न समृद्धि, न उत्कृष्टता, केही पनि हुँदैन

न समृद्धि, न उत्कृष्टता, केही पनि हुँदैन

समाजशास्त्री प्रा.डा. चैतन्य मिश्रले नेपाली समाजलाई इतिहास, राजनीति र अर्थको केन्द्रमा चिरफार गर्न थालेको धेरै भयो। यसै वर्ष ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक लिएर आएका मिश्रका ‘बदलिँदो नेपाली समाज’, ‘एसेज् अन द सोसियोलोजी अफ नेपाल’ अनि ‘पुँजीवाद र नेपाल’ पुस्तक प्रकाशित छन्।

वर्तमान सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानको नेतृत्वबाट सात महिनामै स्वैच्छिक छुटकारा लिएका मिश्र आफूलाई ‘व्यवस्थापनमा शून्य मानिस’ भन्छन्। आफूलाई शून्य मानिस भने पनि संवादमा मिश्र आफ्नो सातमहिने अनुभूतिबारे ‘कर्मचारीतन्त्र र नियम–कानुनको तगारो पन्छाउन राजनीतिक नेतृत्व नलाग्ने हो भने न समृद्धि, न उत्कृष्टता’ भन्दै खरो रूपमा प्रस्तुत भएका छन्। मिश्रको पठन अनुभवको केन्द्रमा चन्द्रशेखर अधिकारीले उनीसित गरेको संवाद–सार :

नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई)बाट राजीनामा दिनुभएपछि यहाँको दैनिकी कस्तो चलिरहेको छ ?

म आफ्नो दैनिक भार कम गर्ने प्रयत्नमा छु। अब पहिलेको जस्तो धेरै सक्रिय हुन म चाहन्नँ। अल्छी गर्न पाउनुपर्छ भन्ने शैलीमा रम्न खोज्दै छु। धेरै सक्रिय भइयो, अब बिस्तारै भार कम गर्दै, कम सार्वजनिक हुनुपर्छ भन्ने प्रयत्नमा छु।

तर, विश्वविद्यालयतिर त गइरहनुभएको छ, हैन र ?

सेवानिवृत्त भए पनि कीर्तिपुर (टीयू)मा पढाउँदै छु। हप्तामा तीन/चार घण्टा पीएचडी र एमफिलका विद्यार्थीलाई पढाउन जान्छु। कहिलेकाहीँ जाँगर चल्दा लेख लेख्छु। म प्राज्ञिक लेख लेख्न मन गर्छु र पढ्न पनि यस्तै।

सार्वजनिक कार्यक्रमतिरको सक्रियता पनि घटेकै छ है सर ?

हो, केही कार्यक्रममा बोलाइएको हुन्छ। त्यसका लागि नोट बनाउँछु। अहिले पनि एउटा मिडिया हाउसको कार्यक्रममा सहभागी हुन नोट बनाउँदै छु। यसो देश–विदेश घुम्ने–गफ गर्ने काम भइरहेकै छ।

अनि कुनै नयाँ पुस्तकको तयारी ?

पुराना लेखहरूको सँगालो बनाएर छाप्ने क्रम जारी छ। केही समयअघि एउटा पुस्तक बाहिर ल्याएँ। अर्को पुस्तक तयारीमा छु।

सेवानिवृत्त तर लेखपढमा झनै प्रवृत्त है सर ?

म दुई वर्षसम्म त चाहेर पनि पूर्ण रूपमा सेवानिवृत्त हुन सक्दिनँ। मैले लेखेका लेखहरूको संकलन गर्दा दुई पुस्तक बन्ने रहेछन। त्यसको पुनर्लेखन र संकलन पनि गरिरहेको छु। नेपाली र अंग्रेजी लेख संकलन गरेर त्यसलाई व्यवस्थित गर्दैैछु। पत्रपत्रिकामा आएका लेख केही परिमार्जन गरेर साइटेसनसहितको मेरो पुस्तक पुन: आउनेछ। पत्रिकामा मात्र छापेर छोडिदिँदा त्यो बिहान पढ्यो, सक्किगयो भने जस्तो हुने रहेछ। तर पुस्तक बनाएर राखिदिँदा आउने पुस्ताका लागि समेत हुने र साइटेसनमा पनि काम लाग्ने हुनाले त्यसमा जोड दिएको हुँ।

तपाईंको अहिलेको दैनिकी के हो ?

म बिहान चाँडै उठ्ने व्यक्तिमध्येमै पर्छु। उठेर चिया बनाएर श्रीमती र म सँगै बसेर पिउँछौं। त्यसपछि सधैंजसो एक घण्टा ‘मर्निङ वाक’मा निस्कन्छौँ। अनि म दैनिक कार्यमा लाग्छु। बाहिर जानुपर्ने भए निस्कने, घरमा बस्ने भए पनि कार्यालयमा झैं काम गरेर बस्ने बानी छ। म घरमा पनि ९–४ नै काम गर्छु। म समयमा सुत्छु। प्राय: १बजे सुत्छु र बिहान ५ बजे उठिसक्छु। जाडो, गर्मी, बर्खा भन्ने चलन मेरो छैन। सधैं उही समय हो मेरा लागि। कहिलेकाहीँ त्यस्तै परे म बिहान चाँडै उठ्छु। तर, राति अबेरसम्म बसेर कहिल्यै पढेको छैन।

यहाँको तन्दुरुस्ती र सक्रियताको राज व्यवस्थित जीवनशैली पनि त रहेछ...

(आफूलाई नियाल्दै, मुस्कुराउँदै, हाँस्दै) मेरो स्वास्थ्य राम्रै छ। म छरितै छु जस्तो लाग्छ। उमेरले होला, सामान्य औषधि खाएको छु। तर शरीरमा मुख्य समस्या छैन। कोलेस्ट्रोल र प्रेसरको सामान्य औषधि एक दशकदेखि खाइरहेको छु। समय समयमा परीक्षण गर्छु। अनुशासित भएर होला, समस्या छैन। मानिस स्वास्थ्यसँग पनि अनुशासित हुनुपर्छ। आफूप्रति अनुशासित र सक्रिय जीवन जिउने व्यक्तिलाई जथाभावी स्वास्थ्य समस्या आउँदैन भन्ने मेरो बुझाइ छ।

तपाईंको अहिलेको पठन मेन्यु के हो ?

म खासगरी प्राज्ञिक जर्नल पढ्छु। ‘जे–स्टोर लाइब्रेरी’मा पस्छु र त्यहाँका बौद्धिक जर्नल पढ्छु। कम्प्युटरमै बसेर जर्नल आर्टिकल पढ्ने मेरो लत नै बसिसक्यो। सुतेर घाममा पल्टेर पुस्तक पढ्ने बानी नै लागेन। म जर्नल लेख निकै डुबेर पढ्छु। त्यहाँ विद्वान्हरूका कुरा पढ्दै जाँदा मेरो त मथिंगल नै हल्लिन्छ। रौं नै ठाडा भएर आउँछन्। नसोचेको विषय त्यहाँ आएको हुन्छ। यस्ता हल्लाउने लेख पढ्दा बिहान एक्सरसाइज गरेको भन्दा पनि मस्तिष्क बढी स्वच्छ र दरिलो बनेको पाउँछु।

आफूले सोचेको विषय विद्वान्ले प्रमाणित गरिदिएको पढ्दा म त उठेर कोठामै एक चक्कर लाइदिन्छु। कतिपय विषय त सोच्नै नसकिने पनि हुन्छ। यस्ता विषयमा घोत्लिँदा घोत्लिँदै मलाई कहिलेकाहीँ त एउटै लेख पढ्नै चार–पाँच दिन लगिहाल्छ। किनभने, त्यो किन भयो, के भयो भन्ने सोच्न थाल्छु। लेख्न थाल्छु। पहिला कतै प्रयोग भएको छ भने खोज्न थाल्छु। कतिपय कुरा त सोच्दा सोच्दै नसोचेको विषय आउँछ। अनि निकै छुन्छ। यसरी पुस्तक पल्टाउने र खोज्ने पनि होइन्छ।

पुस्तकभन्दा प्राज्ञिक लेख पढ्नुपर्छ भन्ने यहाँको धारणा हो ?

पक्कै पनि। कतिपय चर्चित पुस्तकमा बिक्रीको उद्देश्य पनि राखिएको भेटिन्छ। प्राज्ञिक लेखमा समाधान दिइएको हुन्छ। प्रकृति र समाज जोड्ने गरेका हुन्छन्। मानिसको मस्तिष्क र शरीर कसरी भाँडिन्छ र जोडिन्छ भनेझैं त्यहाँ देखिन्छ। जीउ भाँडिएपछि के हुन्छ ? मन र जीउ जोड्छ। प्रकृति र समाज मात्र होइन, भूगोल–भूगोल जोडेर समाधान निकालिएको हुन्छ। त्यो आत्मसात् प्राज्ञिक लेखमा गरिएको हुन्छ।

पुस्तक अनुसन्धानमूलक पनि त हुन्छन्...

हुन त कतिपय पुस्तक प्राज्ञिक लेखकै सँगालो पनि हुन्छन्। तर प्राज्ञिक लेखले जुन मजा दिन्छ, त्यो पुस्तकमा कहाँ ? जे लाइब्ररीमा पढ्नजस्तो मज्जा अन्त आउँदैन। अमेरिका र नेपाल कसरी जोडिने ? त्यहाँ जोडिदिएको हुन्छ, त्यसको आधारसहित। हामी नेपालको कुरा गरेका हुन्छौं। त्यहाँ नेपालजस्ता मुलुकका समस्याको समाधान खोजिसकेका उदाहरण हुन्छन्। नेपालमा अहिले अमेरिकी सहयोगको विषय उठेको छ तर त्यसको समाधान अन्य मुलुकमा उठेर भइसकेका हुन्छन्। त्यसमा ध्यान दिनुपर्छ। यस्तो पढ्दा आनन्द आउँछ। नेपालजस्तै र नेपालजस्ता समस्या भोगेका मुलुकलाई नियाल्दै समाधान पाउँदाको क्षणले मलाई निकै उत्साहित पार्छ।

ज्ञान ग्रहण र प्रसारणमा थकाइ भन्ने शब्दावली हुँदैन रहेछ है सर ?

कहाँ विश्राम हुनु ? घरमै बसेर मज्जाले पढ्न पाउने कुरामा। नयाँ ज्ञान भनेको संश्लेषण गर्ने हो। पृथक् पृथक् कुराहरूको संश्लेषण नै नयाँ कुरा हो। दुई फरक–फरक कुरा आयो र त्यसबाट एउटा नयाँ मोड निकालियो भने त्यो नै नयाँ ज्ञान हो। त्यो कसरी जोड्ने भन्ने विषय अध्ययन नगरी थाहा हुँदैन। त्यसैले अध्ययनबिनाको तयारी काम छैन भन्ने गरिन्छ। विकासमा अध्ययनको खाँचो हुन्छ। उडन्ते गफ त जसले नि लगाउन सक्छ। तर, यथार्थ जोड्न अध्ययन चाहिन्छ। फरक फरक तथ्य जोडेर नयाँ कुरा जन्मने हो। जसरी कलमी गरेर नयाँ बिरुवा बनाइन्छ वा क्रस गरेर नयाँ जीवको कल्पना गरिन्छ, त्यस्तै हो अध्ययन। त्यो बुझ्न आवश्यक छ।

अध्ययन–अनुसन्धान–प्राध्यापनमा खारिएको व्यक्तित्व, पीआरआईको नेतृत्व गरिरहनुभएको भए बृहत्तर समुदाय–राज्यले लाभ लिन सक्थ्यो कि ?

पीआरआई आवश्यक थियो, सरकारले बनायो। तर, कर्मचारीतन्त्र र नियम कानुनको नाममा प्राज्ञिक व्यक्तिको हातखुट्टा बाँध्ने काम भयो। प्रशासनिक काममा मात्र अल्झिनु परेपछि कसरी अध्ययन–अनुसन्धान हुन्छ ? यसमा मैले निकै प्रयास गरेँ। झगडा गरेर रातो मुख गरेर कर्मचारीसँग संघर्ष गरेर हिँड्न सकिँदैन भन्ने लाग्यो। अनि त्यसमा फिट हुनेहरू आएर चलाऊन् भनेर मैले समय दिएर नै छोडेको हुँ। सायद म व्यवस्थापनमा शून्य मानिस हुँला। सबै मानिसको सबैमा क्षमता हुन्छ भन्ने छैन। हाम्रो चरित्रमा म अटिनँ। मैले स्वेच्छाले जसले मलाई नियुक्तिका लागि त्यहाँ पठाउनुभयो, उहाँलाई नै सुझाएर अवस्था स्पष्ट पारेर छोडेको हुँ।

जबसम्म नेपालको प्रशासनिक झन्झट रहिरहन्छ। सिंहदरबारमा टोपी लगाएर पस्नेहरूको टोपीभित्र गुम्सिएको मानसिकता परिवर्तन हुँदैन तबसम्म थिंक ट्यांकले सोचेअनुरूप काम गर्न सक्दैन। काम नै गरे पनि त्यो प्रतिवेदन कुनै सचिव वा सहसचिवको दराजमा धमिराले खाएर बसेको हुन्छ। राज्य प्रणालीमा उपयोग हुँदैन। जुन कुरा उपयोग नै हुँदैन भन्ने जान्दाजान्दै किन त्यहाँ माथापच्ची गरेर बस्नु ?

प्राध्यापनमा चाहिँ कहिल्यै मोहभंग भएन है सरको ?

बरु पढाउँदा केही विद्यार्थीले सिक्छन्। र कर्मचारी बनेर गए त्यहाँ केही लड्लान् र सुधार गर्लान् भन्ने सोच्छु। मैलै कर्मचारीमा जेलिएको विषय दुई दिनअघि मात्र पास गरेको छु। पहिलेदेखि नै फनफनी जेलिएको विषय छ। भनेजति पैसा छ, कर्मचारी दिएको छ। तर, सबै कागजमा। त्यो सात महिनासम्म केही भएन। मैले म्यानेज गर्न सकिनँ, छोडँे। सात महिनासम्म कर्मचारी नपाउने अनि कलम किन्न पनि अनेकन प्रवृत्ति पास गर्नुपर्ने तर एउटैले ल्याउने विषयमा किन म साक्षी बस्ने भनेर छोडेँ। यस्ता समस्याबारे विद्यार्थीलाई बुझाउन पाइयो, राम्रै हुन्छ नि।

यस्तो निराशाजनक अवस्थामा अब पनि के काम होला त ?

काम नै नहोला त म भन्दिनँ। अध्ययनहरू अघि बढेको छ। यसले एउटा संस्थाको रूप धारण गरेको छ। सुझाव पनि देला तर यो संयन्त्रले सुझाव पचाउँदैन। कर्मचारीहरू प्रशासनिक काममा अल्झिन्छन्। नयाँ विषयमा प्रवेश गर्दैनन्। सधैं पुरातन तवरमै अघि बढेको देख्छु। राजनीतिक नेतृत्व पनि उनीहरूको ढर्रालाई चलाउने आँट गर्दैन। कर्मचारीले आफ्नो हितबारे मात्र सोच्छ। किनकि ऊ आफ्नो बालबच्चा, परिवार सुरक्षित गर्न जागिर खान आएको हो। तर त्यसबाट काम लिने राजनीतिक नेतृत्वले हो।

त्यो सोच नेतृत्वमा आउनुपर्छ। नेतृत्वले कर्मचारी संरचनालाई परिवर्तन गर्दै सुपरभाइजर प्रणालीमा लैजानुपर्छ। अन्यथा सुधारको अपेक्षा गर्न सकिँदैन। नेपालमा थिंक ट्यांक बनाउन नसक्ने भन्ने होइन। म व्यवस्थापनमा अब्बल भइनँ। म निजामतीको चक्करमा नपर्ने परेँ। कन्सलट्यान्ट भर्ना गर्दा स्वीकृत लिनुपर्ने। अनेकन् जालझेल। स्वतन्त्रता भन्ने नै भएन।

कर्मचारीतन्त्र र नियमकानुनको यस्तो काँडेतार पन्छाउन राजनीतिक नेतृत्वलाई कहिल्यै केही सुझाव पनि दिनुभयो कि सुझाव लिन चाहेनन् ?

उहाँहरूसँग फाट्टफुट्ट कहिलेकाहीँ भेट हुन्छ। भेट्ने नै भनेरचाहिँ हैन। घरमै बसेर छलफल गरेको, बहस गरेको छैन। खासगरी राजनीतिक नेतृत्वले समय लिएर भेट गरेका हुँदैनन्। कहिलेकाहीँ लेख प्रकाशित हुँदा वा अन्तर्वार्ता आउँदा फोन गरेर भेट्ने भन्छन् तर पछि बिर्सिसकेका हुन्छन्। मैले भनँे नि, पत्रिका पढेपछि सक्कियो। त्यसैले किताब बनाउने प्रयत्नमा छु। कार्यक्रमहरूमा नेतृत्वसँग भेट हुन्छ। तर त्यहाँ यसो देख्छु, कुरा सुन्छु। पढेको पाउँदिनँ। भेटेन भनेर चिन्ता गर्ने काम पनि छैन। दु:खी हुने कुरा पनि छैन। तर नेतृत्वले पढिदिऊन्। उनीहरूको टिममा अध्ययन गरेका युवाहरू पनि होऊन् भन्ने लाग्छ। तर, लागेर के गर्नु ? यस्तो सुझाव दियो भने यसले पनि केही भाग खोजेछ भनेर सोचिदिन बेर लाग्दैन। किनकि यहाँ आशेहरूले उनीहरूलाई सताइरहेका हुन्छन्। अध्ययन गरिदिए त हामीले जानेको कुरा विभिन्न माध्यममार्फत गइरहेका छन्। प्राविधिक रूपमा भेट्नु नै ठूलो कुरा होइन। उनीहरूको आफ्नै काम होला। हाम्रो आफ्नै काम हुन्छ।

नेताहरूमा केही नयाँ गरूँ भन्ने इच्छाशक्ति नै देख्नुभएन ?

यहाँ हरेक पार्टीको आफ्नो बुद्धिजीवी संगठन छ। त्यहीँभित्रका बुद्धिजीवीहरू भेट्नुभएको होला, उहाँहरूले। पार्टीभित्र प्रवेश गरेपछि कोही बुद्धिजीवी–बौद्धिक हुँदैनन् भन्ने मेरो मान्यता छ। किनकि पार्टीको हितमा रहेपछि आलोचक हुनै सक्दैन। हुन त हामीले नेतृत्व भनेको के हो भन्नेमै ध्यान दिएका हुँदैनौं। किनकि एकाथरीले नेतृत्वलाई देउता र अर्कोथरीले राक्षस बनाउने काम गरेका हुन्छन्। त्यो दुवै होइन। नेतृत्व भनेको हाम्रै समाजको उत्पादन हो। यसमा हामी धेरै घोत्लिन आवश्यक छैन। उसको सीमित दायरा हुन्छ। त्यही दायरामा उसले आफूलाई अघि बढाउने हो।

पार्टीका बुद्धिजीवी भन्नुभयो, यी स्वतन्त्र बौद्धिकसित कहाँनेर देखिन्छन् ?

हेर्नुहोस्, विश्वविद्यालयमा कर्मचारी, विद्यार्थी र प्राध्यापक संघ छन्। यी विद्यार्थी, प्राध्यापक र कर्मचारीको होइन, पार्टीको भलाइ हेर्छन्। प्राध्यापन कस्तो हुनपर्छ भनेर ती संगठनले कहिल्यै विमर्श गरे ? यो अलमल्याउने काम भएको छ। सामुदायिक वन, आमा समूह, स्कुलका समिति सबै पार्टीकरण भएको छ। यसले न समृद्धि, न उत्कृष्टता केही पनि हुँदैन। सबैलाई पार्टीकृत गर्दा हामी भड्खालोमा पर्छौं। शक्तिसँग आमनेसामने हुँदा सत्य बोल्नुपर्छ। तर पार्टीकरण हुँदा बोल्ने शक्ति नै हराउँछ। क्षीण हुन्छ।

दलमा युवा नेतृत्वहरू कस्तो देखिरहनुभएको छ ?

उहाँहरूले आफ्नै बाध्यता र सीमितता देखाउने गर्नुहुन्छ। मैले एक समितिमा गएर छलफल गरेँ। नेपालमा के के राम्रो भएको छ भन्नेबाट कुरा गर्दा उहाँहरू त्यसमा सीमित हुने गरेको पाउँछु। अछूतपना र लोकतन्त्र सँगै जाँदैन। जुन हदसम्म नागरिक हो, लोकतन्त्र भनेको समान नागरिक बनाउने हो। यस्तो विषयमा छलफल हुँदा उनीहरूको कुरा सुन्दा म आफंै छक्क परेँ। संसद्मा कुरा गर्दा युवाहरू के उत्तर दिने भनेर अलमलिएका छन्। किनभने भोट घट्छ भन्ने चिन्ता छ। युवा त छोएको पानी नखानेबाट पानी खाने बन्नैपथ्र्याे। त्यसका लागि कति समय ? लोकतन्त्र खोइ ? जात व्यवस्था भयंकरको अलोकतान्त्रिक विषय हो।

हाम्रो लोकतन्त्र कहिले परिपक्व र बलियो होला त ?

हेर्नु न, अझै पनि बाह्य शक्तिसँग डराउने गरिन्छ। हामीले सबैसित सहयोग लिने नै हो। हामी बीआरआईमा पनि छिर्ने हो। एमसीसी पनि लिने हो। त्यसमा हामी आँखा र कान खुला राखेर मुलुकको हितमा अघि बढ्न आवश्यक छ। तर अहिले कताकति चीनलाई खुसी पार्न केही नेता लागिपरेका हुन् कि झैं पनि लागेको छ। कतै संसद्मा गएको खण्डमा कतै नजिर बन्ने त होइन पनि हुन सक्छ। त्यो तहसम्म हामी सोचिरहेका छैनौं। सरकारले गर्ने विषयमा बोलिसकेपछि पछि हट्ने काम छैन। कुनै संकल्प प्रस्ताव ल्याएर काम गरे हुन्छ। अमेरिकाले नेपालमा सत्ता परिवर्तन भइरहन सक्छ, त्यसैले सबैको सहमतिमा भए सजिलै अघि बढ्छ भन्नेमा यो काम भएको हुनाले पनि त्यही पाटोबाट बुझेर अघि बढ्न आवश्यक छ।

सुधारको सुझाव के छन् ?

मानिसको करिअरलाई एउटै मन्त्रालयमा विषयगत क्षमता बनाएर पठाउन आवश्यक छ। विज्ञता हासिल गराउनेतर्फ लाग्नुपर्छ। अधिकृत जहाँ जेका लागि आयो, त्यसका लागि राखेर एउटै शाखामा विकास गर्न आवश्यक छ। हुकुमी शासनबाट कर्मचारीतन्त्र निर्माण भएको हो। हाम्रो सरकारले विशिष्टता हासिल गर्न आवश्यक छैन भन्ने छ। यहाँ त सिकिहाल्छन्, सकिहाल्छन् भन्ने आएको छ। त्यो होइन।

एउटा तहसम्म सामान्य ज्ञान हुनुपर्छ। त्यसपछि भने विज्ञता आवश्यक छ। जागिर होइन, कर्तव्य हो भनेर कर्मचारीले नलिएसम्म सुधार हुँदैन। हामीले राजनीतिक नेतृत्वलाई मात्र दोष दिनु हुँदैन। अनि जनता पनि जिम्मेवार हुनुपर्छ। गल्ती हुन्छ तर त्यो गल्तीबाट सिकेर अघि बढ्न सक्नुपर्छ। हिजोको गल्तीबाट सिकेर अघि बढ्न आवश्यक छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.