‘गरिबको खाना’ चिनो बन्यो ब्रान्ड
सुर्खेत : चिनो कर्णालीमा फल्ने लोपोन्मुख खाद्यबाली हो। अनिकाल परेपछि यहाँका नागरिकले भोक टार्न यही चिनोको चामल खाने गर्थे। ‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ। यसको अर्थ हुन्छ, धानको भात खाने हैसियत नभएकाले मात्र चिनोको चामल प्रयोग गर्छन्।
तर, समय बदलिएको छ। केही समयअघिसम्म चिनोको भात मन नपर्नेले खोजी खोजी खान थालेका छन्। गरिबको भान्सामा पाक्दै आएको चिनोको महत्व बुझेसँगै यसको माग बढेको हो। सम्पन्न परिवारले चिनोको चामल खेतलालाई ज्यालास्वरूप दिन्थे। तर, अहिले यही चामल एकाएक सम्पन्न परिवारको प्रमुख रोजाइमा परेको छ।
सित्तैमा दिने चामलको बजार मूल्य अहिले प्रतिकिलो तीन सय रुपैयाँभन्दा माथि छ। जबकी सेतो मन्सुली चामलको मूल्य प्रतिकिलो स्तर हेरेर ५० देखि ७५ रुपैयाँसम्म पर्छ। कर्णालीको जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगुलगायत जिल्लामा चिनो चामल अत्यधिक फल्छ। पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख गर्नुपर्दैन।
खाँदा स्वादिष्ट नभए पनि यसको महत्व बुझ्दै गएपछि चिनोको मूल्य एक्कासी आकासिएको हो। लुकाएर खाँदा पनि कसैले थाहा पाइहाल्यो कि भन्दै चनाखो हुनुपर्ने चिनोको चामल किन्न अहिले नाक खुम्च्याउनुपर्ने अवस्था आएको उपभोक्ता हिमाल खत्रीले बताए। गरिबको खाना अहिले धनीका भान्सामा मात्र पाइन्छ। उत्पादकबाहेक अन्य सामान्य परिवारले यो चामल खरिद गरेर खान मुस्किल बनेको छ।
कर्णालीमा घुम्न आउने पर्यटकलेसमेत चिनोको परिकार निकै रूचाउन थालेका छन्। तर, मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। दुई दशक अघिसम्म कर्णालीका नागरिकले जौ÷कोदोपछि सबैभन्दा धेरै चिनो खेती नै गर्थे। तर, उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका हुन्। तर, अहिले माग बढी भएको र उत्पादन कम हुँदा पुनः किसान चिनो खेतीतर्फ आकर्षित भएका छन्।
चिनोको भातभन्दा खिर, केकलगायत परिकार निकै मिठो हुने गरेको अर्का उपभोक्ता लक्ष्मी गौतमले बताए। जीवनयापनमा सन्तुलन नमिल्दा अधिकांश सहरिया सुगर रोगले पीडित छन्। बिना औषधि सुगर निको पार्ने सजिलो उपाय चिनो सेवन रहेको विज्ञ बताउँछन्। परिकार मिठो हुने र स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग बढेको हो।
यस्तै चिनोको सेवनले स्मरण शक्ति वृद्धि गर्ने, उच्च रक्तचाप घटाउने, हड्डी बलियो बनाउन मद्दत गर्छ।। ‘सडक सञ्जालको पहुँच भएसँगै कर्णालीका रैथाने उत्पादनले बजार पाएको हो’, तातोपानी गाउँपालिकाका मानबहादुर बुढाले भने, ‘पहिला हामीजस्ता विपन्नले मात्रै चिनोको भात खान्थ्यौं, त्यही पनि पाहुना आएका बेला इज्जत जाने डरले जसरी पनि बजारकै चामल किन्नु बाध्यता थियो।’
त्रिपुरासुन्दरी नगरपालिका–३ का कृषक रणजीत बोहोराले भने, ‘समाजका ठूलाबडाले आफ्नो घरमा उत्पादन भएको चिनोको चामल गरिबलाई दिने र आफूले बजारको सेतो चामल किनेर खाने प्रवृत्ति बढ्न थालेपछि केही वर्ष लोप नै हुने अवस्थामा पुग्यो।’ घुम्न आउने अधिकांश पर्यटकको प्रमुख खाना अहिले चिनो नै हुने गरेको जुम्लाका होटल व्यवसायी नार्बु लामाले बताए।
प्याकेजिङ र लेबलिङपछि पर्यटकका माध्यमबाट पूर्वदेखि पश्चिमसम्म सबै सहरमा चिनोको चामल पुगेको व्यापारी लालबहादुर विष्ट बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले खाएपछि जुम्ली मार्सीको ब्रान्ड बनेको थियो। तर, मार्सीभन्दा प्रतिकिलोमा झन्डै एक सय ५० रुपैयाँ बढी छ चिनोको मूल्य। यसको प्रचार गर्न सके चिनोको उत्पादन र किसानको आम्दानीमा वृद्धि हुन्छ। स्वयं कर्णालीका नागरिक पनि आयातित चामल किन्नुपर्ने बाध्यताबाट मुक्त हुने सरोकारवाला बताउँछन्।