पूर्वसचिवको घरमा रहस्यमय हत्या : सीसीटीभीले यस्तो देखायो
काठमाडौं : नेपाल सरकारको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ललितपुर सानेपास्थित घरमा मुनालाई उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पिर्काले हिर्काएर हत्या गरेपछि चौधरीले आत्महत्या गरेको प्रहरीको भनाइ छ।
कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत यो दृश्य कैद गरेपछि प्रहरी उक्त निस्कर्षमा पुगेको हो। ‘बिहान नौ बजेतिर विजयले मुनालाई पिर्काले हिर्काई भुइँमा लडाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘ भुइँमा मुना लडेपछि कपाल समातेर टाउको बजारेको देखिन्छ। विजयले नै हत्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन।’ तर विजय र मुनाबीच के कुराको खटपट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन।
कार्कीले आफन्त र प्रहरीसँग बताए अनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए। दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अर्जुनले बताए अनुसार मुना अचेत अवस्थामा लडिरेहेकी थिइन्। उनले तत्काल प्रहरीमा खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुनालाई उपचारार्थ सानेपास्थित स्टार हस्पिटल पुर्याइएको थियो। तर, मुनाको मृत्यु भएको थियो।
अर्जुनको घरमा सुत्ने कोठा र बाथरुम बाहेक अन्य स्थानमा सीसीटीभी छ। प्रहरीले अर्जुनको भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई नै आधार बनाएर अनुसन्धान दायरा फराकिलो बनाएको छ।
प्रहरी घटनास्थलमा पुग्दा मुना भान्सा कोठामा रगताम्य भएर लडिरहेकी थिइन् भने कामदार विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए। प्रहरी पुग्दाको अवस्था र अर्जुनले प्रहरीमा दिएको जानकारी दुरुस्त मिले पनि मुनाको हत्या र विजयको आत्महत्याको प्रसंग खुल्न सकेको छैन।
महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रुपमा अनुसन्धान थालेका छन्।