५० प्रतिशत क्रियाशील सदस्य थप्दै कांग्रेस

५० प्रतिशत क्रियाशील सदस्य थप्दै कांग्रेस

काठमाडौं : कांग्रेसले आगामी महाधिवेशनका लागि ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थप गर्ने भएको छ। अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन मिति तोकेको कांग्रेसले हरेक वडामा पचास प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने निर्णय गरेको हो।

कांग्रेसको बुधबारको केन्द्रीय समिति बैठकले कुनै वडामा विधान बमोजिम वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक पर्ने संख्याभन्दा क्रियाशील सदस्यताको संख्या कम भए विधान बमोजिम कार्यसमिति र क्षेत्रीय प्रतिनिधि हुन आवश्यक पर्ने संख्यासम्म क्रियाशील सदस्यता वितरण गर्न सकिने निर्णय गरेको छ। कांग्रेसका ४ लाख ९० हजार क्रियाशील सदस्य छन्।

क्रियाशील सदस्यले वडा, गाउँपालिका हुँदै क्षेत्रीय अधिवेशनमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने भएकाले कांग्रेसमा महाधिवेशनका बेला क्रियाशीललाई लिएर विवाद हुँदै आएको छ। ‘नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखिनेछ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने। त्यस्तै कांग्रेसभित्र पछिल्लो समय विवादको मुख्य विषय बन्दै आएको विधानका धारा निलम्बनबारे पनि टुंगो लागेको शर्माले बताए। पार्टीलाई कब्जा गर्ने शैलीमा संस्थापन पक्षले विधानका धारा निलम्वन गरेको भन्दै केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पुरानै निर्णयमा सहमत भएको हो।

पुस ११ गतेको कांग्रेस केन्द्रीय समिति बैठकले विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरी पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी धारा निलम्वन गर्ने बहुमतबाट गरेको निर्णयलाई बुधबारको बैठकले सर्वसम्मतले पारित गरेको हो। बैठकले विधानका पाँचवटा धारा निलम्बन गरेको छ। धारा निलम्बनको निर्णय महाधिवेशनबाट अनुमोदन गराइने कांग्रेसले जनाएको छ। धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ) र धारा ५० (६) निलम्बन गरिएको छ।

स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिने व्यवस्था विधानमा छ।

बुधबार दुई बजे बोलाइएको केन्द्रीय समिति बैठक पनि धारा निलम्वनका विषयमा कुरा नमिल्दा चारघण्टा ढिला बसेको थियो। वरिष्ठ नेता पौडेलले धारा निलम्वनबारे असहमति जनाएपछि विवाद भएको थियो।

पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतले सम्झाएपछि पौडेल सहमत भएका थिए।

‘विवाद गर्नुपर्ने विषय केही थिएन, यो नेताहरूबीचको विश्वासको संकट मात्र हो’, केन्द्रीय सदस्य बीरबहादुर बलायरले भने, ‘यी धारा निलम्वन नगरेसम्म एक वर्षभित्र महाधिवेशन गर्नै सकिन्न।’

कांग्रेसले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको काम फागुन १५ सम्म सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तोकेको छ। सुरुमा कात्तिक मसान्तको समय पाएको निर्वाचन समितिलाई यसअघिको बैठकले माघभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको थियो। समायोजनको काममा ढिलाइ हुँदा महाधिवेशनको आन्तरिक कार्यतालिका पनि परिमार्जन गरिएको कांग्रेसको विज्ञप्तिमा छ।

बैठकले सरकारले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने दलका नेता–कार्यकर्तालाई झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलाप गरेको भन्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.