ज्ञानमणि नेपालको ‘महाभारत’
विसं १९८९ को श्रीपञ्चमीका दिन जन्मेका इतिहासकार ज्ञानमणि नेपालले अघिल्लो साता ८८ वर्ष टेकेका छन्। यो उमेरमा पनि उनको अनुसन्धानमूलक लेखपढ जारी छ। तर, पाण्डुलिपि–पुस्तकबारेको पीडा उनमा भारी छ।
‘हेर्नुस् न, कति राम्रो नाम थियो— वन्दना। अहिले यसलाई नाम बदलेर क्र्याम्ब्रिज इन्टरन्यासनल कलेज कि के भन्छन्, बनाएका छन्, यहीँनेर आएर मलाई फोन गर्नुहोला’, उनले आफ्नो घरको ठेगाना दिए।
त्यहाँनेर पुगेर मैले उनलाई फोन गरिनँ। राजनीतिजीवीको नाम सोधेको भए टाढ्टाढाका छरछिमेकले पनि एकैपटकमा चिन्दथे होला। तर, नेपालको ज्ञानका मणि अर्थात् ज्ञानमणि नेपाललाई भने चौथो सोधपुछपछि छिमेकीले चिने र घर देखाइदिए। सोध्दैपुछ्दै म उनको घरै मात्र हैन, अध्ययन–शयनकक्षमै पुगेँ। उनी कविराजसित थिए। कागतपत्र, कापी, किताबले झन्नै पुरिएका, बसी बसी लेख्न मिल्ने होचो टेबलमुनि मणि भुइँमा टुक्रुक्क–कुक्रुक्क थिए।
यो यही कोठा हो, जुन २०७० चैत १५ गते बिहान आगलागीमा परेर ‘दुई तिहाइ’ नष्ट भएको थियो।
‘तल भाडामा बस्ने मान्छेले कार्पेट टाँस्ने ज्वलनशील पदार्थ (डेन्ड्राइट) धेरै नै राखेको रहेछ। त्यहीँबाट सल्केको आगो यहाँसम्म आयो’, उनले भने, ‘आगो यो भन्दा माथिल्लो तलासम्म पुगेको भए मेरा पाँच–सातवटा दराजका सबै पुस्तक नासिन्थे। मेरा केही किताब र पाण्डुलिपि नष्ट भए।’ (घरमा भौतिक क्षति धेरै भएको थियो, तर ज्ञान–मणि न परे, बौद्धिक सम्पत्तिको मात्र कुरा गरे।)
आगजनीमा परेर पशुपतिबारे आफूले लेखेका पाँचवटा कापी पूरै जले। बुद्ध महापरिनिर्वाण सूत्र पालि–संस्कृत–नेपालीमा अनुवाद गरेका थिए। त्यो पनि नष्ट भयो। यही कोठामा रहेर पनि बचेका दुई ‘भाग्यमानी’ सामललाई उनले तुरुन्तै राष्ट्रिय अभिलेखालयमा पठाइदिए। बचेका ती दुई थिए— पुरानो नेपालीमा लेखिएको भक्तिकाण्ड रामायण र चीन यात्रा वर्णन। घरमा आगलागी भएपछि उनी एक महिना भाइको घरमा बसे।
उनको चर्चित पुस्तक छ, ‘नेपालको महाभारत’। पाण्डुलिपिलाई लिएर यी नेपाल बूढाको जिन्दगीमा पनि महाभारतै छ। उनका किताब घरि जल्छन्, घरि पाण्डुलिपि चोरिन्छन्, घरि हराउँछन्। ज्ञानमणिलाई ज्ञानले आनन्द दिए पनि सुख भने दिएको छैन।
यही पुस १९ मा दिवंगत पुरातत्वविद् तारानन्द मि श्रबाटै कुरा सुरु भयो। ज्ञानमणिले धर्मस्वामी (भोटका लामा)को मूल पाठबाट उल्था गरेको ‘भोट, भारत र नेपालको यात्रा वर्णन’ मि श्रको नाउँमा छापियो। एकेडेमीमा पठाएको पाण्डुलिपि कसरी मि श्रले आफ्नो नाममा छापे त ? ‘एकेडेमीले मूल्यांकन गर्न मि श्रलाई पठाएछ, मि श्रले फिर्ता गरेन, अर्कै प्रकाशनबाट छापिहालेछ, अनुवादक तारानन्द मि श्र भनेर’, ज्ञानमणिले भने, ‘मैले लेख लेखेँ पनि। उसले केही प्रतिक्रिया दिएन। एकचोटि बाटोमा अकस्मात् भेट भएको थियो, चोर चोर भनिदिएँ। घोसे मुन्टो लाएर भाग्यो ऊ।’
ज्ञानमणिले अर्काे यस्तै तीतो घटना पनि सुनाए। उनका अनुसार ‘पृथ्वीन्द्रोदय’ महाकाव्य उनले बीसौं वर्ष लगाएर सम्पादन गरे। छाप्ने स्रोत पनि उनी आफैंले खोजेका थिए। छापिने बेला उनी एक दिन प्रज्ञा–प्रतिष्ठान–प्रेसमा पुगे। जे देखे— उनी छानाबाट खसेजस्तो भए। तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेतीलाई भने— मैले १५ वर्षभन्दा बढी लगाएर तयार पारेको यसमा १५ दिनभित्रै विष्णु प्रभातको नाम कसरी ?
‘ए...’ भनेर उपकुलपतिले प्रभातको नाम त काटे तर ज्ञानमणिले ‘उदयानन्द अर्जेल’ लेखेर पठाएको किताब ‘पं. उदयानन्द अज्र्याल’ भएर आयो, ज्ञानमणिसितको सल्लाह र सहमतिबिनै।
ज्ञानमणिलाई ज्ञान परम्परासित जोडिएका मान्छेहरूको मुख्र्याइँ र छुच्याइँ देखेर कन्सिरी तातिएको रहेछ। निष्काम कर्मजीवी, अनुशिष्ट अध्येता इतिहास–मणि जो बहुदल कालमा एकेडेमीमा प्राज्ञ भए, अहिले आजीवन सदस्य छन्, उनीसम्मले भोग्नु परेको पीडा एउटा विवेकशील राज्यमा लाजमर्नु कर्म हो।
तर कथाकार मनु ब्राजाकीले ‘आमालाई बेच्नुहुन्न लाटा’ कथासंग्रहको पाण्डुलिपि एकेडेमीलाई बुझाएको प्रमाण देखाउँदा देखाउँदै बितेर गए। पाण्डुलिपि भेटिएन।
हालै छापिएको विजय मल्लको ‘मान्छेको नाच’ कथासंग्रहको सम्पादकीयमा अविनाश श्रेष्ठले लेखेका छन्, ‘पाण्डुलिपि कसैले हरायो पनि भनेन र आठदस वर्षसम्म त्यही पाण्डुलिपि खोज्न बीसौं चालीसौं पटक मैले जिम्मेवार व्यक्तिहरूलाई प्रज्ञाभवन पुगेर ताकेदा गर्न पनि छाडिनँ। पाण्डुलिपि आकाशले निल्यो कि जमिनमा भासियो ? कसैगरी फिर्ता पाउन सकिनँ।’ २०५५ पुसमा एकेडेमीले निर्णय नं. ५२ अन्तर्गत छाप्ने निर्णय भएको पुस्तक फेरि अनेक पत्रिका खोजेर, संकलन गरेर, भूमिका फेरि लेखेर बल्लतल्ल २०७६ मा छापियो।
ज्ञानमणिको तीतो शृंखला यत्तिमै टुंगिँदैन।
ज्ञानमणिका अनुसार एकेडेमीबाटै छापिएको ‘तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू’ (लुच्यानो पेतेक) को अनुवाद–संयोजनको काम ज्ञानमणिले गरेका थिए। तर, पुस्तकमा आफ्नो नाम सम्मानजनक रूपमा नदेख्दा ज्ञानमणिलाई एउटा श्लोक सम्झना भयो—
राजनीति यदासम्यक् शास्टारमधि तिष्ठति
तदा विद्या विद: सर्वे शेषा विद्या उपासते
(भावार्थ : जुन बेला असल शासकले यो देशमा शासन गर्छ त्यस बेला सबै विद्वान्ले आआफ्ना विषय–विद्याको उपासन गर्छन् र राम्रो हुन्छ।)
नयराज पन्तले सुरु गरेको संशोधन मण्डल पाठशालाबाट दीक्षित इतिहासकार हुन्, ज्ञानमणि। नेपालको इतिहासको शुद्ध्याइँमा केन्द्रित भएर आफ्नै चालढाल, रंगढंग र साधनस्रोतले लेखपढ गरिरहेका थिए, उनी।
यसैबीच त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययनन केन्द्र (सिनास) (पुरानो नाम : नेपाल तथा एसिएन अध्ययन संस्था (इनास)। अझ पुरानो नाम : इन्स्टिच्युट अफ नेपाल स्टडी) का निर्देशक डोरबहादुर विष्टले ज्ञानमणिलाई बोलाए। ज्ञानमणि भन्छन््, ‘उनीसित मेरो सिद्धान्त मिल्दैनथ्यो। मलाई लाग्यो, कसैको सहायक बनाउलान्। पञ्चायत छ, यसबारे यसो उसो लेख भन्लान्। म गइनँ।’ विष्ट आफू जेठ महिनामा नियुक्त भएका थिए। ज्ञानमणिलाई असारमा बोलाए। ज्ञानमणि गएनन्। साउनमा बोलाए। गएनन्। भदौमा त खबर मात्र हैन, मान्छे नै पठाए— पूर्णप्रकाश नेपाललाई।
जाउलाखेल घरमा विष्टले भने— ज्ञानमणिजी तपाईंलाई मैले कति पटक खबर पठाएँ। आउनुभएन। तपाईं किन आउनुभएन, त्यो पनि मलाई थाहा छ। कसैको सहायक बनाउला, सोचेजस्तो काम गर्न नपाइएला, आफूले गरिरहेको काममा बाधा पुग्ला भनेर तपाईं आउनुभएन, हैन त ?
ज्ञानमणि छक्क परे। भने— कसरी थाहा पाउनुभयो ?
विष्ट : यत्ति कुरा थाहा नपाउने भए राजाले मलाई डाइरेक्टर कसरी बनाउँछन् ?
ज्ञानमणि : मैले के काम गर्ने ?
विष्ट : अहिले जे गरिरहनुभएको छ, त्यही गर्नुस्।
यसरी ४४ वर्षको उमेरमा ज्ञानमणि कुर्सीमा बसेर काम गर्न थाले। पाँच ग्रेड थपिएको उपप्राध्यापकमा करार नियुक्ति पाए, सुरुमै।
ज्ञानमणिले सिनासमा रहेर १७ वर्ष अनुसन्धान–लेखन गरे। भन्छन्, ‘विष्टसित बाझाबाझ पथ्र्याे। फेरि सधैं हार्दिकता हुन्थ्यो। अहिले त आफ्नो पार्टी र गुटको हो कि हैन ? पार्टीकै पनि सबैभन्दा निम्छरो छ भने मात्र उसले नियुक्ति पाउँछ।’ यो देखेर ज्ञानमणिलाई झोँक चल्छ। (केदारभक्त माथेमालाई पनि झोँक चल्छ।)
सिनासमा रहँदा ज्ञानमणिले १३ वटा पाण्डुलिपि तयार पारे। दुईवटा मात्र छापिए। अरू हराए। हराए पनि के भन्नु चोरिए। भन्छन्, ‘मेरो दराज फोडेर मैले लेख्दै–राख्दै गरेका खेस्रा खेस्रा सबै उडाइयो।’
उनी आफू यसरी चोरिनुमा आफ्नो रिस गरेको भन्ठान्छन्। भने, ‘मैले बटुलेका सबै महत्वपूर्ण अभिलेख, लालमोहर चोरियो। पुरातत्व विभागजस्ता अनेक अड्डा चहार्दै, धुलो टक्टक्याउँदै संकलन गरेका कागतपत्र लुटिए। आठ सय पृष्ठको दस्तावेज थियो, गायब पारियो। कहाँबाट लुटिए भन्दा, विद्याको मन्दिरबाट। कसले भन्दा, इमानदारी र अनुशासन सिकाउने शिक्षकबाट।’
नेपालको महाभारत !