सिन्धुलीमा पहिलो ‘घरबास’
सिन्धुली : सिन्धुली सदरमुकाम माढी बजारबाट नागबेली सडक हुँदै झण्डै १५ किलोमिटर दुरीको यात्रापछि कमलामाई नगरपालिका २ ढुङग्रेभञ्ज्याङमा पुग्न सकिन्छ।
यहाँ जिल्लामै पहिलो पटक एक मात्र सामुदायिक ‘घरबास’ होमस्टे सुरु भएको छ। ढुङग्रेभञ्ज्याङमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय नेवार र मगर समुदायका युवा तथा किशोरीले आफ्ना भेषभूषा र भौलिक संस्कृतिसहित अतिथिलाई सत्कार गर्ने गरेका छन्।
बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गको नागबेली सडक, चिसो मौसम हरियाली वातावरणमा, धार्मिक आस्थाको धरोहर भद्रकाली मन्दिरको दृष्यपानमा रम्ने र रामाउनेका लागि यो एउटा महत्त्वपूर्ण स्थल हो। यहाँ नेपाल भ्रमण वर्ष २०२० मा ऐतिहासिक सिन्धुलीगढीको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी उक्त होमस्टे सञ्चालनमा ल्याइएको हो।
एक पटकमा ४० देखि ५० जनासम्म पर्यटकलाई व्यवस्थापन गर्न सकिने गरी स्थानीय १७ घर नेवार र मगर समुदायले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हुन्। होमस्टे सञ्चालनमा बागमती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रमअन्तर्गत २० लाख, कमलामाई नगरपालिकाले शौचालय निर्माण तथा सरसफाइका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
होमस्टेमा मगर समुदायको मौलिक कला र संस्कृतिका साथै स्थानीय उत्पादन एवं खानाका परिकारको स्वाद पाउनेछन्। पूर्णरूपमा सुरक्षाको प्रत्याभूति हुने होमस्टेलाई कमलामाई नगरपालिका, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, कन्दमुल तरकारी विकास केन्द्र सिन्धुली र कृषि ज्ञानकेन्द्र सिन्धुलीले प्रवद्र्धन गर्नेछ। होमस्टे सञ्चालनमा श्री सिन्धुलीले सहजीकरण गरेको छ।
जिल्लाकै एकमात्र होमस्टेको कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले शुभारम्भ गरेपछि नियमित सञ्चालनमा आएको हो। ऐतिहासिक सिन्धुलीगढीको काखमा अवस्थित भद्रकाली मन्दिरनजिकै सञ्चालित होमस्टेबाट पर्यटकलाई खान, बस्नको सुविधासहित यहाँका कला तथा संस्कृतिको प्रचारप्रसारमा सघाउ पुग्ने खत्रीले बताए।
होमस्टेमा आउने आगन्तुकलाई स्थानीय अर्गानिक कृषि उत्पादन, स्वच्छ र गुणस्तरीय खानपानको व्यवस्थापनका साथै स्थानीय समुदायको मौलिक संस्कृतिबाट भरपुर मनोरञ्जन लिन सकिने होमस्टेका सञ्चालकले जानकारी दिए।