राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
बुटवल : राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १० निवासी उपाध्यायको शुक्रबार निधन भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट ०७४ सालमा राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका उनको कार्यकाल केही दिनमात्रै बाँकी थियो । क्यान्सर रोगबाट पीडित ५० वर्षीया उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।
०४६ सालको आन्दोलनदेखि राजनीतिमा सक्रिय उपाध्याय ०५४ मा साबिक मधुवती गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । विभिन्न संघ संस्थाको नेतृत्वमा रहेर काम गरेका उपाध्याय कांग्रेसका स्वच्छछविका नेता मानिन्थे ।
प्रदेशसभा सांसद फखरुद्धिन खानका अनुसार उपाध्यापको आजै अन्तिम संस्कार हुनेछ । उपाध्यायको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले उपाध्यापप्रति श्रद्धाञ्जली दिएका छन् ।