ह्याप्पी भ्यालेन्टाइन डे

ह्याप्पी भ्यालेन्टाइन डे

काठमाडौं : विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट् क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

आफ्नो आदेश नमानेको निहँुमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

भ्यालेन्टाइनलाई सम्झिएर १४ फेब्रुअरी आउनु अघिको एक साता संसार प्रेममय बन्ने गर्छ। यो दिनकै अवसरमा लाखौंले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव राख्छन्। यस्तै एक अर्ब बढी कार्ड आदानप्रदान हुने गर्छ। अमेरिकामा मात्रै एक अर्ब बढीको मुटु आकारका चकलेट बिक्री हुने गरेको छ। यस्तै विश्वभर प्रेमको प्रतीकको रूपमा मानिने गुलाबको अत्यधिक बिक्री हुन्छ।

नायिका छुल्ठिम गुरुङ प्रेमलाई जिन्दगीको महत्वपूर्ण तत्वको रूपमा बुझ्छिन्। भन्छिन्, ‘प्रेम यही नै हो भनेर व्याख्या गर्न त सकिँदैन। तर जीवनको अभिन्न तत्त्व हो। प्रेमबिनाको जीवन कल्पना गर्न पनि सकिन्न तर प्रेम मात्रै भएर पनि जिन्दगी चल्दैन।’

टिनएजमै गायक धीरज राईसँग प्रेमविवाह गरेकी छुल्ठिमलाई पहिलो पटक प्रेमको महसुस भने हिन्दी फिल्म हेर्ने क्रममा भएको थियो। बलिउडका रोमान्टिक फिल्म हेर्दा नायिकाको ठाउँमा आफैंलाई राखेर हेर्थिन्। वीरगन्जमा हुर्किएकी उनका लागि बुवा सुपरम्यान थिए। भन्छिन्, ‘मैले सबैभन्दा पहिले बुवालाई प्रेम गरे। हिरो लाग्थ्यो बुवा मलाई। मलाई माया गर्नेहरूमा पनि मैले बुवाको क्वालिटी खोज्छु।’

छुल्ठिम पहिलो प्रेम सम्झँदै भन्छिन्, ‘पहिलो डेट त म धीरजजी सँगै गरेकी थिएँ। जम्मा चार पटकको भेटपछि टिनएजमै बिहे गरियो। सायद कच्चा उमेरमै गरेको बिहे भएर होला, लामो समय लैजान सकिएन।’ छुल्ठिम अहिले सिंगल नै छिन्। विवाहको धङधङ्गीबाट भर्खरै मात्रै बाहिर निस्किएकाले पनि होला, तत्कालै कसैसँग सम्बन्ध गाँसिहाल्ने हतारो छैन उनलाई। जबसम्म प्रेममा विश्वाससँगै एकअर्काको कामको सम्मान हुँदैन, तबसम्म प्रेमको मिठास नमिल्ने उनको तर्क छ।

पोखराका नवीन लम्साल, पूर्वप्रेमिकाको खुब ख्याल गर्ने बानी अहिलेसम्म सम्झिरहन्छन्। ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म स्टडीमा स्नातक सकाएका उनको ‘चिसो एस्टे«’ फिल्मको भर्खरै मात्रै छायांकन सकियो। यसअघि उनले कारखाना, राहदानी र ओपन विन्डो फिल्ममा पनि अभिनय गरिसकेका छन्। आफ्नो विगतलाई नवीनले ब्युटिफुल मोमेन्टको रूपमा सम्झिन्छन्। ‘टिनएज लभ लामो समय टिकाउनै गाह्रो,’ उनले प्रष्ट्याए। उनी फिल्मी क्षेत्रमा प्रवेश गरेको सुरुआतको समय थियो। एक एअर होस्टेससँग सम्बन्ध गाँसियो। सायद दुवैमा सम्बन्ध अघि बढाउने परिपक्वता आइसकेको थिएन। त्यसैले सहमतिमै छुट्टिए। नवीन भन्छन्, ‘हरेकको जीवनमा पहिलो प्रेमको महत्त्व बढी हुन्छ। छुट्टिने दिन हामी खुब रोएका थियौ। बोली नफुटेर आँसुमात्रै झरिरहने साँच्ची अजीव हुने रहेछ यो माया।’ उनकी प्रेमिका परिवारसँग अमेरिका उडिन् भने उनी करियरमै दौडिरहे। छुटेर गएको पाँच वर्ष भयो तर हरेक जन्मदिनमा पहिलो ‘विस’ उनै पूर्वप्रेमिकाले गर्छिन् रे। नवीनलाई अहिले प्रेमका प्रपोज नआएका हैनन् तर प्रेमदेखि पूरै बेखबर बनिदिए। कहिले एक्लै लामो यात्रामा निस्कन्थे त कहिले साथीहरूसँग रमाइलो गरेरै पाँच वर्ष बित्यो। भन्छन्, ‘अब बल्ल कोही आवश्यक छ भन्ने लागिराछ। हेरौं समयले कहिले जुराउँछ।’

भ्यालेन्टाइन डे को दिन खासै केही विशेष योजना नबनाएका नवीन प्रेमलाई जिन्दगीको रंगीन पक्षको रूपमा बुझेका छन्। प्रेमको अनुभव नै अजीवको। जति भेटे पनि धीत नमर्ने, गफ गरे पनि कुरा नसकिने। बेग्लै उन्माद, बेग्लै छटपटी। प्रेम महिला र पुरुषका बीचमा मात्रै हुन्छ भन्ने लाग्दैन उनलाई। परिवार, साथीभाइ, आफन्त सबैसँग प्रेम बाँड्न सकिन्छ।

सेड्स द ब्युटी सैलुनकी मेकअप आर्टिस्ट सिर्जना कार्कीले २० वर्षअघि काठमाडौंका सत्यन श्रेष्ठसँग प्रेम विवाह गरिन्। उनीहरूका दुई सन्तान छन्। पुतलीसडकमा जब सत्यनले पहिलो पटक सिर्जनालाई देखे। भित्रैदेखि मन पराए। सिर्जनाको युवा मनले पनि सत्यनलाई रोजिसकेको थियो। लजालु स्वभावका सत्यन सिर्जनाका लागि दिलको राजा बने। दुई दशकको वैवाहिक जीवनमा नमिठो पल खासै नआएको बताउने सिर्जना प्रेमलाई विश्वासले जित्नु पर्नेमा जोड दिन्छिन्। कतिपय ससाना कुराहरू बेवास्ता गर्न पनि सिक्नुपर्छ। राजधानी दैनिकमा फोटो पत्रकारका रूपमा कार्यरत सत्यन सिर्जनाको काम गर्ने शैली, मायालु बानीको खुलेर प्रशंसा गर्छन्। भन्छन्, ‘उनले मेरो जीवनको लय नै बदली दिइन्।’कसैलाई मन परे...

प्रेम एक अनुभूति हो। प्रेमको आँगनमा सबै सम्बन्ध अटाउने भए पनि मुख्यतः महिला र पुरुषबीचको आत्मीय सम्बन्धलाई प्रेमले बोक्छ। प्रेममा जात, धर्म, स्तर, भाषा, संस्कृति कुनै पनि चिजले बन्देज लगाउन सक्दैन।

आज भ्यालेन्टाइन डेको उत्सव संसारभर चलिरहेको छ। तपाईंले पनि कसैलाई मन पराउनु भएको छ भने हतार नगर्नुहोस्। केही समय नजिकिने कोसिस गर्नुस्। उनका आनिबानी, काम, रुचि, चाहना बुझ्न खोज्नुस्। आफूप्रति सकारात्मक धारणा बनाउनु छ भने झुट नबोल्नुस्। उनलाई इम्प्रेस पार्न कुनै गलत बाटो नछान्नुस्।

आफ्ना कुरा खुलस्त राख्नुस्। जवाफको लागि समय दिनुस्। प्रेममा छट्पटी हुन्छ, भेट्ने रहर हुन्छ, सँगै बसिरहन, बोलिरहन मन पर्छ। यो प्रेमको चरित्र हो, यसलाई सामान्य ठान्नुस्। तपाईंले सफा मनले प्रेम गर्नुहोस्। बदलामा तपाईं पनि त्यस्तै प्रेम पाउनुहुन्छ। तपाईंको जीवन प्रेममय बनोस्। ह्याप्पी भ्यालेन्टाइन डे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.