‘माझी’ दमन
दमन रूपाखेती लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन्। रेडियो नाटकबाट उनले करिअर सुरु गरेका हुन्। त्यसपछि टेलिभिजनको सानो पर्दादेखि फिल्मको ठूलो पर्दासम्मको यात्रा तय गरे। गीत पनि गाउँछन्। दर्शक÷स्रोतामाझ गायकको परिचय पनि बनाएका छन्।
काठमाडौँ, थानकोटमा जन्मे÷हुर्केका दमन सानो छँदा चञ्चल स्वभावका थिए। अरूलाई हँसाउन माहिर थिए। गायन र नृत्यमा रुचि सानैदेखि थियो। स्वभाव चञ्चले भए पनि गीत चाहिँ सेन्टिमेन्टल मन पराउँथे। रेडियोमा खूब गीत सुन्थे, गुनगुनाउँथे पनि। ‘स्कुल पढ्दाताका साथीभाइलाई गीत र चुट्किला खूब सुनाउँथेँ,’ उनी भन्छन्, ‘मेरा गीत र चुटकिला उनीहरूले धेरै मन पराउँथे।’ चित्र पनि कोर्थे। एकताका चित्रकार बन्ने सपना बुनेका थिए।
उनी कक्षा सातमा काठमाडौँ, पद्मोदय स्कुलमा भर्ना भए। पद्मोदय स्कुल देख्दा अहिले पनि स्कुले जीवन झलझली याद आउँछ उनलाई। त्यहाँ परालको गुन्द्रीमा बसेर पढेका थिए। ‘बर्खा होस् वा हिउँद, हाम्रो लागि स्कुलमा गुन्द्री हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘गुन्द्रीमै मैले स्कुले पढाइ सकाएँ।’ परालको गुन्द्रीमा बसेर साथीभाइलाई गीत र चुट्किला सुनाएका ती दिन अहिले पनि उनको सम्झनामा ताजै छन्। ‘गीत गाएर, चुट्किला सुनाएर साथीहरू र शिक्षकलाई खूब हँसाए,’ उनी भन्छन्।
२०४५ सालमा रेडियो नेपालको नाटकबाट बालकलाकारका रूपमा अभिनयमा डेब्यू गरेका थिए। चुलबुले स्वभावका उनी निकै चलाख पनि थिए। साथीहरू पनि उनीजस्तै थिए। स्कुलको टिफिन टाइममा साथीहरूसँगै किताबमा गाता हाल्नका लागि पत्रिका खोज्न सिहंदरबार पुगे। ‘त्यही बेला रेडियो नेपालमा नाटक प्रस्तुत हुने समय भएको रहेछ,’ उनी सुनाउँछन्, ‘नाटकमा बालकलाकार नआएकाले ‘खेल्छस्’ भन्दै त्यहाँको मान्छेले सोधे। मैले सोच्दै नसोची ‘हुन्छ’ भनेँ।’ नाटकमा तिहारको माहौल थियो। पटकाले पोलेर उनले रुनुपर्ने अभिनय गर्नु थियो। स्कुलमा साथीभाइबीच आफ्नो कलाकारिता देखाइरहेका दमनले त्यो अवसर खेर जान दिएनन्। उनी मज्जाले रोए। उनको अभिनयबाट अन्य रेडियोकर्मी पनि प्रभावित भए। उनको अभिनय सबैले मन पराए। त्यसपछि उनी नाटकप्रति आकर्षित भए।
१३ वर्षको हुँदा ‘हातेमालो’ नाटकमा काम गरे। ‘त्यसपछि रेडियो नेपालका अन्य नाटकमा पनि निरन्तर काम गर्ने अवसर पाएँ,’ उनी भन्छन्। रेडियो नेपालमा तीन वर्ष काम गरे। त्यतिबेलासम्म रेडियो नाटकमार्फत स्रोतामाझ राम्ररी परिचित भइसेकका थिए। नाटकबाट बटुलेको अनुभव उनले फिल्ममा प्रस्तुत गर्ने मौका पाए। भन्छन्, ‘रेडियोले स्रोतामाझ मलाई चिनाइसकेको थियो, अब दर्शकमाझ चिनिने चाहना थिया।’ ‘नियति’ उनको डेब्यू फिल्म हो। अहिलेसम्म ४० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
उनले नेपाल आर्ट सेन्टरमा चार वर्ष अभिनय सिकाए पनि। ‘थुप्रै चर्चित हास्यकलाकारलाई अभिनय सिकाउने मौका पाएँ, जसमध्ये केदार घिमिरे (माग्ने बूढा) पनि एक हुन्,’ उनी भन्छन्, ‘माझीका रूपमा खोला तारिरहेँ, आफू चाहिँ वारि रहँे।’ आफूले पढाएका विद्यार्थीको सफलता देखेर गर्व लाग्ने उनी बताउँछन्।
दमनले ‘ट्वाक्क टुक्क’, ‘सँगालो’, ‘काउकुती’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’लगायत थुप्रै हास्य टेलिसिरियलमा काम गरेका छन्। २०५५ देखि २०६२ सालसम्ममा तीन वटा एल्बम निकाले। ‘कुखुरे बँैस’ एल्बमले निकै चर्चा पायो। ‘ठोक्न मादल ठोक’ गीत चर्चित भयो।
अहिले उनी ‘जे होला होला’ हास्य टेलिसिरियलमा व्यस्त छन्। रेडियो अडियोमा कार्यक्रम चलाइरहेका छन् भने ‘जन्ते बाख्रा’ फिल्म बनाउने तयारीमा रहेका छन्। बाल्यकालको चित्रकारिताको सोख अहिले पनि छ। त्यसैले फुर्सदमा अहिले पनि चित्र कोरेर बस्छन्।