अस्तव्यस्त जाजरकोट अस्पताल

अस्तव्यस्त जाजरकोट अस्पताल

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौं रकम खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । 

अस्पतालमा कार्यरत डा. निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । दन्त चिकित्सक बुढा बाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी विदामा बसेपछि सेवा नै ठप्प भएको हो।

सामान्य खालका अप्रेसन गर्ने र शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आएका एमडिजिपी डा. महेश सिलवाल केही समयअघि जिल्ला छोडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् ।

स्वास्थ्य मन्त्रालयको छात्रवृत्ती कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका डा.सिलवाल एक वर्ष विताएर फर्किएका हुन् । अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोस बनाउने एन्थेसिया स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारी नभएपछि दिक्‍क भएर आफू फर्किएको उनले बताएका छन् । सातजना विशेषज्ञ चिकित्सकसहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । 

छात्रवृत्ती करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रवृत्ती करार सेवामा ४ जना डाक्टर कार्यरत छन् । लामो समयदेखि उनले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् ।

ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ । अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरुले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा. भुपेन्द्रप्रकाश मल्लले बताए ।  यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि स्थानीय मर्कामा परेका छन् ।

भेरी नगरपालिका २ का मानबहादुर वली दाँतको समस्या लिएर जिल्ला अस्पताल जाजरकोट पुगे ।दन्तचिकित्सक नहुँदा दन्तसेवा चार महिनादेखि बन्द रहेको जानकारी पाएपछि उपचारका लागि नेपालगञ्ज जान बाध्य भएको उनले दुखेसो पोखे। उनीजस्तै धेरै सेवाग्राही उपचार नपाएर फर्किने गरेका छन् ।

अस्पतालमा कार्यरत अति न्युन संख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधि दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन्।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे । विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिदै गएका छन् । नयाँ पदपूर्ति हुँदैन । कसरी सेवा प्रभावकारी बनाउने उनले भने, ' डाक्टरले अतिरिक्त काम गरेबापत दिनुपर्ने करीब पाँच लाख रुपैयाँ दिन बाँकी नै छ। उहाँहरुले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनु भएको छ। कसरी समाधान गर्ने ।'

चार वर्षअघि १५ शैयाबाट ५० शैया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सातजना विशेषज्ञ, तीनजना मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ । 

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक गरी तीनजनाको पद रिक्त छ । स्टाफ नर्स ८ मध्ये ७ रिक्त छन् । 

पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याब असिष्टेन्ट, र अहेव तीनजनाको दरबन्दीमा तीनैजना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एकजना पनि बिरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधि समेत छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.