अलकत्राको सट्टा सिमेन्ट

अलकत्राको सट्टा सिमेन्ट

काठमाडौं : सडकमा अलकत्राको सट्टा सिमेन्ट प्रयोग गरिने भएको छ। सडकको गुणस्तरीयता र आर्थिक फाइदाका लागि सरकारले अलकत्राको विकल्प खोज्न लागेको हो। अहिले निर्माण भइरहेको सडकमा गुणस्तरीयता छैन।

निर्माण भएको केही समयमै भत्कने, कालोपत्रे उप्कने समस्या छ। अलकत्रा प्रयोग गरेको सडकको आयु १५ वर्षसम्म मात्र हुन्छ भने सिमेन्ट प्रयोग गर्दा ३० वर्षसम्म टिकाउ हुन्छ। लामो समयसम्म टिकाउन सिमेन्ट प्रयोग गरी सडक निर्माण गर्ने तयारी सरकारको छ। अलकत्रा आयात गर्नुपर्दा देशको व्यापारघाटासमेत दिनप्रतिदिन बढ्दै गएको छ। सकडमा हरेक वर्ष ६६ हजार मेट्रिकटन अलकत्रा प्रयोग भइरहेको छ। यसका लागि वार्षिक ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी विदेश गइरहेको छ।

सडकमा अलकत्राको स्थानमा सिमेन्ट प्रयोग बढाउन सडक विभाग र सिमेन्ट उत्पादक संघले अध्ययन गर्ने भएका छन्। सडक विभागका महानिर्देशिका केशवकुमार शर्माले सडकमा सिमेन्ट प्रयोग गर्न सकिने बताए। ‘सडकमा सिमेन्ट प्रयोग गर्न विभाग र संघले संयुक्तरूपमा अध्ययन गर्ने तयारीमा छौं’, उनले भने, ‘अलकत्राको सट्टा सिमेन्ट प्रयोग गरी सडक बनाउन सकिन्छ।’ सुरुको चरणमा अलकत्राबाट भन्दा सिमेन्ट प्रयोगले झण्डै दोब्बर लागतपर्ने देखिए पनि सडकको औसत आयुसँग तुलना गर्दा सस्तो पर्न प्राविधिक बताउँछन्।

सडकको डिजाइन र सिमेन्टको भाउ घटाउन सके सडकमा सिमेन्ट प्रयोग गर्न समस्या नहुने महानिर्देशक शर्माले बताए। सिमेन्टको लागत बढी भएको भन्दै विभागले सिमेन्टको गुणस्तरीयता नघटाइ सस्तो लागतमा सिमेन्ट उत्पादन गर्नुपर्नेमा जोड दिएको छ।

‘परीक्षणका रूपमा कुनै सडकमा सिमेन्टको प्रयोग गर्न लागेका छौं’, उनले भने,‘एक वर्षभित्र त्यसको परिणाम आउँछ।’ सडकमा सिमेन्ट प्रयोगका लागि गाइडलाइन बनाउने विभागले जनाएको छ।

सडक विभागका अनुसार देशभर एक लाख किलोमिटर सडक निर्माण भएको छ। त्यसमध्ये १५ हजार रणनीतिक सडक र ८५ हजार स्थानीय तह र प्रदेशमा सडक निर्माण भएको छ। सडक विभागका अनुसार १३ प्रतिशत कालोपत्रे, २१ प्रतिशत ग्राभेल र ६६ प्रतिशत कच्ची सडक छ। स्थानीय तहले गाउँगाउँमा सडक निर्माणमा जोड दिएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिमेन्ट उद्योगीका समस्या समाधान गरी सस्तो लागतमा सिमेन्ट उत्पादन गर्न सहजीकरण गरिने बताए। सडकमा सिमेन्टको प्रयोग गर्न सरकार तयार रहे पनि गुणस्तरीयतामा सम्झौता नगरिने उनले बताए।

नेपालमा सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर भइसकेको छ। सिमेन्ट खपत बढाउन सडकमा सिमेन्ट प्रयोगको अवधारणा ल्याइएको हो। अहिले पनि सडकका केही भागमा सिमेन्ट प्रयोग भइरहेको छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका महानिर्देशक राजेन्द्रराज शर्मालmे सिमेन्टको प्रयोग गर्दा दीर्घकालीन फाइदा हुने बताए। स्वदेशमै सिमेन्ट र क्लिंकर उत्पादन हुने भएकाले अलकत्राको विकल्प खोज्न आवश्यक भइसकेको उनको भनाइ छ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टको खपत बढ्न सके मूल्य घटाउन सकिने बताए। नेपालमै चुनढुंगा प्रशस्त रहेकाले सडकमा सिमेन्टको प्रयोग राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। अहिले सिमेन्ट र क्लिंकरमा देश आत्मनिर्भर भइसकेको छ। देशभर ४१ वटा क्लिकंर उद्योग छन्। अध्यक्ष थापाका अनुसार सिमेन्ट खपतको सुनिश्चितता नहुँदा सिमेन्टको ५० प्रतिशत उत्पादन क्षमता उपयोग हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.