ध्रुवतारा

ध्रुवतारा

नाटककार बालकृष्ण समको हिजो माघ २४ गते ११८ औं जन्म दिन। उनको जन्म दिनको सम्मानमा ‘फुर्सद’ प्रस्तुत गर्छ, उनको मूल विधा नाटक :


दृश्य १

(सहरको एक घर। मध्यमवर्गीय परिवार। बिहानको समय। भान्छाकोठासँग बैठककोठा जोडिएको दृश्य देखिन्छ। चन्द्रा भान्छामा सिमी केलाउँदै छिन्। चन्द्राको लोग्ने सूर्य दंग पर्दै आउँछन् र चन्द्राको पछाडि उभिन्छन्। सूर्यको हातमा चियाको कप छ। पछाडि नहेरी चन्द्राले सूर्य आएको चाल पाउँछिन्। सूर्यको अनुहार सूर्यको तेज परेजस्तै उज्यालो देखिन्छ।)

चन्द्रा : आज त बिहानबिहानै हाम्रो सूर्य सरको अनुहारमा सूर्यको जस्तै कान्ति देख्या छ त, केको राज हो ?

सूर्य : हाम्रो राजकुमारको राज पत्ता लगाएरै छोडेँ नि मैले। हन्ड्रेड पर्सेन्ट साँच्चै हो; अब चैं हुने भो ममी !

(सूर्य कपबाट चिया पिउँछन्।)

चन्द्रा : (उत्साहित भएर सूर्यको नजिकै आउँछिन्।) साँच्चै ?

सूर्य : आफ्नै कानले सुनेको, अनि साँच्चै हुँदैन त ?

चन्द्रा : कसरी भन्न सक्नुहुन्छ, त्यति विश्वासका साथ ?

सूर्य : अघिदेखि गुनगुन गुनगुन आवाज आउँदै छ उसको सिरक भित्रबाट। हिजै पनि खाना खाँदाखेरि मसमस मस्किँदै थिएन त केटो ? १५ मिनेटसम्म उभिएर ढोकामा कान जोतेर सुनेको त खुबै मस्किँदै थियो ओ माई बेबी भनेर केटो ! हे हे हे...। आफ्नी नभई त अर्कालाई माई बेबी माई बेबी त भन्न मिलेन।

चन्द्रा : किन किन, आफूलाई त विश्वासै लाग्या छैन अझै।

सूर्य : विश्वास नलागे आफंै ढोकाको छेल परेर सुन न त। अझै सक्या छैन होला त्यसले आफ्नी बेबीसँग कुरा।

चन्द्रा : भयो भयो। हजुर जस्तो जासुस बन्नु छैन मलाई। (केही सोचेर) माई बेबी नै भनो भने त पक्कै होला, है बाबा ?

सूर्य : हो नि, मेरो यत्रा दिनको जासुसी निष्कर्ष पो त। केटो बिहे गर्न किन हतारिँदैन भनेको त यसरी लभ खेल्न पल्क्या रछ÷अब त दस दुनियाँलाई यस्ती बुहारी चाहियो, उस्ती बुहारी चाहियो भनेर ओठ पसार्नु पनि परेन। मर्दको छोराले आफूलाई चाहिने दुलही आफंै खोज्छ।

चन्द्रा : (ओठ लेप्य्राउँदै) उस्... कत्ति नै÷

सूर्य : (रोमान्टिक पारामा) के उस्... नि ? ऊ जमाना पनि तिमीलाई मैले नै खोज्या हो क्यारे। बाबु त अहिलेको जमानाको पो त।

(चन्द्रा चामल केलाउन थाल्छिन्। सूर्य सकिएको चियाको गिलास राखेर छोराको लागि चिया लिएर जान्छन् तर छोरालाई नदिई ल्याउँछन्।)

सूर्य : अब उसकी बेबीसँग बोल्या बेलामा के चिया मीठो लाग्दो हो र तेल्लाई भनेर चिया पनि नदिईकन आएँ। फेरि के डिस्टर्ब गर्नु, होइन त ममी ?

चन्द्रा : एस्तो खतरा बिहे गर्नुपर्छ छोरोको बाबा। सबै छक्क परून्। पञ्चेबाजाले टोल थर्काउनुपर्छ। टोलमा सबलाई जुरुक जुरुक उठेर नाच्न मन लाग्ने गरी गीत घन्काउनु पर्छ।

(सूर्य लसुन र प्याज झिकेर केलाउन र काट्न थाल्छन्। चन्द्रा कुकरमा केही बसाउँछिन् र हात पुछेर सूर्यको छेउमा आउँछिन्।)

सूर्य : अब त तिम्री भाइबुहारीको पनि मुखमा बिर्को लाग्ने भो। (गिज्याउँदै) दिज्यु भान्जा बाबुको भोज खान कहिले पाउने होला ? मेरो नातिको खाने बेला हुन लागिसक्यो। भनेर कम्ता घोच्थिन् त तिमीलाई ?

चन्द्रा : हजुरको भाइबुहारीलाई चैं कसले भनिदिओस् नि ? तिम्रा त अझैसम्म नातिनातिना नै छैनन् भन्ने छनक दिँदै उनकी नातिनीको पास्नी गर्ने भनेर भेटैपिच्छे निम्ता दिन्छिन्। एकचोटि भनेपछि पुग्दैन र ? त्यो मलाई बिझाउने नै नियतले नै भनेकी हुन्। अझ, फेसबुकमा दिनको १५ ओटा फोटो राख्दै मलाई पनि पो टुच्चटुच्च ट्याग हान्छिन् त। नानी मात्रै जन्माओस् न हाम्रो बाबुले। हाम्ले पनि जान्या छ ⁄ म त झन् दिनको ३० ओटा फोटो राखेर ३० ओटै फोटोमा तिनलाई पनि ट्याग गर्छु।

सूर्य : भयो छोड्देऊ उनीहरूका कुरा। अब सब ठेगानमा आउँछन् बिस्तारै। (केही सोचेर) सुन न, खाना एकछिनमा बनाऊँला है। अहिले भोक नै छैन।

चन्द्रा : हुन्छ, बसौं न त एकछिन।

(दुवै जना बैठक कोठामा आउँछन् र सोफामा बस्छन्।)

चन्द्रा : हैन, बाबुले त्यसकी बेबीसँग कुरा गरिसकेन भन्या ? फ्रेस भएर चिया खान आए हुन्थ्यो।

सूर्य : भो केही डिस्टर्भ नगर, अहिले उसलाई। बरु चाँडै बिहे गर्नुपर्‍यो बाबु भनेर भनम्। हामीले त्यति भनेपछि उसलाई आफ्नो कुरा राख्ने बाटो पनि खुल्छ।

चन्द्रा : (आफ्नो छोरोप्रति गर्व गर्दै) ऊ सँगैका केटाहरू बाबुआमाले कमाइदिएको सम्पत्ति उडाएर आवारा भएका छन्। अलि अबोला हो। त्यसबाहेक कहिल्यै दु :ख दिएन उसले हामीलाई। राम्रोसँग पढ्यो। है बाबा ?

सूर्य : त्यो त हो नि ममी। ऊ मसँग भन्दा तिमीसँग नजिक छ। कुरा गर न बरु आज कहिले बिहे गर्ने बाबु भनेर ?

चन्द्रा : अन्तर्मुखी छ त्यो। त्यसले भन्लाजस्तो त लाग्दैन मलाई। मिलाएर आफैं सोध्न पर्ला।

सूर्य : त्यही त भनेको (केही जुक्ति फुरेझैं गर्दै) एउटी केटीको फोटो देखाइदिऊँ न। तर्सेर आफैं भन्ला कि। हे हे...।

चन्द्रा : हावा हजुर पनि। आफ्नो छोरो हो नि। त्यत्रो नाटक गरिरहन पर्छ र ? कुरा मिलाएर सोध्ने नि। यो त हाम्रो जिम्मेवारी हो।

(सूर्य–चन्द्राको छोरा ध्रुव मोबाइलमा केही टाइप गर्दै भान्छातिर आउँछन्।)

चन्द्रा : राति अबेर सुत्यौ कि के हो बाबु; ढिला उठ्यौ त ?

ध्रुव : राति अबेरसम्म पढेर बसेँ ममी, त्यही भएर।

(ध्रुव मोबाइल टेबलमै राखेर थर्मसबाट मगमा पानी सार्छन्। अलिकति पानी टेबलमा पोखिन्छ। यताउति हेर्छन्।)

ध्रुव : ममी, पुछ्ने कता छ ?

चन्द्रा : ऊ, बाहिर छ। बार्दलीमा सुकाको छ, हेर् त।

(ध्रुव बार्दलीतिर जान्छन्। चन्द्रा हतारहतार ध्रुवको मोबाइल हेर्छिन्।)

चन्द्रा : (मोबाइलतिर घोप्टिएरै ङिच्च हाँस्छिन् र विस्तारै सासले बोल्छिन्) हो रैछ बाबा ! हो रैछ ! हि हि...

सूर्य : थाहा भएकै कुरा हो नि।

(यति देखेपछि चन्द्रा सरक्क चुलोतिर जान्छिन् र अघि बसाएको भाँडो झिक्छिन्। ध्रुवले टेबल पुस्छन् र बैठक कोठामा जान्छन् अनि सोफामा बस्दै टेबलबाट पत्रिका उठाउँछन्।)

ध्रुव : के थाहा भएकै कुरा बाबा ?

सूर्य : (एउटा पत्रिका टेबलमा राखेर अर्को पत्रिका उठाउँदै कुरा अन्तै माडिदिन्छन्) यही पेट्रोलकोे भाउ बढ्छ भन्ने कुरा नि। हप्तामा तीन चोटि बढ्छ। यस्तै कुरामा मात्रै मार्छ हाम्रो सरकार अग्रगामी छलाङ।

(सूर्य र चन्द्रा हेराहेर गर्छन् र आँखाले इशारा गर्दै हाँस्छन्। बाबा ममीको हाँसोको वास्तै नगरी जुरुक्क उठेर ध्रुव आफ्नो कोठामा जान्छन् र तुरुन्तै लुगा फेरेर आउँछन्।)

चन्द्रा : (छक्क पर्दै) आज पनि बाहिरै खाने हो क्याहो बाबु ?

ध्रुव : अँ (छक्क परेर ममीलाई हेर्दै) कसरी थाहा भयो हजुरलाई ?

चन्द्रा : हिजो पनि यही लुगा लगाएर यतिखेरै निस्केका थियौ, त्यही भएर गेस गर्‍या।

ध्रुव : ए, अँ। आज साथीसँग लन्च गर्ने प्लान छ। (घडी हेर्छ र मोबाइल लिएर उठ्छ।) हवस्, म गएँ। हजुरहरू पनि टाइममा लन्च लिनुहोला।

चन्द्रा : घर अलिक चाँडो आऊ है बाबु। यसो बसेर कुराकानी गरम्। घरसल्लाह पनि गर्नु छ। तिमी आएको यत्रो भइसक्यो केही कुरा गर्न पा छैन।

ध्रुव : हवस्।

(ध्रुव गएपछि चन्द्रा जिब्रो टोक्दै सूर्य बसेतिर आउँछिन् र सोफामा बस्छिन्।)

चन्द्रा : मैले देखेँ नि बाबा। अबचाहिँ म पनि पूरै ढुक्क भएँ। तपाईंले कानले सुनेर थाहा पाउनुभो; मैले आँखैले देखेर थाहा पाएँ।

सूर्य : अघि उसको मोबाइलमा फोटो हेर्‍यौ कि क्या हो ?

चन्द्रा : फोटो हैन, म्यासेज; म्यासेज लेखेको देख्या उसकी बेबीलाई। हि हि...। नाम पनि तारा रैछ। खुबै लभ राखेर सेभ गर्‍या छ। उसैले कफी अनि लन्च खान बोलाकी रैछे। खुबै ‘चाँडो आऊ न मेरो स्विट हार्ट’ लेखेकी रैछे। अनि बाबुले ‘हवस्, हजुरको जो आज्ञा’ लेखेको थियो। त्यही भएर खाएर जाऊ न भनेर कर गर्न पनि नगर्‍या; फेरि मेरै कारणले बुहारी भिœयाउन ढिलो होला भनेर।

सूर्य : केटाकेटीलाई कसैले मिलाउन परेन; कुरो मिलेकै छ। अब पारिवारिक कुरो पनि मिलाउन पाए सुनमा सुगन्ध हुने थियो। केटीको परिवारलाई पनि थाहा छ कि छैन ? छोरी दिन आनाकानी त नगर्लान् नि है ?

चन्द्रा : यस्तो लायकको केटालाई कसले नदेला हउ छोरी ? रूप भने रूप, पढाइ भने पढाइ। सम्पत्ति पनि यत्तिको जोडिदिएकै छौं। सम्पत्तिभन्दा पनि पति गतिलो छ। भाग्यमानी रैछे केटी।

सूर्य : एउटा मात्र सन्तान थियो; अब दुइटा हुने भए।

चन्द्रा : म त बुहारीलाई छोरीलाई झैं माया गर्छु।

सूर्य : घरमा दुइटा चन्द्रमा लाग्ने भए अब। एउटा चन्द्रमा तिमी; अर्की बुहारी।

चन्द्रा : (भावमा डुबेर) बिहे नहँुदै म त नातिनातिनाको कल्पनामा पो डुब्न थालेँ त बाबा। नातिनातिना भएपछि त हाम्रो घर स्वर्गै हुन्छ होला।

सूर्य : (सूर्य पनि भावविभोर हुन्छन्) बाबु जन्मेकै वर्ष मेरो जागिर स्थायी भएको थियो। त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। राम्रै कमाइ भयो। सहरमा सुविधासम्पन्न घर बनाइयो। अहिले पेन्सन आउँछ। हामीलाई जति मोज गरे पनि पुग्छ। उनीहरूलाई पुग्ने बाबुले कमाइहाल्छ। (अझै भावुक हुँदै) अस्ति भर्खर जस्तो लाग्छ, इत्रिको पिउसो दुई हातमा लिएर खेलाएको। सिरकभित्र पसेर उसकी बेबीसँग गुनगुन गर्ने भयो हेर्दाहेर्दै।

चन्द्रा : (आमा भएकाले होला, चन्द्रा झन् भावुक भइन् )बाबु, कोसँग बिहे गर्ने ? भन्दा, ममीसँग मन्थ्यो। हे हे... अहिले सिरकभित्र पसीपसी बोल्ने भयो उसकी गर्लफे्रन्डसँग।

सूर्य : (भावनाबाट व्यवहारमा फर्कंदै)कति जति खर्च होला ममी बाबुको बिहेमा ?

चन्द्रा : खर्चको मुख नहेर्ने बाबा। जतिसुकै होस्, बिहे धूमधाम होस्। नपुग्दो केही छैन। अर्को बिहे गरौं भन्ने पनि छैन। हाम्रो परिवारमा हुने सबैभन्दा ठूलो कार्जे पो त हो त।

सूर्य : बाबुले फेरि कसरी गर्न मन गर्ने हो ?

चन्द्रा : हामी आमाबाबु हौं नि। हाम्रो पनि इच्छा हुन्छ। हाम्रो इच्छालाई मार्दैन हाम्रो छोराले।

चन्द्रा : (प्रसंग बदल्दै) सुन्नु न बाबा, थर पनि थाहा भए त फेसबुकमा हेर्न हुन्थ्यो है ? मलाई त बुहारीको अनुहार हेर्न हतार भइसक्यो। (उत्साहित हुँदै) बाबुको रूपमा केही त होला नि उसको फोटोसोटो, यसो नाम थर लेखेको कुरा। खोज्ने हो कि बाबा ?

सूर्य : भो छोडिदेऊ। बढेको छोरो; उसको प्राइभेसीलाई पनि ख्याल गरौं। फेरि खोजतलास गरेको पत्तो पाउला र रिसाउला।

चन्द्रा : आफ्नै छोरो त हो नि। आफंैले जन्माको। नांगै हुर्काको। के रिसाउनु नि ?

सूर्य : अहिले त ऊ ठूलो भयो नि ममी।

चन्द्रा : (प्रसंग बदल्दै) बुहारीको अनुहार नदेख्दै माया पलाइसक्यो। देखेपछि के होला है बाबा ?

सूर्य : एक दिन बुहारीलाई खाना खाने गरी बोलाउनुपर्छ। अनि आँखैअगाडि देखेपछि, भेटेपछि कति माया लाग्दो रैछ, विचार गर्नुपर्छ।

चन्द्रा : त्यो दिन भोलि नै आइदिए हुन्थ्यो। है बाबा ?

सूर्य : आउँछ आउँछ। बाबुसँग कुरा गरिहाल्नपर्छ।


दृश्य २

(बिहान नौ बजेतिरको समय छ। चन्द्रा एउटा डायरी बोकेर सोफामा बस्छिन् र डायरी पढ्न थाल्छिन्। एकैछिनमा सूर्य बाहिरबाट झोलामा सब्जी बोकेर आउँछन्। झोला किचनमा राखेर चन्द्रा भए ठाउँमा आउँछन् र टेबलमा राखेको पत्रिका टिपेर बस्छन्।)

सूर्य : (पत्रिका हेर्दै) के पढेकी ? बाबु उठेको छैन ?

(खिस्सखिस्स हाँस्दै डायरीका पाना पल्टाउनमै मक्ख छिन् चन्द्रा)

सूर्य : (अचम्म मान्दै) बाबुको डायरी हो ममी ? किन पढेकी चोरीचोरी ? खोइ बाबु ?

चन्द्रा : (मक्ख पर्दै) कफी खान निस्क्यो उसकी बेबीसँग।

सूर्य : ए, के लेख्या रछ ? (सोफामा बस्छन्)

चन्द्रा : (डायरीको पहिलो पाना पढ्न थाल्छिन्) अब भोलिबाट ताराकोमा बस्न जाँदै छु। मञ्जु र मेरो ब्रेकअप भएको एक महिना भैसक्यो। मनमा कत्ति पनि पीर परेको छैन। जे भयो राम्रै भयो। अलिअलि दोषी भने महसुस भइरहेको छ। तारा र मेरो सम्बन्धबारे मैले उनलाई पहिल्यै भन्न सकेको भए सायद मञ्जुसँगको सम्बन्ध अगाडि बढ्ने थिएन। ताराको चाहिँ कुनै पनि हालतमा मन दुखाउने छैन। ऊ मेरो जीवन हो; प्राण हो...

डायरीबाट प्लेनको दुईवटा टिकट झर्छ।

चन्द्रा : (टिकट हेर्दै) के हो यो ? टिकट रैछ प्लेनको। क–कसको ? (एउटाको नाम हेर्दै) यो ध्रुव भट्टराई, बाबुको। (अर्को पानामा नाम पढ्दै) तारा सुवेदी, केटीको रहेछ। भनेपछि यिनीहरू अस्ति सँगै आएका रहेछन्।

सूर्य : (टाउको हल्लाउँदै) अँ ! सुवेदी रैछे बुहारी।

चन्द्रा : एउटीसँग ब्रेकअप भएको रैछ। आमै बाबा, यिनीहरूले बिहेको प्लान पनि गरिसकेका रछन्। (सूर्यलाई डायरीमा लेखेको देखाउँदै) म्यारिज एक्सपेन्डिचर भनेर खर्च छुट्याएका रहेछन्। ताराको पढाइको बाँकी खर्च पनि छुट्याएको रहेछ। भनेपछि उतै अमेरिका पढ्दै रहिछे केटी। यहाँ हेर्नू त।

सूर्य : खै खै ! उतै भेटेका जस्ता छन् है ? यसैपाला बिहे गर्न सँगै आएका रहेछन् त ? खै हेरौं।

(हेर्नै लाग्दा डोरबेल बज्छ। चन्द्रा हतारहतार डायरी कुसनमुनि छोप्छिन्। सूर्य ढोका खोल्न जान्छन्। चन्द्राको देवरानी शान्ता रहिछन्।)

सूर्य : ओहो ! शान्ता आइछिन् ल।

शान्ता : (हात जोडेर दर्शन गर्छिन्) दर्शन दादा हजुर।

सूर्य : (हात उठाएर आशीर्वाद दिँदै) सौभाग्यवती !

(सूर्य शान्तालाई बाटो छोडिदिन्छन्। शान्ता आएर चन्द्रालाई हातमा ढोग्छिन्।)

शान्ता : दर्शन दिज्यू ! के गरिसिँदैछ ?

चन्द्रा : सौभाग्यवती, सदा सुखी भए ! यसै बूढाबूढी घरसल्लाह गर्दै छौं; के हुनु ?

(सूर्य आएर अघिकै ठाउँमा बस्छन्।)

शान्ता : अनि बाबु खोइ त ?

चन्द्रा : बाबु उता साथी भेट्न गइरछ। बस बस।

शान्ता : (सोफामा बस्दै) धेरै बेर पनि बस्दिनँ दिज्यू। यही बुधबार नातिनीको पास्नी छ आउनुहोला भन्न आएकी।

चन्द्रा : आफ्नै घरभित्र पनि निम्तासिम्ता हुन्छ र ? हामी आइहाल्छम् नि। बरु कहाँ गर्ने हो ?

शान्ता : थापागाउँको कार्की ब्यांक्वेटमा। गेस्टहरूलाई चाहिँ २ बजे बोलाको। हामी घरका मान्छे त १ बजे नै जम्मा हुनपर्छ नि। यसो फोटो सेसन पनि गर्न पर्‍यो। पछि मान्छे आउन थालेपछि भ्याइन्न।

चन्द्रा : (शान्तालाई सुनाउने नियतले) साँच्चि प्लेटको कसरी पर्ने रैछ शान्ता त्यहाँ ? (बाबालाई हेर्दै) यसो बुझ्दै गर्न पर्‍यो नि, हैन बाबा ?

सूर्य : त्यो पार्टी प्यालेस अलि सानो हुन्छ ममी। अरूतिरै बुझ्न पर्छ।

शान्ता : (शंकालु हेराइले) के हो दिज्यू ? यसपालि चैं बाबुले लक्षण देखाउँदैछ कि के हो ?

चन्द्रा : अँ...। त्यसकै बारे त घरसल्लाह हुँदै थियो त दादा र मेरो।

सूर्य : अब यो वर्ष कट्दैन शान्ता। तिम्रो भतिजको जन्ती जाने रहर पूरा हुन्छ अब चैं।

शान्ता : हे हे... दादा हजुर। सानो रहर लाग्या हो त ? घरिघरि त डरै लाग्ने, बाबुले बिहे नै नगर्ने हो कि भनेर। साह्रै खुसी लाग्यो।

चन्द्रा : त्यत्रो गर्लफ्रेन्ड बनार बसेको रैछ अनि उसलाई के हतार त बिहे गर्नलाई ?

शान्ता : आमै, हो र ? हेर हामी चैं यहाँ कम्ता केटी हेर्दै बसेनौं। कुरा नभन्ने के प mेरि हाम्रो बाबु।

चन्द्रा : त्यही त। बल्ल आएर ढुक्क भएको छ नि शान्ता।

शान्ता : केटी के गर्ने रैछे दिज्यू ? कहाँका रैछन् ? अनि परिवार सरिवार कस्तो रैछ ?

चन्द्रा : उतै पढ्ने रैछे। काम पनि गर्दै। (अनकनाउँदै) घर परिवार कहाँ हो सोध्नै भ्याएको छैन, हेर न। भरे भोलि भन्ला बाबुले।

सूर्य : सुवेदीकी छोरी।

शान्ता : शुभ कार्जे सुनाउन आएकी थिएँ, उल्टै शुभ समाचार पो सुन्न पाइयो। डबल खुसी भएँ। अब म जान्छु पनि दिज्यू। कत्ति ठाउँमा त आफैं जानपर्ने छ नि कार्ड बोकेर।

सूर्य : (उठ्दै) चिया खाएर जाऊ न त अनि। म बनाउँछु तिमीहरू गफ गर्दै गर।

शान्ता : हैन हैन दादा हजुर; आज नखाऔं। हतार छ एकदमै। (उठ्छिन्) अब त गफसफ गर्ने, सल्लाह गर्ने बहाना पनि पाइयो। बरु पछि आइराखौंला न। ल यो बुधबारचाहिँ १ बजे जम्मा हुन पर्छ है। अहिले लागेँ म। (यसो शिर निहुर्‍याएर) ल म लागेँ दादा हजुर, दिज्यू। (जाँदाजाँदै) साँच्चि, बाबुलाई भनिदिस्यो है, बधाई छ भनेर। अनि बुधबारको कार्यक्रम पनि भनिदिस्यो।

चन्द्रा : हुन्छ, हुन्छ। भनिदिऊँला।

(सूर्य र चन्द्रा शान्तालाई ढोकासम्म छोड्न आउँछन्। शान्ता गएपछि ढोका बन्द गर्छन्।)

चन्द्रा : म त बाबु आएछ भनेको।

सूर्य : भयो राखिदेऊ डायरी उसकै रुममा लगेर। बढेको छोराको डायरी हेर्नु हुँदैन। आउने बेला पनि भयो अब। रिसाउँछ फेरि।

चन्द्रा : आउनु न हेरौं, बिहे खर्च कति निकालेका रहेछन् ?

(चन्द्रा डायरी झिकेर विवाह खर्च लेखेको पाना पल्टाउँछिन्।)

चन्द्रा : (सूर्यलाई पाना देखाउँदै) यहाँ हेर्नू त। जम्मा १,००० डलर छ बिहे खर्च ? भनेको, नेपालीमा त्यही एक लाख जति होइन ? यहाँ घर किन्ने सेभिङ पर विक भनेर पनि रैछ।

सूर्य : (अचम्म मान्दै) यिनीहरूले किन डलरमा हिसाब निकालेका छन् ममी ?

चन्द्रा : (सोच्दै) अनि उता अमेरिकामै हुँदा गरेको हिसाब हो यो।

सूर्य : उतै बिहे गर्ने भन्ने सोचेर हो ममी। नत्र डलरमै निकाले पनि यहाँलाई पुग्ने गरी धेरै निकाल्थे नि। यहीँको हिसाबले। अनि यो घर किन्ने सेभिङ भन्नाले ?

चन्द्रा : (चिन्ता व्यक्त गर्दै) बाबु त उतै फर्कने हो कि के हो बाबा ?

सूर्य : अब त एक्लै बस्न गाह्रो हुन्छ हऊ ममी। बाबुलाई जसरी हुन्छ यतै बस् भन्नुपर्छ।

चन्द्रा : कत्रो सपना छ यहाँ छोराको बिहे धूमधामसँग गर्ने। नातिनातिना खेलाएर बुढेसकाल बिताउने। कस्तो मन दुखेर आयो मेरो त।

सूर्य : बाबुलाई खाना खान घर बोला भनेर दुइटैलाई सँगै राखेर कुरा गरौं ममी। यो ठूलो समस्या होइन। तिमीहरू जे गर तर बस्नचाहिँ नेपालमै बस भनौं।

चन्द्रा : बाबु त त्यस्तो होला भन्ने सोचेकै थिइनँ।

सूर्य : केटीले पो उतै बस्न कर गरी कि ?

चन्द्रा : पढाइ नसकेसम्म त ठीकै हो बाबा। तर बिहे नै उतै, घरबारै उतै भयो भने त हामीचाहिँ के गर्ने ?

सूर्य : केटीलाई पनि घरै बोला भनेर सल्लाह गरौं ममी।

चन्द्रा : (लामो सास फेर्दै) उफ्... नौ नारी गलेर आयो मेरो त। बाबु आओस् अनि कुरा गरौं, है बाबा ?

(चन्द्राले डायरी ध्रुवको रुममा लगेर राखिदिन्छिन्। अनि भान्छामा गएर खाना बनाउने तरखर गर्छिन्। त्यही बेला ध्रुव आउँछ। )

सूर्य : (बाबुलाई हेर्दै) ए ! आयौ बाबु ?

(ध्रुव सोफामा बस्छ। )

ध्रुव : हजुरहरूले शान्ता काकीलाई के भनिस्या थियो। गुड न्युज सुन्न पाइयो, बधाई छ भन्दै होइसिन्थ्यो।

(चन्द्रा र सूर्य हेराहेर गर्छन्। )

चन्द्रा : (मुसुमुसु हाँस्तै) अँ, नातिनिको पास्नीमा बोलाउन आएकी थिइन्। जहिल्यै हामीलाई तिमीहरूको छोरोको त अहिलेसम्म बिहे नै भाको छैन, हाम्री ह्याँ नातिनिको पास्नी हुन आँटिसक्यो भनेर जिस्क्याएझैं लाग्ने। अनि हामीले पनि हाम्रो छोरोको बिहे गर्ने कुरा भइसक्या छ भनेर भन्देको नि। त्यति भएपछि उनको पनि मुखमा बुझो लाग्छ, भनेर।

ध्रुव : (झर्को माने जसरी) हजुरहरू फेरि कुरै नबुझी किन बोलिस्या त ?

सूर्य : हामीले कुरा बुझिसक्या छौं बाबु।

ध्रुब : (अलि अचम्म र अप्ठेरो माने जसरी) के बुझिसकिस्या छ ? मसँग यसबारे केही कुरा नै गरिस्या छैन हजुरहरूले।

चन्द्रा : त्यही कुरा, सल्लाह गर्न तिमीसँग फुर्सद पनि त छैन नि। त्यही भएर हामी आफैंले कुरा पत्ता लगाउनु परेको।

सूर्य : (चन्द्रालाई पिलिक्क हेर्छन्।) यो त थाहा हुने कुरा नै हो नि बाबु। बरु बोलाऊ न उसलाई हाम्रो घरमा खाना खान। सल्लाह गरौं। तिमीहरू खुसी भए हामी पनि खुसी। हामीहरू खुसी भए तिमीहरू पनि खुसी हौला।

ध्रुव : (छक्क माने जसरी) हजुरहरूलाई कसरी थाहा भयो ?

चन्द्रा : हामी तिम्रा बाउआमा हौं बाबु। बाबुआमाबाट केही कुरा लुक्न सक्दैन। बरु बोलाऊ न त तारालाई पनि बाबाले भनिसे जस्तै। कुराकानी गरौं। सल्लाह गरौं।

ध्रुव : हजुरहरूलाई केही प्रब्लम त छैन नि ?

सूर्य : के प्रब्लम हुनु र ? अब तिमीहरूको मन मिल्या छ, तिमीहरू खुसी हुन्छौ भने त हामी त तिमीहरूको मुख हेरेर खुसी हुने हो। बरु भोलितिरै बोलाऊ लन्चका लागि।

ध्रुव : (अचम्म मान्दै र खुसी हुँदै) हवस्/

सूर्य र चन्द्रा उज्यालो मुख लगाउँछन्।


दृश्य ३

सूर्य र चन्द्रा भान्छामा काम गर्दै छन्। दुवै एकदमै खुसी देखिन्छन्।

सूर्य : (चपिङ बोर्डमा केही काट्दै छन्) तिम्री मितिनी परिछिन् बुहारी त। भेजिटेरियन संघ खोल्नू पछि तिमीहरू सासूबुहारी मिलेर।

चन्द्रा : (कराईमा तरकारी पाक्दै हुन्छ। चन्द्रा डाडुले चलाउँदै छिन्) डर पो लाग्दै छ त, बाबा। कतै हामी उतै बस्ने हो भनिदिए भने हामी हिस्स पर्ने त होइनौ ? कस्ती छे केटी ? न हामीलाई नटेर्ने साह्रै जिद्दी पो छे कि ?

सूर्य : मलाई त हाम्रो बाबुप्रति विश्वास छ। उसले पक्कै पनि हाम्रो मन दुखाउने छैन। उसले बुहारीलाई सम्झाउला नि। हामीलाई नेटेरे पनि बाबुलाई त टेर्ली नि। बरु बाबु अलिअलि डराएको र अलिअलि लजाएको हो, उसले नभन्दै हामीले थाहा पायौं।

चन्द्रा : आ... अलि अलि त डर र लाज भकै पनि बाउआमासित। नत्र पेल्छन्। (कचौरामा कराईबाट अलिकति पनिर झिकेर सूर्यलाई दिँदै) चाख्नू त बाबा, नुन मसला कत्तिको लाको छ ?

सूर्य : (चाख्दै) ए वान छ ममी, ए वान।

चन्द्रा : (यताउति हेर्दैै) किचनमा त लगभग सबै काम सकियो बाबा। अब लिभिङ रुम टाकटुक मिलाऔं।

सूर्य : (बैठक कोठाको भित्तामा झुन्ड्याएको घडी हेर्दैै) अब त आइपुग्ने बेला पनि भयो, कोठा टाकटुक मिलाम्।

(सूर्य र चन्द्रा बैठक कोठा र भान्छा मिलाउन थाल्छन्। चन्द्रा भित्रबाट नयाँ पाँचवटा कुसनको खोल लिएर आउँछिन् र सोफामा भएका कुसनका खोल फेर्न थाल्छिन्।)

सूर्य : (गलैंचामा ओछ्याएको तन्ना झिकेर पट्याउँछन् र चन्द्रालाई कुसनको खोल फेर्न सघाउँदै) मलाई त अहिल्यै बिहे हुन लागेझैं धौधौ पो लागिरहेछ ममी ?

चन्द्रा : के गर्नु, बुहारीलाई इम्प्रेस गरेर यतै बसौं भन्ने बनाउनु छ। अब त बिहे नै सुरु भयो भन्दा पनि भइगयो नि। (कुसनको खोल जम्मा गर्दै छिन्)।

सूर्य : (पुछपाछ गर्न थाल्छन्।) त्यही त, अब यिनीहरूसँग कुराकानी गरेपछि केटी माग्न जाने औपचारिकता पनि गर्नुपर्‍यो। त्यसैले यो पनि बिहे कै तयारी त हो नि।

चन्द्रा : (झल्यास्स केही सम्झेझैं हुन्छिन्) बाबा खतरा कुरा पत्ता लाएँ नि मैले !

सूर्य : (उत्साहित हुँदै) के ममी ?

चन्द्रा : (मक्ख पर्दै) हजुरको नाम सूर्य, मेरो नाम चन्द्रा, बाबुको नाम ध्रुव, अनि बुहारीको नाम तारा। नाम पनि कस्तो मिलेको। यो सबै लेखेकै हो जस्तो लागिहरेछ। भगवान्ले नै जुराएका हुन् यो मीठो संयोग।

सूर्य : आहा ! हामी चन्द्र–सूर्य, बाबु र बुहारी ध्रुवतारा/जुराकै हुन् भगवान्ले।

चन्द्रा : है ! ल भयो बाबा। सफा भयो अब। नयाँ दुलही आउने घर, दुलहीजस्तै चिटिक्क पर्‍यो।

(तन्ना र कुसनका खोलभित्र राखेर आउँछिन् चन्द्रा। सूर्य टेबलतिरको धुलो पुछ्दै गर्छन्। त्यही बेला डोरबेल बज्छ। सूर्य र चन्द्रा हेराहेर गर्छन्। दुवै जना एकैचोटि ढोकातिर जान्छन्। चन्द्राले ढोका खोल्छिन्। पहिले ध्रुव भित्र पस्छन्। ध्रुवको पछिपछि अर्को केटा पनि पस्छन्। नयाँ केटालाई सूर्य र चन्द्राले ध्रुवको साथी सोच्छन्। नयाँ साथीले सूर्य र चन्द्रालाई नमस्कार गर्छन्।)

सूर्य : (यताउति हेर्दै) खोइ त बाबु तारा ?

(ध्रुव केही बोल्दैनन्। गम्भीर हुन्छन्।)

चन्द्रा : (केही डराउँदै, केही उत्साहित हुँदै) खोइ त बाबु हाम्रो हुनेवाला बुहारी तारा ?

ध्रुव : (धकाउँदै र डराउँदै कामेको आवाजमा) तारा उही हो ममी/

(चन्द्रा र सूर्य केही बोल्न सक्तैनन्। ध्रुवले फेरि भन्छ)

ध्रुव : हजुर बाबा, तारा उही हो; तपाईंहरूको बुहारी/

(सूर्य र चन्द्रा एकाएक फ्रिज हुन्छन्। त्यसपछि ध्रुव र तारा पनि फ्रिज हुन्छन्।)

अंग्रेजी साहित्यमा विद्यावारिधि शोधरत प्रतीक्षाको ‘क्लेशा’ नाटक मण्डला थिएटरमा मञ्चन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.