स्टिङ अप्रेसन : अख्तियारको सफल अभ्यास

स्टिङ अप्रेसन : अख्तियारको सफल अभ्यास

भ्रष्टाचारको फाइल अध्ययन र कारबाही भन्दा स्टिङ अप्रेसनको असर सम्बन्धित व्यक्ति, अड्डा, परिवार, समुदाय र समाज तत्काल र गहिरो देखिने गरेको छ


भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापनाको अभियानमा ‘स्टिङ अप्रेसन’ पछिल्ला दिनमा प्रभावकारी बन्दै गएको छ । खासगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) ले सार्वजनिक सेवाप्रदायक अड्डालाई लक्ष्यित गरेर चलाएको ‘स्टिङ अप्रेसन’ ले कर्मचारी वर्गमा एक खालको भय छाएको छ भने सेवाग्राहीमा भरोसा पनि जगाएको छ । यो अप्रेसनमा घुस लिने थुप्रै कर्मचारी कारबाहीमा परेका छन् । यसले राजस्व वृद्धिमा समेत सकारात्मक असर परेको छ ।

स्टिङ अप्रेसन पुरानै अवधारणा र अभ्यास हो । यो विदेशमा पनि प्रचलनमा छ । बाहिर पनि घुस तथा भ्रष्टाचारमा संलग्न कर्मचारीलाई प्रमाण जुटाएर स्थलगत रूपमा कारबाही गर्नका लागि अनुसन्धान निकायहरूले यस्तो अप्रेसन चलाउने गरेका छन् । यस्तो अप्रेसनका क्रममा सुरक्षाकर्मीसहित अनुसन्धान निकायको टोली सम्बन्धित कार्यालयमा छापा मार्न वा छड्के गर्न पुग्छ, घुस लिँदै गरेको अवस्थामा उनीहरू समातिन्छन् र कानुनअनुसार कारबाही अघि बढ्छ ।

नेपालमा पनि पहिलेदेखि यस्ता खालका कारबाही हुँदै आएको छ । राणाशासनका बेलाआठ पहरिया लगाएर घुस दिनेलाई समाउने चलन थियो । पछि पञ्चायतका कालमा यो काम गर्न विशेष प्रहरीलाई लगाइयो । विभिन्न क्षेत्रमा दौडाहा टोली खटाएर पञ्चायतले स्टिङ अप्रेसन चलाउँथ्यो । यसले सार्वजनिक सेवाप्रदायक अडाहरूमा एक प्रकारको त्रास र अनुशासन हुन्थ्यो । तर कहिलेकाहीं राजनीतिक प्रतिशोध राखेर विरोधीलाई तर्साउन पनि यस्तो अप्रेसन चलाउने गरिन्थ्यो ।

स्टिङ अप्रेसन भ्रष्टाचार तथा आर्थिक अनियमितताको अनुसन्धानमा संलग्न अख्तियार तथा निकायले गर्ने स्थलगत कारबाही हो । यसलाई घुस वा रिसवतमा रंगेहात पक्राउ वा कारबाही भनिन्छ । कुनै सेवाग्राहीको प्रमाणित उजुरीका आधारमा गोप्य अनुसन्धान गरेर स्थलगत रूपमा गरिने कारबाही हो ।

स्टिङ अप्रेसनका लागि अख्तियारले अलग्गै टोली खटाएको छ । त्यसमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अख्तियारका कर्मचारी संलग्न हुन्छन् । वरिष्ठ अधिकृतको कमान्डमा रहेको टोलीमा झन्डै डेढ दर्जन सदस्य छन् । आवश्यक पर्दा थप जनशक्ति अरू एकाइबाट पनि तान्ने गरिएको छ । कुनै सेवाग्राहीले घुस मागेको प्रमाणित उजुरी दिएपछि सेवाग्राहीलाई समेत विश्वासमा लिएर अनुसन्धान सुरु हुन्छ । घुस मागेको रकम कोडिङ गरी वा केमिकल छर्केर सेवाग्राहीलाई दिइन्छ र सेवाग्राहीले त्यो रकम दिँदै गरेको अवस्थामा सम्बन्धित हाकिम तथा कर्मचारीलाई स्टिङ अप्रेसनको टोलीले रंगेहात (घुससहित) समाउने गरिन्छ ।

‘साना माछा’ समाउने, थुन्ने, मुद्दा हाल्ने अभियानमा दंग हुनुभन्दा पनि घुसखोरी रोकिने पद्धतिको निर्माण तथा नीतिगत भ्रष्टाचार सघन अनुसन्धानतिर आयोगको उर्जा केन्द्रित गर्नु आवश्यक देखिन्छ ।

घुस लिनेले सुइँको नपाओस् भनेर पूर्वअनुसन्धान र तयारी सबै गोप्य रूपमा हुन्छन् । सुरक्षाकर्मीसहितको टोलीले समाउनुअघि कार्यालयको अवस्था, कर्मचारीको पृष्ठभूमि र व्यवहारबारे पनि छड्के रूपमा अध्ययन हुन्छ । खासगरी मालपोत, भूमि, कर, नापी, कम्पनी रजिस्ट्रार, यातयात, प्रहरी, विद्युत्लगायतका अड्डामा यस्तो अप्रेसन बढी हुने गरेको छ ।

यस्तो अप्रेसन कहिलेकाहीं एकै दिनमा सफल हुन्छ भने कहिलेकाहीं ६ महिनासम्म पनि लाग्ने यसमा संलग्न अधिकारी बताउँछन् । अमेरिकाको संघीय अनुसन्धान ब्युरोले गरेको पछिल्लो अध्ययनअनुसार स्टिङ अप्रेसनको असर सार्वजनिक सेवाप्रदायक अड्डामा कम्तीमा तीन महिनासम्म पर्ने गरेको छ । स्टिङ अप्रेसन भएको केही महिनासम्म त्यस्ता अड्डामा सेवाप्रदायक र सेवाग्राही दुवैमा सतर्कता देखिने गरेको छ ।

अख्तियारको स्टिङ अप्रेसन प्रविधिको विकाससँगै स्टिङ अप्रेसन चुनौतीपूर्ण हुँदै गएको छ । अख्तियारको आँखा छल्न घुस लिने र खाने अनेक तरिका अपनाउन थालेका छन् । घुस आफैं लिँदा समातिने डर भएपछि पैसा आफैंले नुबझेर तेस्रो व्यक्तिमार्फत लिने, पैसा नछुने, क्याल्कुलेटर प्रयोग गर्ने, बैंक खातामा राख्न लगाउने, पहिल्यै ऋण लिएको वा तिरेको भन्दै तमसुक बनाउने, अनुदान वा सहयोग गरेको भन्दै कागज गराउने, ड्राइभर तथा सहयोगीलाई बुझ्न लगाउनेजस्ता अनेक उपाय अपनाउने गरेका छन् ।

गत वर्ष एक सय ४७ वटा स्टिङ अप्रेसन भएका थिए । यो वर्ष त्यो संख्या उल्लेखनीय रूपमा बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामै स्टिङ अप्रेसनको संख्या सय नाघेको छ । माघ २२ गतेसम्म अख्तियारले १३३ वटा स्टिङ अप्रेसन गरेको छ । अप्रेसनका क्रममा दुई सयजना समातिएका छन् । घुस दिन लागिएको एक करोड ५६ लाख रकम जफत भएको छ ।

स्टिङ अप्रेसनका क्रममा कारबाही गरी चलाइएका भ्रष्टाचारका मुद्दामा अदालतबाट लगभग शतप्रतिशत सफलता मिलेको छ । यसले के स्पष्ट पारेको छ भने स्टिङ अप्रेसन कुनै आग्रह तथा आवेशमा होइन कि विश्वसनीय सूचना र प्रमाणका आधारमा हुँदै आएको छ ।

स्टिङ अप्रेसनसँगै अख्तियारले ६ महिनादेखि रेपिड एक्सन नामको अर्को अप्रेसन पनि चलाउँदै आएको छ । यो स्टिङभन्दा फरक खालको अप्रेसन हो । यसका लागि पनि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीहरूको एउटा अलग्गै टोली खटाइएको छ । आर्थिक चलखेल तथा लेनदेन हुने कार्यालयमा रेपिड एक्सन टोली खटिने गर्छ ।

सम्बन्धित कार्यालयमा हुने आर्थिक लेनदेन तथा चलखेलको गोप्य रूपमा भिडियो स्क्रिनिङ हुन्छ । सेवाग्राही वा आम सर्वसाधरणको भेषमा त्यहाँ पुग्ने टोलीले हिडन क्यामरा तथा मोबाइल प्रयोग गरी गोप्यरूपमा यस्तो भिडियो खिच्ने गर्छन् । त्यो भिडियो अध्ययन तथा अनुसन्धान गर्दा भ्रष्टाचारजन्य केही गतिविधि एवं कसुर देखिएमा त्यो अड्डामा स्टिङ अप्रेसनका लागि टोली खटिन्छ अर्थात् अनुसन्धान अधिकृत तोकेर छानबिन अघि बढाइन्छ । ‘रेपिड एक्सन’ का लागि हरेक दिन तीनचारवटा टोली विभिन्न अड्डामा जाने गर्छन् र यसरी नै भिडियो स्क्रिनिङ हुन्छ ।

स्टिङ अप्रेसन प्रभावकारी हुँदै गएको र यसको सकारात्मक प्रभाव सार्वजनिक सेवा प्रवाहमा देखिएको आयोगका प्रवक्ता प्रदीप कोइराला बताउँछन् । कोइराला भन्छन्– यसले सार्वजनिक सेवामा प्रभावकारिता र पारदर्शिता अभिवृद्धि गर्न र जवाफदेही बढाउन मद्दत पुगेको छ ।

स्टिङ अप्रेसन तथा रेपिड एक्सनका नाममा अख्तियारको दुरुपयोग तथा अरू चलखेल हुन सक्ने सम्भावनालाई रोक्नका लागि उच्च तहबाट आन्तरिक सुपरिवेक्षण तथा अनुगमनको व्यवस्था मिलाइएको छ । यी दुवै अप्रेसनको तयारी तथा गतिविधिको आन्तरिक अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

भ्रष्टाचारको फाइल अध्ययन र कारबाहीभन्दा स्टिङ अप्रेसनको असर सम्बन्धित व्यक्ति, अड्डा, परिवार, समुदाय र समाज तत्काल र गहिरो देखिने गरेको छ । यसले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गरेको छ । अख्तियारले नियमित रूपमा गर्दै आएको यो अप्रेसनले सार्वजनिक सेवाप्रदायक संस्थाहरूमा सुधार, सुशासन र अनुशासन कायम गर्न बल पुगेको छ । त्यसको सकारात्मक परिणाम सेवाग्राहीले अनुभव गरेका छन् ।

स्टिङ अप्रेसन अख्तियारको सफल र प्रभावकारी कदम हो । तर यसका आफैं सीमा र सकस छन् । घुस मागेको प्रमाणित उजुरी दिने थोरै सेवाग्राही मात्रै हुन्छन् । यो झन्झटमा धेरै मान्छे पर्न चाहँदैनन् । सकेसम्म काम सकाउने वा मिलाउने चक्करमै हुन्छन् अधिकांश सेवाग्राही । धेरै कुरा नमिलेपछि मात्र यस्तो खालको उजुरी अख्तियारमा पुग्ने गर्छ । त्यसैले स्टिङ अप्रेसनमा समातिने घुस समग्र भ्रष्टाचारको निकै सानो अंश मात्र हो । यसले भ्रष्टाचारको भवसागरमा कति तरंग ल्याउँछ, त्यो आफैंमा अनुसन्धानको विषय हो ।

यसले तत्काल सतर्कता र त्रास जगाउँछ तर समाधान दिँदैन । अनुसन्धान र मुद्दामा हासिल हुने सफलता आफ्नो ठाउँमा छ तर सुशासन स्थापनामा यसले कति योगदान पु¥याउँछ भन्ने भन्ने प्रश्न महŒवपूर्ण हो । ‘साना माछा’ समाउने, थुन्ने, मुद्दा हाल्ने अभियानमा दंग हुनुभन्दा पनि घुसखोरी रोकिने पद्धतिको निर्माण तथा नीतिगत भ्रष्टाचार सघन अनुसन्धानतिर आयोगको ऊर्जा केन्द्रित गर्नुपर्छ ।

सूचना प्रविधिको तीव्र विकास, बदलिएको समाजसँगै आर्थिक चलखेल र बदमासीका आयाम पनि फेरिएका छन् । स्टिङ अप्रेसनको परम्परागत अभ्यासमा सुधार गर्दै आफैंले पनि सूचना पाउने संयन्त्रको विकास गर्नु र सार्वजनिक सेवामा हुने घुसखोरीविरुद्धको अनुसन्धान तथा कारबाहीलाई अझ परिमार्जित बनाउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.