पूर्वसचिव पत्नीको दर्दनाक हत्या
काठमाडौं : कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको छ ।
घरमा दुई जना मात्र भएका बेलाको उक्त घटनामा विजय पनि नाइलनको डोरी घाँटीमा बाँधिएको अवस्थामा मृत फेला परेका छन् । आत्महत्याको अनुमान गरिए पनि उनले आफैं पासो लगाएको भने सीसीटीभी फुटेजमा नदेखिएको प्रहरीले जनाएको छ ।
ललितपुर सानेपास्थित घरमै मुनालाई प्लास्टिकको पिर्काले हिर्काएर चौधरीले हत्या गरेको प्रहरीले जनाएको छ । ‘बिहान १० बजेर २० मिनेटतिर विजयले मुनालाई घाँटीमा डोरीले बाँधेर भुइँमा बजारेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मुना भुइँमा लडेपछि कपाल समाती टाउको बजारेर प्लास्टिकको पिर्काले हिर्काएको देखिन्छ ।’ उनको घरमा सुत्ने कोठा र बाथरुमबाहेक अन्यत्र सीसीटीभी छ । प्रहरीले अर्जुनका भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई आधार बनाएर अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।
दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । पूर्वसचिव कार्की बिहानै पशुपतिनाथ मन्दिर गएका थिए । फर्किएपछि घटना थाहा पाएको उनले आफन्त र प्रहरीसँग बताएका छन् ।
अर्जुनका अनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरे । प्रहरी घटनास्थल पुगेपछि मुनालाई ललितपुर सानेपास्थित स्टार अस्पताल लगिएको थियो । तर, मुनाको मृत्यु भएको थियो ।
प्रहरी घटनास्थलमा पुग्दा मुना भान्साकोठामा रगताम्य भएर लडिरहेकी थिइन् । विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । घटना हुँदा कार्की दम्पतीका १२ वर्षीय छोरा विद्यालय गइसकेका थिए । घरमा कामदार रहेकी महिला छोरालाई स्कुल पुर्याउन गएकी थिइन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान थालेका छन् । ललितपुर परिसर प्रमुख एसएसपी टेक राईले घटनास्थलमा भएका सीसीटीभीलाई आधार बनाउँदा विजयले मुनाको हत्या गरेको देखिएको बताए । ‘विजयले मुनामाथि गरेको सांघातिक आक्रमण सीसीटीभीबाट देखिए पनि आफूले पासो लगाएको देखिँदैन’, एसएसपी राईले भने, ‘हामी अनुसन्धानमै छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य खुल्ने उनले बताए ।
घटनास्थलमा खटिएका महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मुनाको हत्या कामदार विजयले गराएको सीसीटीभीबाटै पुष्टि भएको बताए । ‘मुनाको हत्या विजयले गरेकामा दुईमत रहेन’, एसपी सिंहले भने, ‘तर, किन हत्या गर्यो भनेर हामी अनुसन्धानमै छौं ।’ मुना र विजयको शव पोस्टमार्टमका लागि प्रहरीले पाटन अस्पतालमा लगेको छ ।
‘चौधरी परिवारकै प्रिय थियो’
म पशुपतिनाथको दर्शन गर्न बिहानै निस्किएको थिएँ । उनी (मुना कार्की) घरमै यताउता गर्न थालिन् । त्यसैले म मात्रै मन्दिर गएँ । तर, पशुपतिबाट फर्किंदासम्म यस्तो घटना भयो । म उता भगवान्को पूजा गर्न जाने, घरमा यस्तो नराम्रो घटना हुने ? यस्तरी मार्दा कति पीडा भयो होला ? कति चिच्याइन् होला ? कति दुख्यो होला ?
म घर आउँदा गेट बन्द थियो । बोलाएँ, बोलिनन् । गेट खोलेर भित्र छिरें । टेबलमा विजय (विजय चौधरी) पछारिएको थियो । भान्सामा छिरें । रगतमा लतपतिएको देखें । मैले केही सोच्न सकिनँ । प्रहरीलाई सम्झें, फोन गरेर बोलाएँ । पापीलाई सानैदेखि पालेर राखेको थिएँ । यस्तो घटना भयो । यस्तो आपत्ति आइलाग्यो, कसरी सम्हालिन सक्छु ? मुनाको हात बाँधिएको थियो । घाँटीमा डोरीले कसेर मारेजस्तो देखिन्छ । डाइनिङ हलमा भएको एउटा मेच भाँचिएको र प्लास्टिकको पिर्का टुक्राटुक्रा भएको देखें । त्यति गर्दासम्म उनले किन प्रतिकार गर्न सकिनन् ? अचम्म लागिरहेको छ ।
चौधरी सात–आठ वर्षदेखि हाम्रो घरमा बस्दै आएको थियो । कसैसँग नराम्रो सम्बन्ध थिएन । बाबुलाई दिनको ८–१० पटक त म्वाइँ खान्थ्यो । खुब माया देखाउँथ्यो । यस्तो गर्ला भन्ने सोच नै आएन । मैले छोराछोरीलाई कसरी मुख देखाउने ? के भनेर चित्त बुझाउने ? अब एक्लै के गर्न सक्छु ? मेरी मुना मलाई छाडेर गयौ । अब कसरी बाँच्नु ?
(पूर्वसचिव अर्जुन कार्कीले आफन्तसँग गरेको कुराकानीमा आधारित)
जुन हत्या घटनामा कामदारकै संलग्नता
फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको २०७५ भदौ ४ गते बबरमहलस्थित निवासमा हत्या भयो । घटनामा उनकै कामदार सानुकान्छा तामाङको संलग्नता खुल्यो । महानगरीय प्रहरी अपराध महाशाखाले सानुकान्छालाई पक्राउ गरी अनुसन्धान गर्यो । तत्काल प्राप्त प्रमाणका आधारमा उनी छुटे पनि पछि पुनः पक्राउ परे । उनी पुर्पक्षका लागि कारागारमा छन् । काम गरेको पैसा समयमा नपाएपछि आफूले झाको हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिए ।
बूढानीलकण्ठ निवासी पार्वती ढकालको २०७४ साउन १२ गते हत्या भयो । उक्त घटनामा पूर्वकामदार सुदामा लामिछानेको संलग्नता पाइयो । नुवाकोट घर भई काठमाडौं तारकेश्वर बस्ने सुदामालाई प्रहरीले पक्राउ गर्यो । उनले पैसाको निहुँमा पार्वतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । सुदामासहितको टोली गरगहना चोरी गरेर भागेको थियो ।
सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस ई ग्याफ्नेको २०५४ मंसिर २८ गते राति हत्या भयो । प्रहरीले घटनाको १८ वर्षपछि २०७२ वैशाखमा दोलखाका ढालबहादुर खड्कालाई पक्राउ गर्योे । कामको ज्याला नदिएका कारण ललितपुर झम्सिखेलस्थित कोठामा खुकुरी प्रहार गरी ग्याफ्नेको हत्या गरेको अभियुक्तले स्वीकार गरे । उनी दराजमा रहेको २२ हजार रुपैयाँ लिएर भागेका थिए ।
‘अधिकांश घटनामा आर्थिक लेनदेन जोडिन्छ’
कामदारले घरमालिकको हत्या यस्तै नै कारणले गर्छन् भन्ने अवस्था छैन । विगतका घटनाको विश्लेषण गर्ने हो भने पैसा जोडिएर आउँछ । लुट्ने मनसाय, काम गरेबापत पारि श्रमिक नदिने, केही दिउँला भनेर आश्वासन दिने तर पछि नदिएपछि हत्या गरेको हुन सक्छ । यौनसम्बन्धका कारण पनि कामदारले मालिकको हत्या गरेका उदाहरण छन् । कतिपयमा भने वादविवाद हुँदा आवेगमा पनि कामदारले हत्या गर्न सक्छन् । यही कारणले हत्या गर्यो भन्ने विषय छानबिनपछि देखिने कुरा हो । जस्तो ः हामीले फादर ग्याफ्नेको हत्या घटनालाई पनि हेर्न सक्छौं । कामदारले पैसा नपाएकै कारण हत्या गरेको देखिन्छ । अधिकांश घटनामा आर्थिक लेनदेन जोडिएका छन् ।
(पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीसँगको कुराकानीमा आधारित)