चीनबाट फर्कनेलाई निगरानीमा राख्न अस्पतालमा १४७ शैय्या तयार
काठमाडौं : चीनको वुहान प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीलाई निगरानीमा राख्न राजधानीका ३६ अस्पतालका १ सय ४७ वटा शड्ढया तयार गरिएको छ। उनीहरूको वुहानस्थित विमानस्थलमा स्वास्थ्य जाँच गरेपछि त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा पनि परीक्षण हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘कुनै व्यक्तिलाई संक्रमणको शंका लागेमा विमानस्थलबाटै अस्पतालमा पुर्याई उपचार गर्ने व्यवस्था मिलाइएको छ।’ चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीले उद्धारका लागि नेपाली दूतावासमा निवेदन दिएका छन्।
शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल लगायतका ३६ वटा अस्पतालले एक सय ४७ आइसोलेसन बेड बिरामीका लागि छुट्याएका छन्।
मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार हेल्थ डेस्क, क्वारेन्टाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र प्यारामेडिक्सका लागि सोमबार अभिमुखीकरण तालिम दिइएको छ। तालिममा ८५ जना स्वास्थ्यकर्मी सहभागी थिए। उद्धारमा ५० देखि ६० स्वास्थ्यकर्मी खटिनेछन्। स्वास्थ्य उपचारमा मेडिकल अफिसर, स्टाफ नर्ससहितको टोली परिचालन हुनेछन्।
संक्रमित नदेखिएमा विद्यार्थीलाई कम्तीमा दुई सातासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था छ। शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तोकिएको छ। क्वारेन्टाइनमा रहँदासम्म नियमित रूपमा सबै किसिमका स्वास्थ्य परीक्षण गरिनेछ। क्वारेन्टाइनस्थल वरिपरि संक्रमण हुने सम्भावना नरहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘पीडा सुन्दा भक्कानो फुटेर आउँछ ’
चीनमा अध्ययनरत विद्यार्थीका अभिभावकले आफ्ना सन्तानलाई छिटो उद्धार गर्न आग्रह गरेका छन्। उनीहरूले संकोच नमानी जतिसक्दो चाँडै उद्धार गर्न आग्रह गरे। चीनमा रहेका विद्यार्थीले पनि रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा भिडियो कलमार्फत स्वदेश झिकाउन पहल गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे। बेइजिङस्थित नेपाली दूतावासले ठोस जवाफ दिन नसकेको गुनासो विद्यार्थीको थियो।
अभिभावक सोमिला कक्षपतिले भनिन्, ‘कोही पनि नेपाली संक्रमित छैनन्। उद्धार गरी ल्याउन सरकार किन डराएको ? अन्य छिमेकी मुलुकले आफ्ना नागरिकको उद्धार गरिसके।’
अर्का अभिभावक रमेशबहादुर सिंहले छिटो उद्धार गर्न आग्रह गरे। उनले भने, ‘मन्त्रीहरूलाई भेट्यौं। उहाँहरूले दुःखी छौं भनेर मात्रै हुँदैन। सन्तानको कुरा सुन्दा हृदय काँप्छ। कहिले उद्धार गर्नुहुन्छ ? ’ अभिभावक लीलादेवी भट्टराईले पनि चीनमा रहेका सन्तान ठूलो पीडामा रहेको सुनाइन्। उनले भनिन्, ‘उताको पीडा सुन्दा भक्कानो फुटेर आउँछ।’ एक महिनाअघि चीनबाट नेपाल आएका डा. सुमन श्रेष्ठले उद्धार गरी ल्याउन नेपाल सरकार डराएको बताए। उनले भने, ‘कोही नेपाली संक्रमित छैनन्। संकोच नमानी स्वदेश फर्काउनुपर्छ।’