'अख्तियारलाई सरकारले प्रभावित बनायो'
भरतपुर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप लगाएका हुन् ।
नेता सिंहले अख्तियारले निश्पक्ष र स्वतन्त्र तवरले काम गर्न नसकेको बताए । आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई राजनैतिक प्रतिशोधले मुद्धा चलाएको आरोप लगाए ।
‘सुन्दै अचम्म लाग्ने कुरा क्याबिनेटको चिफ प्रधानमन्त्रीलाई केही नगर्ने, एउटाले फिर्ता गरे भनेर उन्मुक्ति पाउने अरुलाई छानीछानी मुद्धा लगाउने’, उनले भने, ‘मुख्य नाइकेलाई केही नगर्ने अरुलाई छान्दै मुद्धा लगाउने गरेको देखियो , अख्तियारलाई सरकारले प्रभावित बनाएको छ।'
जग्गा प्रकरणमा निर्णय गर्ने मन्त्रिपरिषदका प्रमुख प्रधानमन्त्रीलाई जोगाएर अरुलाई मुद्धा चलाउनु बदनियतपूर्ण काम रहेको उनले उल्लेख गरे । सिंहले अख्तियारको काम निश्पक्ष नभएको कारण आफूहरुले गर्नुपरेको पनि बताए ।
उनले गच्छादारलाई फसाउन खोजेको आरोप लगाए । सिंहले पार्टीको चौधौ महाधिवेशनको तयारी सुरु गरिएको जानकारी दिए । तोकिएको मिति र कार्यतालिका अनुसार निश्पक्ष बनाउन तयारी सुरु गरिएको उल्लेख गरे ।