भन्सारमै छैन क्वारेन्टाइन
टीकापुर : कैलालीको दक्षिणी सीमावर्ती खक्रौलामा रहेको सत्ती छोटी भन्सार कार्यालय मुल भन्सार बनेको डेढ वर्ष बित्नै लाग्दा समेत वनस्तपति, पशु क्यारेन्टाइन तथा खाद्य प्रयोगशाला नहुँदा व्यवसायी मर्कामा परेका छन् ।
सत्ती भन्सारमा वनस्पति, पशु क्यारेन्टाइन र खाद्य प्रयोगशाला नहुँदा व्यवसायीलाई धनगढीको त्रिनगर भन्सारबाट क्यारेन्टाइन जाँच गर्नुपर्ने बाध्यता छ ।
भन्सारबाट आयात-निर्यात हुने फलफूल, तरकारीका लागि वनस्पति, पशुपंक्षीका लागि पशु क्वारेन्टाइन र खाद्य सामग्री चेकजाँचका लागि खाद्य प्रयोगशाला स्थापनाको पहल भइरहेको भएपनि सुनुवाइ नभएको सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले बताए ।
'सत्ती भन्सारबाट सामान ल्याउन व्यवसायी तयार भएपनि प्रयोगशाला नहुँदा व्यवसायीले क्वारेन्टाइन जाँचको कागज बनाउन धनगढी जानुपर्ने बाध्यता छ,' उनले भने, 'भन्सार स्तरोन्नति भएपनि पूर्णरुपमा सञ्चालनमा आउन समेत प्रयोगशाला चाहिन्छ ।'
सत्ती भन्सार कार्यालयले यस आर्थिक वर्षको साउनयता ३ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । क्वारेन्टाइन नहुँदा व्यावसायीले अन्यत्र जानुपर्ने बाध्यताले समेत लक्ष्यमा असर गरेको ढकालले बताए ।
भन्सारमा भारतबाट लत्ता कपडा, हार्डवयर र मेसिनरी सामानका पार्टलगायतमा वस्तु आयात हुने गरेका छन् । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले आफूहरूले सोचे जस्तो ठूला सामान ल्याउन सकिने अवस्था नरहेको बताए। 'भारतमा नेपालको भन्सारसम्म आउने सडक त्यत्ति राम्रो छैन। ठूला कन्टेनर आउन सक्दैनन्,' अध्यक्ष भण्डारीले भने, 'भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि मन्त्रालयमा पहल भइरहेको छ भने भारततर्फ बाटो बनाउने कुरामा भारतीय पक्षसित छलफल चलिरहेको छ ।'
टीकापुर बजारका व्यापारी प्रकाश तिमिल्सिनाले मूल भन्सार बनेपनि क्वारेन्टाइन नहुँदा तरकारी र फलफूलजन्य सामान ल्याउन धनगढी नै जानुपर्ने बाध्यता रहेको बताए । 'तरकारी र फलफूल त ल्याउन सकिन्थ्यो,' उनले भने, 'भन्सारमा क्वारेन्टाइन छैन, हामीले धनगढीको त्रिनगर भन्सार जानुपर्छ ।'
भारतका मुख्य व्यापारिक केन्द्र दिल्ली, लखनउ, कानपुरबाट निकै नजिकको दूरीमा रहेको सत्ती भन्सार कार्यालयबाट सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लामा सामान आयात हुने गरेको छ। सत्ती भन्सार कार्यालयको स्तरोन्नति भएपनि आवश्यक पूर्वाधार नहुँदा सञ्चालनमा समस्या भइरहेको छ ।