एचआईभी संक्रमित महिला सुत्केरी : सन्तान पाउँदा खुसी
बुटवल : रूपन्देहीकी २४ वर्षीया शर्मिला (नाम परिवर्तन) एचआईभी संक्रमित हुन्। उनलाई कोख रित्तो हुने चिन्ता थियो। चार वर्षअघि छोरी जन्माइन्। अहिले खुसी छिन्। उनका पति र छोरीमा भने एचआईभी ‘नेगेटिभ’ छ।
शर्मिला चिकित्सकको सल्लाहमै गर्भवती भएकी उनकी छोरी सकुशल जन्मिएकी थिइन्। एचआईभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउन सक्छन् भन्ने उदाहरण हो यो। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो साढे दुई वर्षमा ३० जना एचआईभी संक्रमित महिला सुत्केरी भएका छन्।
प्रादेशिक अस्पतालमा एचआईभी संक्रमितका लागि सेवा दिइरहेको एएचअफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराई भन्छन्, ‘औषधि खाएपछि हुने यौनसम्पर्कबाट एचआईभी सर्दैन। त्यही उपायबाट महिला गर्भवती हुन्छन्।’
चिकित्सकका अनुसार संक्रमित गर्भवतीको पेटबाट शल्यक्रिया गरेर बच्चा निकालिन्छ। बच्चा जन्मिनेबित्तिकै औषधि खुवाउनुपर्छ। आमाको दुध खुवाउन्जेलसम्म औषधि खुवाइने भट्टराईले बताए।
साढे दुई वर्ष अवधिमा जन्मिएका ३० मध्ये २१ जना बालबालिका एचआईभी संक्रमणमुक्त छन्। नौ बालबालिकामा भने संक्रमण भए-नभएको खुलेको छैन।
०७५/०७६ मा संक्रमित नौ महिला अस्पतालमा सुत्केरी भएका थिए। चिकित्सकको परामर्शमा उनीहरूले संक्रमणरहित बच्चा जन्माएका हुन्। चालु वर्षमा समेत ९ जना संक्रमित महिला सुत्केरी भएका छन्। तर एचआईभी संक्रमण भए-नभएको पत्ता लागेको छैन।
आव ०७४/७५ मा १२ जना संक्रमित महिलाले संक्रमणरहित सन्तान जन्माएका थिए।
अस्पतालमा सेवा लिन आएका एचआईभी संक्रमितमध्ये साढे दुई वर्षमा ७९ जनाको मृत्यु भएको छ। चालु वर्षको ६ महिनामा सात जना संक्रमितको ज्यान गएको छ। गत वर्ष ३४ जनाको मृत्यु थियो। ०७४/०७५ मा ३८ संक्रमितको मृत्यु भएको छ। ‘वर्षौंसम्म नखुलेकाहरूको मृत्यु भएको देखिन्छ’, उनले भने, ‘औषधि खानेको मृत्युदर कम छ।’
अस्पताल आएकामध्ये दुई वर्षमा २ सय ८ जना नयाँ संक्रमित भेटिएका छन्। ०७४/०७५ मा १ सय ३९ जना नयाँ संक्रमित भेटिएका थिए। गत वर्ष एचआईभी संक्रमण पत्ता लाग्नेको संख्या ६९ जना छ। अस्पतालको एआरटी सेन्टरबाट रूपन्देहीका ९ सय १३ जनाले नियमित औषधि खाने गरेका छन्।
रूपन्देहीका कञ्चन तथा सैनामैना नगरपालिका क्षेत्रमा एचआईभी संक्रमितको संख्या बढेको छ। पछिल्लो समय आप्रवासी कामदारका पत्नीमा संक्रमण दर अन्यभन्दा उच्च छ। मधेसी र मुस्लिम समुदायमा संक्रमणको जोखिम रहेको काउन्सिलर सागर न्यौपानेले बताए।
नेपालमा एचआईभी संक्रमितको संख्या करिब ४० हजार मानिएको छ। तीमध्ये १६ हजार नौ सयले मात्रै एआरटी औषधि खाने गरेका छन्। नेपालमा एचआईभी संक्रमण रोक्न विभिन्न कार्यक्रम भइरहेका छन्। फागुन १ गते कन्डम दिवस मनाइँदै छ। कन्डम प्रयोगले एचआईभी संक्रमण रोकिने भन्दै यो दिवस मनाउन लागिएको हो।