स्याउ बगैचा व्यवस्थापन गर्दै किसान
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाको लेकाली क्षेत्रहरुमा स्थानीय किसान स्याउको बगैचा व्यवस्थापनमा व्यस्त छन् । उनीहरु आआफ्नो बगैचामा रहेका स्याउका बिरुवा काँटछाँट गर्ने, जरामा किरा नलागोस् भनेर बाडोपेष्ट लगाउने, मल हाल्ने, सिचाईं गर्ने, हिउँ तथा बर्षाको पानी संकलनका लागि प्लाष्टिक पोखरी बनाउने काममा लागिपरेका छन्।
खाँडाचक्र नगरपपालिका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेको सहयोगमा बगैचा व्यवस्थापनका साथै किसानले ज्ञान पनि सिक्ने अवसर पाएका छन्। जिल्लाका अन्य स्थानीय तहमा पनि स्याउको व्यवसायिक खेति गरिरहेका कृषकले समेत स्याउ बगैचा व्यवस्थापनमा जुटेका छन् ।
कृषि प्राविधिक काफ्लेले खाँडाचक्र नगरपालिकामा स्याउका बगैचा व्यवस्थापनका लागि अभियान नै थालेको बताए । उनले यस सिजनमा बैगचा व्यवस्थापन गर्दा किराहरु नियन्त्रण हुने, धेरै फल लाग्नेलगायतका कारण किसानलाई स्याउ बगैचा व्यवस्थापन अभियानमा सहभागी गराएको बताए ।
उनले खाँडाचक्र नगरपालिकाको लेकाली क्षेत्रहरु तामा चौर, दुदिल डाँडा, भल्चरा, खापरमष्टा चौर, अटा चौर, बैसपानी, गोठी चौर, दह वन, तालाखोर, गोरेकाँडा, मेहिनमेलीलगायतका ठाउँमा रहेका स्याउका बगैचा व्यवस्थापन अभियान थालिएको जानकारी दिए ।
स्थानीय ब्रिजित बिष्टले आफ्नै बगैचामा कृषि प्राविधिकको साथमा स्याउको बगैचा व्यवस्थापन गरी सीप सिक्ने अवसर पाएको बताए । उनले भने, 'बगैचा पनि व्यवस्थापन भए । सीप पनि सिक्ने अवसर पाइयो । '
जिल्लाका अन्य स्थानीय तहमा पनि स्याउको व्यवसायिक खेती गरिरहेका कृषकले बगैचा व्यवस्थापन अभियान थालेका छन् । जिल्लाको तिलागुफा नगरपालिका चिल्खाया निवासी कृषक टेकबहादुर शाहीले स्याउ बगैचा व्यवस्थापन गर्ने कार्य भइरहेको बताए ।
चिल्खायाको भट्टाडीका अगुवा कृषक टेकबहादुर शाहीले मात्र आफ्नो स्याउ बगैचामा मात्र १ हजार ८ सय ५० स्याउका विरुवा रापेका छन् । जसमा करिब १ हजार २ सय बिरुवा फल्न थालेका छन् । उनका अनुसरा चिल्खायाको भट्टाडीमा मात्र १ सय ५० भन्दा बढी कृषक स्याउको व्यवसायिक खेती गरिरहेका छन् । पालुवा पलाउने बेला बगैचको व्यवस्थापन, काँटछाँट गरे धेरै फल्ने भएकाले एक हप्ता अगाडिबाट बगैचा व्यवस्थापनको काम भइरहेको उनले बताए ।
जिल्लाको विभिन्न स्थानीय तहका स्याउ बगैचा भएका ठाउँमा स्थानीय कृषकले स्याउका बिरुवा काँटछाँट गर्ने, मल हाल्ने, गोडमेल गर्नेलगायतका काम भइरहेको बताइएको छ । जिल्ला कृषि विकास कार्यालय प्रमुख भरतबहादुर बस्नेतले स्याउ बगैचा व्यवस्थापनको उपयुक्त समय माघ हुने भएकाले कृषि प्राविधिकको सहयोगमा स्याउको व्यवसायिक खेती गरिरहेका कृषलाई स्याउ बगैचा व्यवस्थापनमा स्थानीय किसान लागिपरेको बताए ।
उनले बर्षेनी कृषि विकास कार्यालय र दुई वर्ष अगाडिबाट स्थानीय तहले समेत स्याउ खेती हुने बस्तीमा बिरुवालगायत अन्य प्राविधिक सहयोग गर्दै आएको बताए । उनले भने, 'स्याउ उत्पादनमा वृद्धि गर्ने उद्देश्यले स्याउ बगैचा व्यवस्थापन अभियान थालिएको छ । कृषि विकास कार्यालयले वगतदेखी हजारौं बिरुवा अनुदानमा वितरण गरी कृषकलाई व्यवसायिक स्याउ खेतीका लागि आकर्षित गर्दै आएको छ ।