फुटवेयरलाई जग्गाको समस्या
काठमाडौं : फुटवेयर जोन बनाउन जग्गा प्राप्तिमा समस्या भएको छ। स्थानीयले जग्गा बिक्रीमा अर्घेल्याई गरेपछि दक्षिणकालीमा बन्न लागेको फुटवेयर जोन अलपत्र छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनको सहकार्यमा दक्षिणकाली क्षेत्रमा ६ सय रोपनीभन्दा बढी जग्गामा फुटवेयर जोन बनाउने योजना थियो। हालसम्म साढे तीन सय रोपनी जग्गा मात्रै उद्योगीले पाउन सकेका छन्। आधाभन्दा बढी जग्गा नपाउँदा फुटवेयर जोन बनाउन समस्या भइरहेको छ।
सरकार र निजी क्षेत्रको साझेदारीमा ५१ करोड लगानीमा दक्षिणकालीमा ‘दक्षिणकाली फुटवेयर जोन’ स्थापना प्रक्रिया अघि बढे पनि जग्गा प्राप्तिमा किचलो भएको छ। उक्त जोनमा एक सय ७० वटा उद्योग स्थापना गर्ने तयारी छ। दक्षिणकाली फुटवेयर जोनका अध्यक्ष रबिन श्रेष्ठका अनुसार साढे तीन सय रोपनी जग्गामा ६५ वटा उद्योग चलाउन सकिन्छ। ‘थप जग्गा पाउन समस्या भयो’, उनले भने, ‘प्राप्त भइसकेको जग्गामा छिट्टै पूर्वाधार निर्माण प्रक्रिया सुरु गर्छौं’, उनले भने।
‘सुरुमा एउटा दर हुन्छ, तुरुन्तै अस्वभाविक दरले बार्गेनिङ गर्ने गरेकाले जग्गा प्राप्तिमा समस्या भएको हो’, उनले भने। स्थानीय तथा जग्गा ‘दलाली’ ले मौकाको फाइदा उठाउन जग्गा बिक्रीमा समस्या ल्याएको उद्योगीको गुनासो छ। जग्गा धनी नभेटिने, कुनै जग्गामा अंशबन्डाको विवाद, कुनै जग्गामा अत्यधिक मूल्य राख्ने गरेकाले उद्योगीले जग्गा पाउन नसकेका हुन्। जग्गा दलालीले औद्योगिक क्षेत्रको जग्गामा मनोमानी गरेका कारण पनि उद्योगीलाई जग्गा पाउन समस्या भएको हो।
जग्गा प्राप्तिका लागि दक्षिणकाली नगरपालिकाले समन्वय गर्न सकेको छैन। ‘हामीले जग्गा लिन थालेपछि स्थानीयले आफ्नो जग्गाको मूल्य आफैं तोक्न थाले’, उनले भने, ‘हाम्रो नियन्त्रणभन्दा बाहिर गएपछि जग्गा खरिद गर्न समस्या भइरहेको छ।’ प्राप्त भइसकेको जग्गामा पूर्वाधार निर्माण सुरु गर्ने र थप आउने उद्योगीले जग्गा खोजेर विस्तार गर्ने योजना बनेको उद्योगीले बताए।
दक्षिणकाली नगरपालिकाले सो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरे पनि स्थानीयले जग्गा बिक्री गर्न आनाकानी गरेपछि जोन निर्माणमा समस्या भएको छ। नगरपालिकाले उक्त क्षेत्रमा स्थानीयलाई कि आफैं उद्योग खोल् या जग्गा बिक्री गर् भनि निर्देशन जारी गरेको छ।
श्रेष्ठका अनुसार यो आर्थिक वर्षमा बाटो बनाउने, जग्गाको लेबल मिलाउने, भित्री बाटो बनाउने काम हुन्छ। ‘टेन्डरको काम सुरु गर्ने अन्तिम तयारीमा छौं’, उनले भने।
सबै जग्गा लिइसकेपछि पूर्वाधार बनाउन सुरु गर्दा समय लाग्ने भएकाले स्वामित्वमा आइसकेको जग्गामा पूर्वाधारको काम सुरु गर्ने प्रक्रिया अघि बढेको हो। ३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा सञ्चालन हुनेछन्। नयाँ उद्योग पनि सोही क्षेत्रमा सञ्चालनमा आउनेछन्।
स्वदेशी उत्पादनले बजारको ६५ प्रतिशत माग धानेको छ। ३५ प्रतिशत अझै आयात भइरहेको छ। अधिकांश उद्योगले कच्चा पदार्थ विदेशबाटै आयात गर्छन्। सामान्यतया एक जोर जुत्तामा ५० देखि ५५ प्रकारका कच्चा पदार्थ प्रयोग हुन्छ। अहिले ७५ प्रतिशतदेखि ९० प्रतिशतसम्म कच्चा पदार्थ बाहिरबाट आयात भइरहेको छ। कच्चा पदार्थ उत्पादन तथा प्रशोधन गरी आयात घटाउन सके छिट्टै आत्मनिर्भर हुन सकिने उद्योगी नवराज गौतमले बताए। कच्चा पदार्थको उद्योग स्थापना हुन सके थप ५० हजार रोजगारी सिर्जना हुने फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको दाबी छ।
एसोसिएसनका अनुसार १५ सय जुत्ता उद्योगमा ३० अर्ब लगानी भएको छ। दक्षिणकाली जोनले स्वदेशी उत्पादनमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सघाउने उद्योगीले बताउँदै आएका छन्। जोनमा ४० प्रतिशत पुराना, ३० प्रतिशत नयाँ, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने योजना छ। लामो समयदेखि फुटवेयर जोनको अवधारणा ल्याए पनि जग्गा प्राप्तिकै समस्याले प्रक्रिया अघि बढ्न सकेको थिएन।
फुटवेयर जोनका लागि सरकारले पाँच करोड बजेट विनियोजन गरेको थियो। उक्त रकम खर्च गर्न केही दिनभित्र टेन्डर आह्वान गरेर पूर्वाधार निर्माण सुरु हुनेछ।
उद्योगको वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता भए पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। जोनमा उद्योग सञ्चालनमा आए पूर्ण क्षमतामा सञ्चालन गर्न सजिलो हुने उद्योगीको भनाइ छ। सञ्चालनमा आएका उद्योगले दैनिक दुई सयदेखि २५ हजार जोरसम्म जुत्ता, चप्पल उत्पादन गर्छन्। नेपालमा प्रतिव्यक्ति वार्षिक २.६६ जोर जुत्ता चप्पल खपत हुन्छ। जनसंख्याको आधारमा ८ देखि १० करोड जोडी जुत्ताचप्पलको माग छ। छालाजन्य ज्याकेट, बेल्ट, पर्स, जेन्स तथा लेडिज ब्याग, किरिङ, कि ब्यागलगायत माग बढे पनि स्वदेशमा उत्पादन हुन नसक्दा अर्बौं रकम बाहिरिएको छ।
एसोसिएसनका महासचिव गौतमका अनुसार फुटवेयर जोन सञ्चालनमा आउन सके जुत्तामा आत्मनिर्भर हुन सकिने बताए। जुत्ता उद्योगले अहिले ५० हजार जनालाई रोजगारी दिएको छ। जोनले थप १० हजार रोजगारी सिर्जना गर्ने उद्योगीको भनाइ छ।
२० वर्षअघि सरकारी स्वामित्वमा सञ्चालित बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएपश्चात जुत्ता उद्योग फस्टाउने क्रम सुरु भएको हो। पछिल्लो समय जुत्ता उद्योग क्षेत्रमा आकर्षण बढ्दो क्रममा रहेको उद्योगी बताउँछन्। जोनले जुत्ता क्षेत्रमा लगानी बढ्ने र आत्मनिर्भर हुने उद्योगीको विश्वास छ।