कर्णालीमा सत्तारुढ सांसदबाटै सरकारको चर्को आलोचना

कर्णालीमा सत्तारुढ सांसदबाटै सरकारको चर्को आलोचना

सुर्खेत : कर्णालीमा सत्तारुढ सांसदले नै सरकारको चर्को आलोचना गरेका छन्। प्रदेश सरकारले संसद र सांसदलाई छलेर मनलाग्दी गरिरहेको सांसदको आरोप छ। 

लामो समयपछि बसेको नेकपा संसदीय दलको बैठकमा सत्तारुढ सांसदले आफूखुशी बजेट खर्च नगर्न सरकारलाई चेतावनी दिए।

करिब ६ महिनापछि कर्णालीमा नेकपा संसदीय दलको बैठक बसेको हो। बैठकमा सांसदले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, संसदले पारित गरेका योजना कार्यविधिको नाममा फेरवदल गरेको, मन्त्रीले संसद र पार्टीको निर्देशन अटेर गरिरहेको, बजेट कार्यान्वयन गर्न नसकेको र नागरिकलाई विस्वास दिलाउने गरी काम गर्न नसकेको भन्दै चर्को आलोचना गरे।

 सरकारकै कारण पार्टीप्रति नै जनताको वितृष्णा पैदा हुन थालेको भन्दै सांसदले सरकारको समिक्षा गर्नुपर्ने बेला आएको बताए। कर्णालीमा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्दैछ। तर यो अवधिमा सरकारका क्रियाकलाप सन्तोषजनक हुन नसकेको भन्दै सांसदले सरकार र मन्त्रीको आलोचना गरेका हुन्।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपाका एक सांसदले भने,‘सरकारले जनतामा वितृष्णा फैलाउने काम गरेको छ, मन्त्रीले संसद र पार्टीलाई पनि टेर्न छाडेका छन्। यही विषयमा बैठकमा साथीहरुले कुरा उठाउनुभयो, मनलाग्दी नगर्न हामीले सरकारलाई खबरदारी पनि गरेका छौं।’ सरकारका कारण पार्टीप्रतिजनविस्वास गुम्न थालेको भन्दै सांसदले मन्त्रीलाई आफ्ना व्यवहार तत्काल सुधार गर्न सुझाव दिए।

सरकारका काम र क्रियाकलापप्रति सत्तारुढ सांसद सन्तुष्ट छैनन्। यसअघि सांसदले मिडियामार्फत सरकारप्रति आफ्नो असन्तुष्टी पोख्दै आएका थिए। 

आफ्नै सांसदहरुले खुला रुपमा विरोध गर्न थालेपछि संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार दलको बैठक बोलाएका थिए। 

बैठक बोलाएर पार्टीका सांसदलाई एकताबद्ध र विश्वासमा लिने अपेक्षा गरेका मुख्यमन्त्री शाही बैठकमा चर्को आलोचना भोग्न बाध्य भए। बैठकमा सांसदले विपक्षीलाई रिझाएर मनलाग्दी गरेको, चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकेको र पुँजीगत खर्च पनि निराशाजनक रहेको भन्दै सरकारसँग यसको जवाफ मागेका थिए।

 सरकार नसच्चिए आफूले पनि सरकारको बचाउ गर्न नसक्ने चेतावनी सांसदहरुले दिएका छन्। संसदीय दलको बैठकमा सरकारका समग्र कामको समिक्षा गरिएको नेकपा संसदीय दलका सचेतक सीता नेपालीले जानकारी दिइन्। उनले भनिन्,‘बैठकमा सबैमन्त्रीले आफूले गरेको कामको प्रगति विवरण प्रस्तुत गर्नुभयो, त्यसपछि सांसदहरुले आफ्ना धारणा राख्नुभयो।’ 

बैठकमा सरकारका कामप्रति सामान्य असन्तुष्टी आउनु स्वभाविक नै भएको उनको भनाइ छ। आफ्नै दलका सांसदले चर्को आलोचना गरेपछि मुख्यमन्त्री शाहीले अब सरकारले सांसदसँग समन्वय गरेर काम गर्ने जवाफ दिएका थिए। 

यस्तै बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार लागि परेकोसमेत मुख्यमन्त्री शाहीले बताए। सांसदको सुझावका आधारमा सरकार अगाडि बढ्ने उनको भनाइ छ। यस्तै प्रदेश सभामा रहेका चार वटा संसदीय समितिहरुमध्येतीन वटा समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै तिनको नेतृत्व फेर्नुपर्ने माग पनि सांसदहरुले बैठकमा गरेका छन्। कांग्रेसले नेतृत्व गरेको सार्वजनिक लेखा समिति बाहेक अन्य तीन वटा समितिमा सत्ता पक्षका सांसद अध्यक्ष छन्। यी समितिका अध्यक्ष हेरफेर गर्नुपर्ने माग बैठकमा उठेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.