लोप हुँदै छन्त्याल भाषा
बेनी : अल्पसंख्यक छन्त्याल समुदायको भाषा लोप हुँदै गएको छ। बोलीचालीमा प्रयोग भए पनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको हो। बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन्।
लिपि र शब्दकोश नहुनु, नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न हिचकिचाउनु, बसाइँसराइका कारणले भाषा लोप भएको रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्कका ७१ वर्षीय चन्द्रप्रसाद छन्त्याल बताउँछन्।
‘भाषा जानेका बूढापाका मेटिँदै गए। युवा बिदेसिए। सहर झरेपछि आफ्नो भाषा बोल्न छाडे’, उनले भने, ‘लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ।’ जातजातिको मि िश्रत बसोबास, विद्यालयमा अंग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको नेपाल छन्त्याल संघ म्याग्दीका सचिव मन छन्त्यालले बताए।
‘घरपरिवारमा मातृभाषा नबोल्नु र साथीभाइसँग भेटघाट हुँदा नेपाली भाषा प्रयोग गर्नुले मातृभाषा भुल्दै गएको हो’, उनले भने, ‘यसरी भाषा प्रयोगमा कमी आउने र बिर्सिंदै जाने हो पनि पहिचान नै नासिने चिन्ता छ।’ छन्त्याल भाषामा पानीलाई कुई, मासुलाई स्या, फुपूलाई निनी, श्रीमतीलाई ने, दूधलाई नेहे, घरलाई टम्ह भनिन्छ। बोल्न सजिलो भए पनि लिपि, व्याकरण र शब्दकोश नभएकाले लेख्न अप्ठ्यारो हुने छन्त्यालले बताए।
छन्त्यालको मूल थातथलो बागलुङ र म्याग्दी जिल्ला हो। २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ। कुल छन्त्याल समुदायको संख्या मध्यम्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत बस्ने गर्छन्।
म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगंगाको ठाडाखानी र कुइनेमंगलेमा छन्त्याल समुदायको बाहुल्य बसोबास छ। जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसंख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन्। छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृ भाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।