तो कदम उनले ठाडै अस्वीकार गरे। राजनीति पीडितहरूलाई जनही ५० हजार रुपैयाँलगायत मधेसमा तीन÷तीन बिघा जग्गा वितरण गरिएको हो— उनले अस्वीकार गरे।

उनी भन्थे, ‘मैले पैसाको निम्ति राजनीति गरेको होइन।’

त्यस्ता व्यक्तित्व जसलाई मन्त्री पद होइन, जनताको माझ प्यारो लाग्थ्यो। नकारेका हुन्, मन्त्री पदसमेत।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजनीति पीडित कोषबाट सहयोग प्राप्त गर्नु उनको अधिकार हो भन्दै आफ्नो सद्भावना यसरी व्यक्त गरेका थिए, ‘सहयोग लिनुहोस् लामाजी, तपाईंको नाम पनि राजनीति पीडितहरूको सूचीमा समावेश हुनेछ।’

‘सहयोग नलिनेहरूको नामको पनि सूची तयार गर्नुहोला, प्रधानमन्त्रीज्यू’, भन्ने ठाडो उत्तर दिएका थिए।

कमरेड लामा त्यस्ता व्यक्तित्व थिए, जो गाउँगाउँ पस्दा चुनीचुनी दलितका घरमा बस्थे। गरिबीको पराकाष्ठा नाघेका घरपरिवारमा बास बस्थे। कतिपय परिवारमा आधा पेट अथवा भोकै बसी, उनीहरूले भोगेका दु:खसुख आत्मसात् गरी सच्चा कम्युनिष्ट बन्ने आधार तयार गर्थे। यस्तो थियो, उनको वर्गीय प्रेम। वर्गीय पक्षधरता।

निर्मल त्यस्ता निर्मल व्यक्तित्व— पैसाको अभावमा नदी पार गरी अर्को गाउँ पुग्नैपर्ने बाध्यता हुँदा, साथीलाई नौका चढाएर आपूm उर्लंदो पानीको भेलमा हामफालेर नदी पार गर्थे।

कारागारबाट भाग्ने विफल प्रयासमा सहयोगी कैदी दुई पहलमान मधेसीको नाम पटक्कै नखोली आपूm एक्लैले गोलघरको सजाय भोगेका थिए।

भ्रष्टाचारविरोधी कमरेड लामाले नख्खु कारागारमा सरकारबाट सर्दीयाममा वितरण गरिने सिरक डसनामा घोटाला हुँदा जेलरको दुईवटा दाँत भाँच्न पछि परेनन्। बन्दीहरूको मनोबल उच्च राख्न फूल तथा तरकारी खेती तथा कुखुरापालनको व्यवस्था मिलाउने जस्ता कार्य गरी समयको सदुपयोग गर्थे।

समयको सदुपयोग मात्र होइन, साथी बन्दीहरूका खानाका परिकारमा समेत सुधार ल्याउने गर्थे। नख्खु कारागार वरिपरिका जग्गामा पत्थर कोइलाको अस्तित्व पत्ता लगाउने अभियन्ता पनि उनी नै हुन्। अञ्जान बन्दीहरूको अविश्वासलाई विश्वासमा पुष्टि गर्न सानो जमघटको चाँजो मिलाई पत्थर कोइला सल्काउने व्यावहारिक विधि प्रदर्शन गरी इन्धनको मितव्ययिताको पाठ सिकाएका थिए। सदर कारागारमा नाइकेकै संलग्नतामा जुवा तासको माहोलको विरोध गर्दा ज्यानसमेत संकटमा परेको सत्य हो। ज्यानको परवाह नराखी एक एक जनासँग व्यक्तिगत तरिकाले भिड्ने चुनौती दिँदा सो कुकार्य रोकिएको थियो।

भूमिगत महासचिव लामाको कार्यकालमा गोरखपुर मुसलमान बाहुल्य मजदुर बस्तीको दुईकोठे बासस्थानमा, रातभरको प्रशिक्षण र भोलिपल्ट बिहान झिसमिसेमै कार्यकर्ताको जम्बो टोली, कमरेड चित्रबहादुर केसीको नेतृत्वमा उखु काट्ने मजदुरका रूपमा भारतको कुनै बस्तीमा उखु काट्न प्रस्थान गरेको थियो। वर्गको हितको निम्ति संघर्ष गर्ने आधार तयार गर्ने अठोटको ज्वलन्त उदाहरण यस पंक्तिकारको आँखामा झलझली छ।

संविधान सभाको सदस्य रहँदा, सदस्यहरूका निम्ति तयार मिष्ठान्न भोजन होइन, डिल्लीबजार अवस्थित ममचा पसलको ममचा नै मीठो लाग्थ्यो।

निर्मल लामा त्यही व्यक्तित्व हुन्, जसको अन्तिम सम्बोधनमा ‘राजनीतिक भ्रष्टाचार’को प्रतिकार गर्ने सन्देश थियो जुन मृत्युवरण गर्नु केही दिनअघि उनको सम्मानमा व्यवस्था गरिएको नागरिक अभिनन्दनमा व्यक्त गरिएको थियो।

दिवंगत हुनुअघि मलाई सुम्पेको दायित्वमा केही प्रकाश पार्न सान्दर्भिक ठान्छु। उनको आत्मकथा उनताकाको पत्रिका ‘मूल्यांकन’ मासिकमा कार्यरत सम्पादक तुलसी महर्जनले क्यासेटमा लामाकै आवाजमा रेकर्ड गरी सम्पादनसमेत गरेका थिए।

मलाई निर्मलको उर्दी थियो, ‘सम्पादित आत्मकथा मूल्यांकनले प्रकाशित गर्नेछ, कथंकदाचित् सम्भव नभए तिमीले प्रकाशित गर्नू, र त्यसबाट प्राप्त हुने रोयल्टीमा पार्टीको कोषको अधिकार हुनेछ।’

आफ्नै पारिवारिक व्यस्ततालगायत पारिजात दिदीले नेतृत्व गरिराखेका संस्थाहरु समेतको जिम्मेवारी काँधमा आइपर्दा म हराएँ। परिणामस्वरूप कमरेड लामाले अह्राएका दायित्वको ख्याल नै भएन। ‘मूल्यांकन’बाट पनि केही चासो व्यक्त गरिएन।

अनुगृहीत छु, दाइ नरेन्द्र लामाप्रति जसले यस दायित्वको सम्झना दिलाउनुभयो। नरेन्द्र दाइ, लामाजीका सहोदर जेठा दाइ– ओझेलमा परेका एक प्रजातन्त्र सेनानी। उनलाई परिवारकै धरोहरका स्वरूप ठान्नुमा किञ्चित पनि अत्युक्ति हुँदैन। उनको विशाल छातीमा पलापिएर उनकै नदेखिने तर अनुभव हुने माया र सहयोगमा कमरेड लामालाई आफ्नो सिद्घन्तप्रति अडिग रहन अतिरिक्त ऊर्जा मिलेको हो। त्यस विस्तृत परिवारका एक एक सदस्यहरूले स्वतन्त्र र समर्थ भई पंख फिजाएर उड्ने अवसर प्राप्त गरेका हुन्। आफ्नो प्राणभन्दा प्यारो भाइको आत्मकथा आफ्नै जीवनकालमा प्रकाशित नहोला कि भन्ने छटपटीले उहाँलाई निश्चय नै सीमातीत दु:खी तुल्यायो होला भन्ने तथ्य म महसुस गर्छु।

दाइको झकझक्याइले मलाई ब्यूँझायो र त्यस झन्डै झन्डै विस्मृतिमा पुरिन लागेको आत्मकथाको प्रकाशनतर्फ आपूmलाई मोडेँ।

९० हजार रुपैयाँको लागतमा पुस्तक तयार भयो। अभावका बीच खर्च सम्पूर्ण मैले बेहोरेँ। नरेन्द्र दाइको करकमलबाट उनकै भाइको पुस्तक सार्वजनिक गरी उनको योगदानको कदर गर्ने मेरो उत्कट इच्छा थियो। नरेन्द्र दाइ तथा पार्टी संस्थापक कमरेड नरबहादुर दाइद्वयका करकमलबाट उक्त पुस्तक ‘सर्वहारा राजनीति’ सार्वजनिक गरियो।

हाम्रो हर्षको सीमा रहेन। यस्तै २०÷२५ प्रति मैले प्राप्त गरेँ जुन साथीभाइलाई वितरण गरियो। त्यसपश्चात् मूल्यांकनका पदाधिकारीहरू छिन्नभिन्न भए। पत्रिका बन्द भयो। सम्झौतामा कोरिएका बँुदाहरूको पालनाको त कुरै भएन। पुस्तक कति प्रकाशित भए, कति रकम उठे, पार्टीले रोयल्टी प्राप्त गर्‍यो÷गरेन इत्यादि प्रश्नको केही निक्र्योल भएन।

सबै शून्य, मानौं केही भएकै छैन। हामी नेपाली खाना पचाउन नसकौंला तर यस्ता काण्ड सहजै पचाउन सक्ने जाति। यसलाई पनि पचाइए। साथीहरुले।

आज देशको राजनीतिक वातावरण भ्रष्टाचार र कुर्सीको खेलले गन्हाएको छ। एउटै लक्ष्य तर बाटो अलग अलग, भाइभाइमा रस्साकस्सी, कस्तो विडम्बना ?   पहाडी भेकका गाउँहरूमा, मधेसका समतलमा उभिएका छाप्राहरूमा कमरेड लामालाई माया गर्ने जनता निरासिएका छन्। लामालाई माया गर्ने अथवा उनलाई आदर्श ठान्ने जनसाधारणलाई माइनस गर्दै लैजानु कुन न्याय हो ?   प्रश्न छ कमरेडहरू, कुन वर्गको धरातलमा उभिएर कस्तो समृद्घिको कल्पना गर्दै हुनुहुन्छ ?     

व्यवहारमा सरलता, सम्पूर्ण सर्वहारा वर्गबाट उठेका, आफ्नो वर्गकै पहिचान बोकेका र आफ्नो वर्गकै हितको निम्ति मरिमेट्ने व्यक्तिको नाम हो, कमरेड निर्मल लामा। कमरेड लामा यस्ता व्यक्तित्व हुन् जसले आफ्नो स्वार्थको निम्ति कहिल्यै फाइदा उठाउन चाहेनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.