प्रेम त पूर्णता हो
आज मानिस जुन एकता, विकास र समृद्धि खोज्दै युद्ध, क्रान्ति, राजनीति या अनुसन्धानमा लागेको छ, ती सबै प्राप्तिको लक्ष्य भने प्रेम नै हो। किनकि सबै चिज प्राप्त गरेर व्यक्ति प्रेममा बाँच्न चाहन्छ। आजसम्म मानिस शरीरको लतमा प्रेम खोज्दै हिँड्यो त्यसैले जीवनमा जे पनि प्राप्त गर्यो अपूर्णता नै महसुस गर्दै आइरहेको छ। प्रेम कसैबाट प्राप्त गर्ने र आफ्नालाई मात्र दिने चिज भन्ठान्यो। प्रेम त व्यक्तिभित्रको आन्तरिक स्वभाव हो जसलाई कारणबस दिने चिज होइन भन्ने बुझेन मानिसले। प्रेम छ भने सबैमा हुन्छ, कसैलाई प्रेम र कसैलाई घृणा हुनै सक्दैन। प्रेम त सतत् प्रतिपल भइरहेछ। प्रकृतिका सारा सृष्टिप्रतिको प्रेम नै प्रेम हो। प्रेमका अनेक भाव र तरिका हुन्छन् तर यिनको कुनै सर्त हुँदैन, कुनै माग र अपेक्षा हुँदैन। करुणा, प्रसन्नता, परोपकार, दिने भावना अर्थात् आन्तरिक गुणवत्ता प्रेम हो, आन्तरिक पूर्णता प्रेम हो। प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन। प्रेमलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन। प्रेम आफैंमा एक रहस्यमय प्रयोगशाला हो, जसलाई अनभूति मात्र गर्न सकिन्छ।
अनुभूति र अनुभवको नाम नै प्रेम हो। सृष्टिको स्रोत नै प्रेम हो। प्रेमका कारण हामीले जीवन पाएका छौं। प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका छौं हामी। हृदयको सुन्दैनौं, तर मष्तिस्कको इशारामा बढी चल्छौं। मष्तिस्कले कहिल्यै रहस्यलाई रहस्यका रूपमा रहन दिँदैन। कुनै पनि चिज, भाव या रहस्यलाई परिभाषामा नउतारीकन मन शान्त हुँदैन। तर कयौं चिज यस्ता छन्, जसलाई परिभाषामा बाँध्न र व्याख्यामा समेट्न सकिन्न। कुनै कविता, उपन्यास पढेर प्रेम जान्न सकिन्न। बरू प्रेमकै कारण कविता फुर्छन् र उपन्यास लेखिन्छन्। ओशो भन्छन्, ‘प्रेमको प्रसंगलाई लिएर मानिस भ्रममा छन्। जीवनको सफलता सम्बन्ध,पद र प्रतिष्ठामा छ भनेर जीवनभर यिनै कुरा प्राप्तिका लागि मानिस दौडिरहेको हुन्छ तर समस्त जीवनको सफलता प्रेममा छिपेको छ।
जीवनको केन्द्रमा एक मात्र प्यास, प्रार्थना र अभिप्सा छ भने त्यो हो- प्रेम। बाहिरका सम्बन्ध र सम्पन्नता चाहेअनुरूप भएन भने मानिस जीवनलाई व्यर्थ ठान्छ तर त्यसो होइन। जबसम्म जीवनको केन्द्रमा रहेको प्रेम फलित हुन सक्दैन, प्रेमको वीज अंकुराउन सक्दैन तब जीवन व्यर्थ, विनामूल्यको, निरस महसुस लाग्न थाल्छ। यो संसारजतिको हराभरा र मानिसको जीवनजतिको आनन्दित र उत्सवपूर्ण अरू केही छैन। मरेपछि स्वर्ग देख्ने होइन, यो जीवित स्वर्गरूपी जीवनलाई प्रेमले भरिपूर्ण बनाऊ र स्वर्गीय आनन्द लिऊ। जीवन समाप्त हुनुअगाडि नै जगत्लाई प्रेम गर, प्रेम देऊ, प्रेममा डुब, प्रेमको आनन्द लिऊ। मरेपछिको स्वर्ग कसैले देखेको छैन।’
प्रेमले स्वार्थबाट परोपकारतर्फ प्रेरित गर्छ र जतिसुकै भय र कठिन परिस्थितिलाई पनि आन्तरिक शक्ति र जितमा परिणत गरिदिन्छ।
वास्तवमा व्यक्ति जीवनमा सफलताका लागि भनेर अनेक संघर्ष गर्छ, मेहनत गर्छ, अनेक प्रपञ्च रच्छ। यसको प्रमुख कारण पनि प्रेम नै हो। प्रेमले नै मानिसलाई संघर्षशील बनाउँछ। प्रेमका लागि मानिस सबै कुरा त्याग्न तयार हुन्छ। त्यसो त प्रेम प्राप्त भएपछि अरू सबै कुरा आफैं छुट्दै जान्छन्।
सूक्ष्मरूपमा हरेक क्रियाकलापमा प्रेमरूपी दृष्टि नहुनाले मानिस प्रेम शब्दलाई संकुचित तरिकाले प्रयोग गर्छन््। प्रेम त जीवनको पोषण हो। सृष्टिका सबै प्राणी र वस्तुलाई जीवित रहन, आफ्नो अस्तित्व बचाइराख्न पोषणको आवश्यकता पर्छ। जीवनमा प्रेम भएन र चराचर जगत्लाई प्रेम दिन जानिएन भने हामीसँग प्रेमरूपी कुनै गुण छैन भन्दा अनुपयुक्त हुँदैन।
कैयन् ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेको भाव हो- प्रेम। प्रेम अनन्त आकाशभन्दा फराकिलो छ। शदीयौं बिते प्रेमका परिभाषा असम्भव भएका छन्, जसको कुनै सीमा छैन, आँकडा छैन, अंकगणित छैन, आफैंमा अनन्त र विराट् अर्थ बोकेको छ। प्रेमलाई पनि मानिसले परिकल्पना गरेका कुनै आयोजना जस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौं हामी। प्रेम कुनै वस्तु होइन, जसलाई कसी लगाएर प्रमाणित गर्न सकियोस्। जसले आफ्नो मन र मष्तिस्कको इशारा बुझ्न सक्दैन, मनभन्दा पर पनि कुनै अस्तित्व छ भन्ने जान्दैन, उसले मात्र हरेक कुरालाई परिभाषामा सीमित गरेर, तर्कद्वारा सिद्ध गर्न खोज्छ। जसको मन ऊभन्दा अगाडि छ अर्थात् जसले आफ्नो मनलाई आफ्नो मालिक बनाएको छ, ऊ हरेक कुरामा स्पष्टता चाहन्छ।
बुद्धिमानी त्यसमै छ, हामी प्रेमपूर्ण बाँच्न सुरु गरौं, जीवनलाई प्रेमले भरिपूर्ण पारौं र आनन्दित बनाऔं। जसको अनुभूति मात्र गर्न सकिन्छ त्यसलाई कसरी शब्दमा उतार्ने ? प्रेम अनुभूति हो; रहस्य हो र राज हो। यसमा जति तर्क र बुद्धि लगाए पनि, मन जति मालिक हुन खोजे पनि यो रहस्यमै रहन्छ। यो रहस्यको आनन्दमा डुब्नुजतिको समझदारी अरू हुनै सक्दैन। जीवनको रहस्य आनन्दमा समाहित हुनु हो भने प्रेमको रहस्य अस्तित्वसँग तादात्म्य जोड्नु हो। प्रकृतिसँग रमाउनु हो। आफैंभित्र डुबुल्की लगाउनु हो।
प्रेमले अराजक व्यक्तिलाई पनि सिर्जनशील बनाउँछ। प्रेमले नै स्वार्थबाट परोपकारतर्फ प्रेरित गर्छ। प्रेमले जतिसुकै भय र कठिन परिस्थितिलाई पनि आन्तरिक शक्ति र जितमा परिणत गरिदिन्छ। घृणामा भन्दा सयौं गुणा ताकत हुन्छ प्रेममा। हृदयमा प्रेमको झंकार उठ्नासाथ रिस, राग, वैमनस्य आफैं हराएर जान्छ। शान्ति, भक्ति, समृद्धि, प्रगति प्रेमविना सम्भव छैन। एक व्यक्ति भौतिक सम्पदाले भरिपूर्ण छ, धन, पद, रूप सबै छ तर उसँग प्रेम छैन भने को उसको नजिक पर्छ ?
‘आया प्रेम कहाँ गया, देखा था सब कोय,
छिन रोवे, छिन हँसे, यह तो प्रेम न होय’
सन्त कविरले भने झैं केही पाउँदा खुसी र कसैले दिँदा आनन्द महसुस गर्ने तर कसैले चोट पुर्याउँदा चित्त दुख्छ भने पनि प्रेममा छैनौं हामी। किनकि चोट मस्तिस्कमा लाग्छ, हृदयमा होइन। हृदयले सधैं सबैलाई प्रेम बाँडिरहेको हुन्छ। हाम्रो मन र मस्तिष्कले हृदयलाई प्रस्फुटन हुन नदिँदाको बखत मात्र हामीलाई वासनाले सताउने गर्छ। कसैको रूप, धन, पद आदि भौतिक सम्पदासँग गरिने प्रेम मस्तिस्कको खेल हो, हिसाबकिताब, अंकगणित हो प्रेम होइन। प्रेम त हृदयको झंकारबाट प्रस्फुटन हुन्छ, जसले भौतिक सम्पदासँग कुनै तादात्म्य राख्दैन। प्रेम अथाह ऊर्जाको स्रोत हो। रूपान्तरणको शक्ति कहीं छ त त्यो प्रेममा छ। प्रेममा नै प्रकाश छ, परिपूर्णता छ। त्यसैले जीवनको मार्ग र स्रोत प्रेमबाट नै पूर्णता मिल्छ। प्रेम अस्तित्व हो; भगवान् हो; परमात्मा हो। यसलाई व्यक्तिले जुन कुरासँग तादात्म्य जोड्न मनपर्छ, त्यसैसँग जोड्छ। जुन नामसँग उसलाई खुसी मिल्छ; जोसँग उसलाई आनन्द मिल्छ; त्यसकै नाम प्रेम हो। प्रेम कुनै सिद्धान्त होइन। कुनै बौद्धिक चर्चा र अनुसन्धानले प्रेमलाई पुष्टि गर्न सकिँदैन। जसले प्रेमको सागरमा पौडिन जानेको छैन, उसले पौडिने कसरी भनेर अनेकौं किताब पढे पनि अनुभवविना पुष्टि गर्न सक्दैन। प्रेम दिन जान्नेले प्रेमको अनुभूति गर्न सक्छ। निडर, निर्भय, समर्पण, भक्ति र श्रद्धाजस्ता गुण आफूमा कायम राख्न सक्नेले मात्र प्रेम जान्न सक्छ। प्रेम अधिकार होइन, त्याग हो भन्ने अहंकार तिरोहित भएको अवस्थामा पुग्न सक्छ।