सुरसुधाको संगीत कूटनीति
२०औं शताब्दीको अन्तिम दशकमा विश्वमा धेरै परिवर्तन भएका थिए। बर्लिन पर्खाल भत्काएर पूर्व र पश्चिममा विभाजित जर्मनी एक बनेको थियो भने सोभियत संघ विखण्डित भयो। त्यसैगरी दक्षिण अफ्रिकामा प्रजातन्त्रवादी नेता नेल्सन मन्डेलाको उदय भयो। यसैबीच नेपालमा पनि तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य भई प्रजातन्त्र पुनःस्थापना भएको थियो। यो समय राजनीतिक अवस्थामा उथलपुथल भए पनि पाश्चात्य संगीत क्षेत्र सामञ्जस्यपूर्ण थियो।
पाश्चात्य संगीतका ब्लुज, ज्याज, कन्ट्री, रक, डिस्को, रेगी, पप, हेभीमेटल जस्ता विविध विधा आआफ्नै प्रशंसकसँगै सौहार्द रूपमा बजिरहेकै थियो र हिपहप, र्याप, अनि अल्टरनेटिभ लगायतका अरू विधा पनि गुञ्जिन थालेको थियो। यसरी संगीतका विविध रूपले पाश्चात्य सांगीतिक क्षेत्र घन्किरहेकै थियो र संगीतप्रेमी विश्व समुदायलाई आफूतिर खिचिरहेको थियो, जुन आज पनि यथावत छ।
यता २०औं शताब्दीको नब्बेको दशकमा नेपालीको घरघरमा पनि रेडियो सेटलाई इक्विलाइजर भएको क्यासेट प्लेयरले विस्थापन गरिँदै थियो। रेडियो नेपालको मोनो टाइपका आधुनिक गीत उक्त प्लेयरमा बजाउँदा कर्कश लाग्न थालेको त्यो अवस्थामा पप (अत्याधुनिक) संगीतको उदय भएको थियो। नयाँनयाँ रेकर्डिङ स्टुडियोको स्थापना र होटल र रेस्टुराँमा कभर भर्सन गाउँदै आएका सांगीतिक समूह (ब्यान्ड)हरूले समेत एल्बम निकाल्न थालेका थिए। यसरी नेपाली सांगीतिक क्षेत्रमा ब्यान्ड र अत्याधुनिक गीत जोडतोडले ढ्यांग्रो पिटिरहेको बेला शास्त्रीय तथा लोक धुन वाद्यसमूह सुरसुधाले आफ्नो पहिचान फराकिलो बनाउँदै थियो। गत शताब्दीको ८० को दशकको मध्यबाट जब समूहले काठमाडौंको तारे होटलमा विदेशी पाहुनाका लागि नेपाली माटोको धुन बजाउने गथ्र्यो, तब सुरसुधा समूहको स्थापना भएको थियो।
समूहका संस्थापक सदस्यमध्ये एक प्रेम राना औतारी भन्छन्, ‘वरिष्ठ गायक हरिप्रसाद रिमालले सुरसुधाको नाम जुराउनुभएको हो।’ समूहका बाँसुरीवादक प्रेम रानाको जीवन यात्रा चलचित्रको कथाजस्तै रंगीन छ। उनी पण्डित हरिप्रसाद चौरासियाका ‘एकलव्य’जस्तै शिष्य हुन्। उनी आफ्नो विगत सम्झँदै भन्छन्, ‘हातमा एउटा बाँसुरीबाहेक मसँग केही पनि थिएन, मात्र अन्तिम स्टेसनसम्म पुग्ने धोकोले चढेको रेलले बम्बै (मुम्बई) पुर्याएको थियो।’
‘गाउँघरमा बाँसुरी फुक्थेँ नै, त्यहाँ बाटोमा बजाएको बाँसुरीले विश्वप्रसिद्ध बाँसुरीवादक हरिप्रसाद चौरसियासम्म पुर्याएको थियो। त्यो फुच्चेलाई हरिप्रसाद चौरसिया भन्ने को हो पनि थाहा थिएन।’ उनी भन्छन्। पण्डित चौरसियाको सान्निध्यमा रहेर बाँसुरीलाई आफ्नो वशमा राख्न सफल उनले सुरसुधाका लागि मात्र धुन फुक्दै आएका छैनन्, नेपाली सुगम संगीतको स्वर्णिम युगका प्रायशः लोकप्रिय गीतमा उनैले श्वास फुकेका छन्। उनले फुकेको बाँसुरीको धुनमा लाखौं गोपिनीमात्रै होइन हजारौं मानिस मदहोश भएका छन्।
यसैगरी त्यो कालमा भारत, पाकिस्तानमा प्रचलित गजलले संगीतपारखीलाई मन्त्रमुग्ध बनाइरहेको थियो नै, त्यसैबीच १९९० को पूर्वाद्धमा पूर्वीय वाद्यवादनका धुनहरूले पनि विश्व संगीत क्षेत्रलाई तरंगित बनाउन थालेको थियो। पण्डित हरिप्रसाद चौरसिया, उस्ताद जाकिर हुसैन, उस्ताद अमजद अलि खान, रवि शंकरजस्ता हस्तीका धुन तथा वादनले विश्वलाई पूर्वीय संगीतप्रति आकर्षित गरिरहेको त्यो सुनौलो घडीमा नेपाली माटोको सुगन्ध बोकेको सुरसुधाले नेपाली संस्कृतिलाई डाँडापारि पुर्याएको थियो। यसरी नेपाली संगीतको नयाँ अध्यायको आरम्भमा सुरसुधाले नेपालीपनको लोक धुनका साथै पूर्वीय शास्त्रीय संगीतलाई दिग्गज भारतीय तथा पाकिस्तानी कलाकारबीच पनि सफल प्रतिस्पर्धासँगै विश्वमा पहिचान बनाउन सफल भएको थियो।
सुरसुधाले सन् १९९१ मा पहिलो एल्बम विश्वसामु सार्वजनिक गरेको थियो। विश्वका नामी सहर र सभा हलमा हजारौं सांगीतिक प्रस्तुति दिइसकेको सुरसुधाले मेलोडिज अफ नेपाल, इमेज अफ नेपाल, फेस्टिवल अफ नेपाल, थर्ड आईलगायतका (एल्बम) संग्रहहरू प्रस्तुत गरेका छन्। ‘शास्त्रीय संगीत र नेपाली चाडबाडसम्बन्धी धुन र नेपाली लोक धुन नै अन्तर्राष्ट्रिय मञ्चमा प्रसार गर्ने लक्ष्यले स्टेजमा प्रस्तुति दिएसँगै संग्रहहरू पनि प्रकाशित गरेका हौं’, अर्का संस्थापक सदस्य तबलावादक सुरेन्द्र श्रेष्ठको भनाइ छ। बुवा वकिल रामगोपाल श्रेष्ठको भजनकीर्तनप्रतिको सोख व्यवस्थापनका विद्यार्थी सुपुत्र सुरेन्द्रमा सानैदेखि रुचि बन्न पुगेको थियो। यही बाल्यकालदेखिको रुचिलाई गुरु वरिष्ठ तबलावादक राजु अग्रवालबाट तबला सिकेका उनले सुरसुधाको व्यवस्थापन गर्दै आजको दिनसम्म ल्याइपुर्याएका छन्।
सितार, तबला र बाँसुरीको मात्र धुन गुञ्जिने सुरसुधामा पछिल्लो समय गितारको धुन पनि झंकृत हुन थालेको छ। हुन त सुरसुधाले वरिष्ठ गितारवादक अनिल शाहीसँग मिलेर पनि धेरै मञ्चलाई आफ्नो बनाएका थिए नै, अहिले स्थायी रूपमै गितार थपिएको छ। सन् २०१० देखि युवा गितारवादक विकास सुनवारले सुरसुधाको नौलो आयाममा साथ दिइरहेका छन्। श्रेष्ठ भन्छन्, ‘गितार, पियानो विश्वकै लोकप्रिय बाजा हुन्, गितारले संसारका संगीतप्रेमीलाई छिटै आकर्षित गर्छ। गितार बजाए पनि नेपाली संगीत नै बजाउने हो, सुरसुधाको लक्ष्य र ध्येयअनुसार नै गितारको धुन सुनाउने हो। योसँगै गितार र तबला अनि सितारबीचको जुगलबन्दी हेर्न, सुन्न दर्शक तथा श्रोता लालायित भएका छन्।’ नेपाली संगीतको विकास चरणमा पोखरेली र नेपालभन्दा पूर्वका नेपाली भाषीको योगदान अतुलनीय छ। विकासको आधार पनि त्यही हो र उनले सुरसुधाबाहेक नेपाली गीतहरूमा संगीत संयोजन पनि गर्दै आएका छन्।
हाल गितार थपिए पनि सुरसुधाका पुराना प्रशंसकलाई सुरसुधा तीनवटा बाजा र त्रिमूर्तिको समूह भन्ने छाप गहिरो छ। सुरसुधा भनेको तबला, सितार र बाँसुरीको धुनको समूह भनेर चिनिएको थियो। त्यो नब्बेको दशकमा कहीँकतै धुनमात्र बजिरहेको सुनेको खण्डमा जो कोही नेपालीले यो सुरसुधा हो भनेर सजिलै अनुमान लगाउँथे। सुरसुधा आममानिसको मनमा बसेको थियो नै विदेशमा पनि लोकप्रियता आर्जन गरेको थियो।
यसै सुरसुधाका अर्का संस्थापक हुन्, वरिष्ठ सितारवादक तारावीर तुलाधर। उनी सुरसुधा समूहमा आबद्ध रहँदारहँदै पनि उनको एकल या अरू वरिष्ठ वाद्यवादकसँग विदेशमा प्रस्तुतिका कारण व्यस्त रहेपछि सुरसुधामा सितारवादकको रूपमा विजय वैद्यको प्रवेश भएको थियो। विजय वैद्यको आगमनपछि सुरसुधाले धुनका संग्रहहरू श्रोतासमक्ष ल्याएको हो। त्यो क्यासेटको जमाना थियो र आज कम्प्याक्ट डिस्क (सीडी) लुप्त हुनुअघि त्यो समयमा भर्खरै उदयसँगै महँगो पर्ने सीडीमा समेत सुरसुधाको संग्रह पाइन्थ्यो।
विजय वैद्यपछि सुरसुधाबाट छुट्टेर पूर्वीय साधन सितारलाई लिएर रक सितारको रूपमा प्रस्तुत भएका थिए। उनले सितारलाई आफ्नै ढाँचामा ढाली रकसितारिस्टको रूपमा आफूलाई प्रस्तुत गर्दै उठेर मात्रै होइन दाँतले समेत बजाउन थालेका थिए। तर, अब उनको बेजोड प्रस्तुति चाहेर पनि फेरि देख्न पाइनेछैन। उनको २०७५ चैतमा निधन भयो। चुरोटका अम्मली विजयबारे समूहका दुई सदस्य सुरेन्द्र तथा प्रेम एकै स्वरमा भन्छन्, ‘विजय हामीसँग नछुट्टिएको भए अझै पनि सँगै हुन्थ्यो होला, हामीसँग हुँदा जे जसो भए पनि कम नै खान्थ्यो।’ हाल सुरसुधामा विजय वैद्यको ठाउँ राजीव श्रेष्ठले लिएका छन्। उनी सुरसुधा संगीत विद्यालयमा कुनै दिन सुरसुधाजस्तै समूह खोल्ने सपना बोकेर सितार सिक्न गएका थिए। त्यसपछि उनले आफ्ना साथीहरूसँगै बजाउँदै चीनसम्मको पनि यात्रा तय गरेका थिए। उनले चीनको कान्सु प्रान्तको एक होटलमा केही महिना सितार पनि बजाए। पछि उनी आफैं विश्वप्रख्यात सुरसुधा समूहमा आबद्ध भए। राजीव विगत आठ वर्षदेखि सुरसुधासँगै छन्। त्यसैगरी विश्वप्रख्यात समूह बिटल्सका सदस्य रिङो स्टार सँगसँगै पनि उनले आफ्नो क्षमता देखाइसकेका छन्।
पछिल्लो समयमा सुरसुधाले देशविदेशमा पूर्वीय रागआधारित धुन र नेपालको परम्परागत लोकधुनहरूको मात्र प्रचारप्रसार गर्दै आएको छैन, काठमाडौंको हिन्दू र बौद्ध धर्मको संगमलाई पनि लयबद्ध गर्दै आएको छ। धार्मिक स्तुति र श्लोक पनि सुमधुर र मनमोहक आवाजमा पस्किँदै आएको छ। भारतीय म्युजिक कम्पनीले १९९० को दशकमा नै आममानिसलाई बर्जित भनिएका साथै कुनै काल र समयमा वाचन गरिने भन्ने श्लोकहरूलाई धुनबद्धसमेत गरेर संगीत बजारमा प्रस्तुत गरेको थियो। त्यसै गरी नेपालमा करिब १५ वर्षअघि आनी छोइङ डोल्माको यस प्रयासलाई सबैले सराहना गरेका थिए।
सन् २०१४ देखि सुरसुधाले पनि आफ्नो समूह विस्तार गर्दै गायिकाका रूपमा अर्को सदस्य थपेको छ। गायिका सरस्वती खत्री विश्वविख्यात समूहमा आबद्ध हुन पाएर निकै खुसी छिन्। उनी भन्छिन्, ‘यो त मेरो लागि सौभाग्यकै कुरा हो नि, मलाई सुरेन्द्र श्रेष्ठ सरले नै एप्रोच गर्नुभएको हो।’ उनी सुरेन्द्रकै विद्यार्थी पनि हुन्। सुरसुधालाई किन स्वरको खाँचो पर्यो त भन्दा सुरेन्द्र भन्छन्, ‘गीत गाउँदाखेरि उपस्थित दर्शक पनि सहभागी हुन पाउँछन्, आफूलाई मन पर्ने गीत स्टेजमा सँगसँगै गुनगुनाइने क्षण अविस्मरणीय हुन्छ भन्ने लाग्छ। त्यसबाहेक श्लोक र स्तुति वाचन या गाएरै सुनाउनुपर्ने हुन्छ।’ उनी थप्छन्, ‘यसबाहेक विभिन्न ठाउँ र देशमा सांगीतिक कार्यक्रम गर्ने अवसरमा त्यहीँको स्थानीय भाषाका गीतहरू गाउँदा श्रोता–दर्शकसम्म छिटो पुग्न सकिन्छ, एउटा सम्पर्क बन्न जान्छ। सहसंवेद्यता सिर्जना हुन पुग्छ।’ गायिका सरस्वतीले सुरसुधामा आबद्ध भएपछि युरोप, अमेरिका तथा एसियाली देशमा प्रस्तुति दिने क्रममा त्यही देशका भाषामा पनि केही गीत गाउने गरेकी छन्। उनले १२÷१५ वटा भाषामा गीत गाइसकेकी छन्।
गत असोजमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपालको राजकीय भ्रमण क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सीको सम्मानमा आयोजित रात्रिभोजको अवसरमा पनि सुरसुधाले आफ्नो संगीत प्रस्तुत गरेको थियो जसमा गायिका खत्रीले चिनियाँ गीतसमेत गाएकी थिइन्। सो अवसरमा सीले धेरै पटक ताली पिटेका र विशेष रुचि देखाएका थिए। योसँगै पछिल्लो समयमा चिनियाँ जनतामाझ सुरसुधा परिचित नाम बनेको देखिन्छ। सन् २००० मा पहिलो पल्ट उत्तरी छिमेकी चीनको राजधानी बेइजिङमा प्रस्तुति दिएको सुरसुधाले बीस वर्षको अवधिमा चार, पाँच पटक चीनको भ्रमण गर्दै विभिन्न सहरमा प्रस्तुति दिइसकेको छ।
यसैगरी सुरसुधाको दक्षिण छिमेकी भारतमा सांगीतिक आदानप्रदान बेहिसाब छ। प्रस्तुतिमात्रै होइन; संगीत सिक्ने, सिकाउने र अनुसन्धान र अध्ययन र सहकार्य हुँदै आएको छ। सुरसुधाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पनि धेरैपटक प्रस्तुति दिइसकेको छ। साथै समूहकी गायिका सरस्वतीले गाएको एक हिन्दी भजनलाई प्रधानमन्त्री मोदीले ट्विटसमेत गरी गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भ्रमणको स्मृति ताजा भएको उल्लेख गरेका थिए। यसर्थ सुरसुधा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धन गर्न पनि सफल देखिन्छ।
यी दुई छिमेकी मुलुक चीन र भारतबीच सांस्कृतिक दूत सुरसुधाले मित्रता तथा सौहार्दताको प्रसार गरेको एउटा उदाहरण मात्र हो। नेपाल भ्रमण वर्ष २०११ मा सुरसुधालाई नेपाल सरकारले नेपाल पर्यटन सद्भावना दूतको सम्मान पनि दिएको थियो।
संगीतको सांसारिक सीमारेखा हुँदैन, यो असीमित हुन्छ तर सुर र ताल ब्रह्माण्डकै एउटै हुन्छ। सुरसुधाले अन्तर्राष्ट्रिय मञ्चमा यही सुर र तालको नेपालीपनको प्रतिनिधित्व गर्दै आएको ३० वर्षभन्दा बढी भइसकेको छ। सुरसुधाले संगीतको माध्यमबाट विश्वको कुनाकाप्चासम्म नेपालको नाम अझै फैलाउँदै जानेमा सन्देह छैन।