महोत्सवमा ‘ड्रग एभ्युज’
काठमाडौं : प्रायः सबै अभिभावकको चाहना हुन्छ, आफ्ना सन्तानले ध्यान दिएर पढुन्, परीक्षामा उत्कृष्ट नम्बर ल्याऊन्, प्रथम बनुन्। आफ्ना सपना पूरा गर्ने व्यक्तिको रूपमा पनि अभिभावकले सन्तानमाथि दबाब दिइरहेका हुन्छन्। अन्ततः छोराछोरीमाथि मानसिक तनाव हुन्छ, उसले खराब संगत गर्न सक्छ र जिन्दगी नै समाप्त हुन सक्छ।
‘ड्रग एभ्युज’ नामक नाटकमा ९ कक्षामा पढ्ने रमेशको कथा हो यो। रसियन कल्चर सेन्टरको मञ्चमा रिलायन्स स्कुलका विद्यार्थीले यो नाटक प्रदर्शन गरे। बिरामी भएको अवस्थामा परीक्षा बिगारेर नम्बर थोरै ल्याएपछि रमेशको परिवारमा समस्या सुरु हुन्छ। स्कुलको शिक्षकले गाली गर्ने, घरका आमाबाबुले कुटपिट गर्ने, नमिठो बोल्ने गरेपछि रमेश स्कुल जाँदैन। गाउँकै पीपलबोटमा बसेर दुव्र्यसनीमा लागेकाहरूसँग संगत गर्छ। उनीहरूले रमेशलाई लागूऔषधको अम्मली बनाउँछन्। सबैको हेलाहोचोमा परेको रमेश अन्ततः ओभरडोज लागूऔषध सेवनको कारण मर्छ।
शैली थियटर र रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको संयुक्त आयोजनामा एघारौं बाल नाटक महोत्सव चलिरहेको छ। माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवको पाँचांै दिन तीन नाटक मञ्चन गरियो। ड्रग एभ्युजसँगै बिग्रेको बिर्खे र गरिबको मृगतृष्णा नामक नाटक आइतबार मञ्चन गरियो।
यस पटकको महोत्सवमा बालनाटकका विषयमा छलफल तथा अन्तरसंवाद पनि समावेश गरिएको थियो। छलफलमा सहभागी वक्ताहरूले नाटकमा बालबालिकाका मुद्दा कसरी उठाउने, उनीहरूका जिम्मेवारी र कर्तव्यलाई सिकाउने साधनको रूपमा पनि नाटकलाई प्रयोग गर्न सकिने बताएका थिए। छलफलमा संलग्न रंगकर्मीहरूले हरेक स्कुलमा नाटकलाई सिकाइको साधनको रूपमा विकास गरिनुपर्नेमा जोड दिए। शैली थियटरका अध्यक्ष नवराज बुढाथोकी बालबालिकाका समस्याले प्रत्यक्ष रूपमा शिक्षक र आमाबुवालाई पनि असर गर्ने हुँदा बालनाटक शिक्षक, अभिभावकले हेर्नुपर्ने तर्क गरे।
शैली थियटरले २०६६ सालदेखि नै बालनाटक महोत्सवको सुरुवात गरेको हो । बालबालिकालाई नाटक सिकाऔं, बुझाऔं र स्कुल-स्कुलमा बालनाटकलाई प्रोर्द्धन गरौँ भन्ने उदेश्यका साथ बालनाटक महोत्सव सुरु गरिएको हो । शैली थियटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार, भक्तपुर, ललितपुर, काठमाडौं र कीर्तिपुरका १७ स्कुलका १७ नाटकले महोत्सवमा सहभागीता जनाएका छन् । शैली थियटरको आफ्नै उत्पादनमा रहेको नाटक सुनौलो माछा पनि अप्रतियोगी रूपमा मञ्चन हुँदैछ ।
महोत्सवमा द्वन्द्वकालको समयमा बालबालिकाले भोगेको शारीरिक र मानसिक समस्या, बालविवाह, लागुऔषध दुर्व्यसनी, गरिवी, जातीय विभेद लगायतका विषयमा नाटक तयार भएका थिए ।
बढीभन्दा बढी स्कुल र बालबालीकालाई सहभागी गराउने प्रयासमा रहेको बुढाथोकीले बताए । बालबालिकासँगै महोत्सवमा अभिभावक र शिक्षकलाई पनि समावेश गराउन जरुरी हुने हुनाले यो विषयमा आफूहरुले धेरै गृहकार्य गर्न नपाएको बताए । बालबालिकाका समस्याले प्रत्यक्ष शिक्षक र आमाबुवालाई पनि असर गर्ने हुँदा बालनाटक अभिभावकले हेर्नैपर्ने तर्क गरे ।
नाटक समाजका विषयमा देखाइने र सिर्जनात्मक काम भएकाले बालबालिकाको लागि नाटक अत्यन्तै उपयोगी सावित हुने उनको दावी थियो । बालबालीहरु नाटकमा आउँदा समाज, साहित्य, सस्कृति र मनोविज्ञान बुझ्न पाउने बताउँदै अप्रत्यक्ष रुपमा आफ्नो अधिकार र कर्तव्यको रुपमा सचेत हुने बुढाथोकीले जोड दिए ।
यस पटकको महोत्सवमा बालनाटकका विषयमा छलफल तथा अन्तरक्रिया पनि समावेश गरिएको थियो । जसमा बालबालिका र नाटक, बालनाटक महोत्सव —अवसर र अनुभव, बाल्यकाल सम्झिँदा र नाटक , नाटक र बालअधिकार जस्ता विषय छलफलको प्राथमिकतामा परे ।
छलफलमा सहभागी वक्ताले बालबालिकाका मुद्धालाई नाटकमा कसरी उठाउने, उनीहरुका जिम्मेवारी र कर्तव्यलाई सिकाउने साधनको रुपमा पनि नाटकलाई प्रयोग गर्न सकिने बताएका थिए । अधिकांश वक्ताले पछिल्लो पाँच वर्षमा बालनाटकको क्षेत्रमा निकै प्रगती भएको जनाए ।
महोत्सवमा सहभागी नाटकको मूल्यांकनकर्ताको रूपमा देशभक्त खनाल, सरस्वती चौधरी र सुशील पौडेल छन्। प्रतियोगितामा उत्कृष्ट कलाकारलाई १० हजार, उत्कृष्ट नाटक तथा निर्देशकलाई सात हजार, दर्शकको रोजाइमा परेको नाटकलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।