‘साहित्य लेख्दा सिद्धान्तको ह्याङ बोकेर हिँड्दिनँ’
आख्यानकार सञ्जीव उप्रेतीको जीवनका ऊर्जाशील २५ वर्ष त्रिभुवन विश्वविद्यालयको प्राध्यापन कर्ममा बित्यो। अंग्रेजी साहित्यका गुरु उप्रेतीका ‘घनचक्कर’ उपन्यास, ‘सिद्धान्तका कुरा’ (गैरआख्यान), ‘मकैको अर्कै खेती’ (नाटक) र यही वर्ष ‘हंस’ उपन्यास प्रकाशित छन्। उनीसँग नयाँ उपन्यास ‘हंस’ र उनको साहित्यिक जीवनबारे ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले संवाद गरेका छन्।
साहित्यमा प्रकृति, पर्यावरण र प्राकृतिक–वातावरण कसरी जोडिएको हुन्छ र प्रकृतिसँग जोडिएर लेखिने साहित्यको विश्वमा कस्तो स्थान छ ?
तर, औद्योगिक क्रान्तिपछि प्रकृतिलाई उपभोगको वस्तु मानियो। जसरी पितृसत्तात्मक समाजमा नारीलाई उपभोग्य वस्तु ठानिन्छ। यसरी नै प्रकृतिको लय बिग्रिँदै गयो भने संसारको अस्तित्व नै सकिन सक्छ। यसरी हेर्दा विश्व साहित्यमा पर्यावरणीय समालोचना सन् १९६० को दशकपछि फस्टाएको देखिन्छ। साहित्यको कुनै न कुनै स्वरूपमा प्रकृति र वातावरण जोडिएको छ। नेपालमा विसं २०५० को दशकमा संरक्षण कविता यात्रा पनि पर्यावरणीय साहित्यको निम्ति भएको प्रयास थियो।
अमेरिका पढ्न जाँदा तपाईंले गर्नुभएको एक विमान यात्राबारे बारम्बार लेख्दै र बोल्दै आउनुभएको छ। त्यो घटना विशेष के थियो ?
त्यसमा केही गहिरो कुरा त छैन। निजी सानो खेलौनाजस्तो जहाज चढेर हामी एट्लान्टिक महासागर माथि उड्छौँ भन्ने मैले कहिल्यै सोचेको छैन। फेरि हाम्रो समाजमा ठूलो मान्छे भन्नेबित्तिकै ठूलै शान हुन्छ भन्ने सोच्छौँ। तर, त्यो जहाज चलाउने प्राध्यापक साथी अत्यन्त सरल थियो। उसले आफ्नो घरमा कार पनि भएको तर आफूले नचलाउने गरेको, बरु साइकल चढ्ने गरेको कुरा सुनायो। उसको कुराले त म झन् चकित भएँ। अविस्मरणीय घटना भएको हुनाले नै यो मैले उल्लेख गर्दै आएको हुँ।
‘पागलपन, प्रकृति र मानिसबीच’को सम्बन्ध के छ ?
मलाई के लाग्छ भने कुनै पनि समाज त्यति सभ्य छैन। व्यक्तिभित्र पनि पागलपन छ, समाजभित्र पनि छ। हामी पागलपनले नै गर्दा प्रकृतिको विनाश गरिरहेका छौँ। प्रकृतिको दोहन गर्दै आएका छौँ। यदि समाज वास्तवमै सभ्य भएको भए यसले सबैलाई सम्मान गथ्र्यो। चराचुरुंगी, जनावरलाई प्रेम गथ्र्यो। त्यति मात्र होइन पिछडिएका जाति र मानिसको उन्नति पनि सोच्थ्यो। किनभने, हामी आफू मात्र बाँचेर त भएन नि ! तल परेको मान्छेको बारेमा, जनावरको बारे पनि त सोच्नुपर्ने हो। कुनै पनि समाजले यो कुरा सोच्न थाल्यो भने मात्र त्यो समाज सभ्य र सद्धे हुन्छ।
‘साहित्य र सिद्धान्त’ वा ‘सिद्धान्त र साहित्य’ यी दुईलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सिद्धान्त– संसार, समाज, राजनीति सबैलाई हेर्ने एउटा लेन्स हो। सिद्धान्तकै जगमा टेकेर विश्वभरि युद्ध, गृहयुद्ध भएका छन्। वैचारिकी नै भएन भने त केही परिवर्तन हुन्न। मैले धेरै वर्ष विश्वविद्यालयमा सिद्धान्त पढाएँ र त्यसमा केन्द्रित रहेर गैरआख्यान ‘सिद्धान्तका कुरा’ पनि लेखेँ। यसबाहेक म आख्यान पनि लेख्छु। त्यसबेला चाहिँ म सिद्धान्तको ह्याङ बोकेर हिँड्दिनँ। कुनै विचारको एजेन्डा सोचेर बस्दिनँ। त्यतिबेला म कथामा डुब्न चाहन्छु तर मेरो विकसित चेतनाको रङ आख्यानमा कतै न कतै आउँछ। यद्यपि, यो उपन्यासलाई म कसरी उत्तरआधुनिक बनाऊँ, कसरी माक्र्सवादी बनाऊँ भनेर सोच्दै लेख्दिनँ।
‘नेपाली आख्यानको जग नै कमजोर छ’, ‘आख्यान कमसल हुँदै छ’ भन्नेजस्ता टिप्पणी वर्षौंदेखि सुनिँदै आएको छ। यसबारे तपाईंको मत के छ ?
मलाई त त्यस्तो लाग्दैन। हामीसँग धेरै बलिया र प्रभावशाली आख्यानकार छन्। म र मपछि आएको पुस्ताले पनि राम्रो लेखिरहेको छ। भूपिनको ‘मैदारो’, सरस्वती प्रतिक्षाको ‘नथिया’ले पनि मलाई प्रभावित गरेका छन्।
व्यक्तिभित्र पनि पागलपन छ, समाजभित्र पनि छ। हामी पागलपनले नै गर्दा प्रकृतिको विनाश गरिरहेका छौँ। समाज वास्तवमै सभ्य भएको भए यसले सबैलाई सम्मान गथ्र्यो। चराचुरुंगी, जनावरलाई प्रेम गथ्र्यो। पिछडिएका जाति र मानिसको उन्नति पनि सोच्थ्यो।
हाम्रो नराम्रो बानी के छ भने, हामी विगतलाई मात्र सुन्दर देख्छौँ। विगतको उपलब्धिलाई मात्र महान् देख्छौँ। तर, सेक्सपियरको बेलामा उनलाई महान् नाटककार भनिँदैन थियो। त्यतिबेला उनी एक औसत लेखकमा गनिन्थे। समयक्रममा उनले लेखेको कुराको महत्त्व बढ्दै गयो र उनी एक महान् नाटककार भए।
तपाईंले प्राध्यापनमा जीवनको करिब तीन दशक खर्चिनुभयो। विश्वविद्यालय छोडेपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
सबैभन्दा मुख्य कुरा त मलाई प्रशस्त समय मिलेको छ। परिवारसँग समय बिताउन पाएको छु। विश्वविद्यालय छोडेपछि नै मैले ‘हंस’ लेखेँ। यसपछि म प्रकृति, चराचुरुंगी हेर्ने बानीमा अभ्यस्त भएँ। केही सोच्ने, विचार गर्ने समय पाएको छु। यसैको आधारमा मौलिक साहित्य लेख्न सहज भइरहेको छ।
तपाईंले एक पटक ‘कहाँ राजदूत बन्ने ? यहाँ चरा हेरेर बस्न कति रमाइलो भइरहेको छ’ भनेर अन्तर्वार्ता दिनुभएको थियो। यो कुन सन्दर्भमा भन्नुभयो ?
रिटायर्ड भएपछि मलाई धेरैले किन यति चाँडै पेशा छोडेको भन्न थाले। तर, मलाई बाँकी रहेको जीवन हरेक दिन खुशीसाथ बाँचन मन लागेको छ। पँुजीवादको आजको युगमा हरेक दिन केही न केही उत्पादन गरिहनुपर्छ। तर, मलाई प्रकृतिको समीपमा बस्न मन छ, चरा हेरेर बस्न नै रमाइलो छ भने किन राजदूत बन्ने भन्ने अभिप्रायमा यसो भनेको थिएँ।
उसो भए जीवनको सर्वोच्चता चाहिँ के हो ?
हामी सबैभित्र खुशी र आनन्दको स्रोत छ। सबैलाई खुशीको एउटै सुत्र छैन। मेरो बाटो चाहिँ के रहेछ भनेर पत्ता लगाएर अगाडि बढ्दा खुशी मिल्छ।
मलाई चाहिँ प्रकृतिको छेउमा जाँदा, पुस्तक पढ्दा, पुस्तक लेख्दा खुशी लाग्छ। तर, साथसाथै समाजमा संरचनात्मक विभेद छ। हरेक व्यक्तिलाई आफ्नो खुशी छान्ने समान अवसर छैन। यसैले म त खुशी छु, तर मभन्दा प्रतिभाशाली, सक्षम मानिसको अवस्था के छ भनेर पनि विचार गर्नुपर्छ। यसरी हेर्दा बाँच्नु नै ठूलो कुरा हो। कुनै मानिस संघर्ष गरेर आत्मसम्मानसहित बाँचेको छ भने त्यही नै जीवनको सर्वोच्चता हो। कोही खेत नै खनिरहेको छ, आरन चलाइरहेको छ भन्दैमा उसको जीवन दोस्रो व्यक्तिको भन्दा कमसल हुँदैन। हरेक मानिसको जीवनको मूल्य उत्तिकै हुन्छ।