आइसीयुसहितको अस्पताल सञ्चालनमा
बैतडी : बैतडीमा आइसीयुसहितको निको शक्ति अस्पताल सञ्चालनमा आएको छ। जिल्लामा पहिलो पटक नीजि लगानीमा स्थापना भएको अस्पतालमा आइसीयुसहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने गरी अस्पतालको उद्घाटन भएको छ।
फ्रान्सेली नागरिक डा. बर्नाड जेफको व्यक्तिगत लगानीमा अस्पातल सञ्चालनमा आएको हो। बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तीय सेवा दिने स्थानीयवासी आशावादी छन्।
अस्पतालले जनरल सेवाका साथै सर्जरीलगायतका सेवा पनि प्रदान गरिने अस्पतालका डा. ग्रीसले बताइन् । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताइन् ।
आइसीयुसहित २५ शैयाको अनुमति पाएको अस्पतालले तत्काल १५ शैयाबाट सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले बताए । उनले भने, 'हामीले न्यूनतम शुल्कमा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका छौं।गैर नाफामूलक हिसाबले अस्पातल सञ्चालनमा ल्याएका हौं।
अस्पतालको उद्दघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले निको शक्ति अस्पतालले बैतडी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे। अस्पताल सञ्चालन हुँदा ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।
जिल्लामा ठूलो अस्पताल नभएका बेला निजी क्षेत्रबाट खुलेको अस्पतालले उपचारका लागि भारत जाने बाध्यताको केही हद सम्म अन्त्य हुने शाहीलेकका स्थानीय मोहित भण्डारीले बताए । उनले भने, 'समान्य बिरामीको उपचारका लागि पनि भारत जानुपर्ने बाध्यता छ ।