लक्ष्मण थारू अनसन बस्दै : रेशम चौधरीको रिहाइ माग
धनगढी : थरुहट नेता लक्ष्मण थारू थरुहट क्षेत्रको अधिकारका लागि आमरण अनशनमा बस्ने भएका छन् । बिहीबारदेखि धनगढी क्याम्पस चौकमा आमरण अनशनमा बस्ने पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
थरुहट र थारूवान मोर्चाका केन्द्रीय संयोजकसमेत रहेका थारूले शान्ति र सद्भावको लागि अनशनमा बस्ने बताएका छन् । ‘अब हामी अलिकति पनि विचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी आन्दोलनमा जानु पर्ने अवस्था आएको हो', उनले भने, ‘फागुन २ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनसमेत गर्ने कार्यक्रम रहेको छ।'
माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतको रिहाइ माग राखेको छ । यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ ।
यस्तै खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम संयोजक रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरूलाई अन्यायमा पारेको भन्दै थरुहट थारुवानको आन्दोलनमा समर्थन रहेको बताएका छन् ।