परजीवी पराक्रम

परजीवी पराक्रम

गत आइतबार ‘प्यारासाइट’का कलाकार तथा प्राविधिक क्यालिफोर्नियाको डल्बी थिएटरको मञ्चमा उक्ले। पालो थियो, उत्कृष्ट फिल्मको अवार्ड थाप्ने। यो यस्तो साँझ थियो जुन कोरियाका लागि मात्र होइन, सम्पूर्ण विश्व सिनेमाका लागि सम्झनलायक साँझ थियो।

मञ्चमा उक्लिएर निर्माता वाक सिन ऐले दोभाषेको सहारामा छोटो तर अर्थपूर्ण कुरा भनिन्, ‘मलाई यस्तो अनभूत भइरहेछ, यो क्षण इतिहास बनिरहेको छ।’ वाक सिन गलत थिइनन्। ऐतिहासिक डल्बी थिएटरमा विश्व सिनेमाका थुप्रै हस्तीलाई जिल्याउँदै ‘प्यारासाइट’ले चार चारवटा ओस्कार अवार्ड जितेर विश्व सिनेमालाई तरंगित बनाएको थियो।

वक सिनले बोलेपछि फिल्मकी कार्यकारी निर्माता माइक लीले पनि बोल्न माइक हातमा लिइन्। तर, उनले बोल्नुअगावै स्टेजको लाइट मधुरो भयो। क्यामरा जेन फोन्डातिर तेर्सिए जसले समारोह अन्त्य भएको घोषणा गर्ने जिम्मेवारी पाएकी थिइन्। तर, हलमा रहेका दर्शकले त्यसो हुन दिएनन्। हुटिङ गरे र लीलाई बोल्न दिन आग्रह गरे। लीलाई बोल्न दिनुपर्ने हुटिङको नेतृत्व गरेका थिए, विश्व सिनेमाका उम्दा अभिनेता टम ह्याक्सले। ‘प्यारासाइट’को जितमा हलिउड कति खुसी थियो, यो सानो झलक थियो।

स्टेजको लाइट निभ्ने–बल्ने गरेझैं ‘प्यारासाइट’को ओस्कार क्याम्पेन पनि अँध्यारो–उज्यालोको यस्तै यात्रा पार गर्दै डल्बी थिएटरसम्म पुगेको थियो। फिल्मले कान्समा पाम डी ओर जितेको थियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डमा कलाकारको समूहले अभिनयतर्फको पुरस्कार जितेको थियो। ब्रिटिस फिल्म एकेडेमी अवार्ड (बाफ्टा)मा र राइटर्स गिल्ड अवार्डमा पनि फिल्मले मौलिक पटकथातर्फको अवार्ड मात्र जितेको थियो। अर्थात् योभन्दा अघि कसैले पनि फिल्मलाई उत्कृष्ट फिल्मको दाबेदार मानेका थिएनन्। अझ त्यसमाथि एउटा पनि गैरअंग्रेजी फिल्मले उत्कृष्ट फिल्मको अवार्ड नपाएको ओस्कारको इतिहास थियो।

‘ओस्कार समारोहपछि तपाईं के गर्दै हुनुहुन्छ ? ’ बङको जवाफ थियो, ‘भोलि साँझसम्म पिउँछु।’ पिउनलाई बङले योभन्दा सानदार बहाना कहिले पाउलान् ?

 अधिकांश समीक्षकको अनुमानमा साम मेन्डिसको ‘१९७१’ यो सालको उत्कृष्ट फिल्मको दौडमा सबैभन्दा अगाडि थियो। तर, बङ जन हु निर्देशित ‘प्यारासाइट’ले साम मेन्डिस मात्र होइन; मार्टिन स्कोरसिज, क्वान्टिन टेरेन्टिनो जस्ता दिग्गज निर्देशकलाई पनि जिल्यायो। फिल्मले ९२ वर्ष लामो अस्करको इतिहासमा गैरअंग्रेजी भाषामा बनेको फिल्ममा उत्कृष्ट फिल्म जित्ने कीर्तिमान त बनायो नै, साथमा अन्तर्राष्ट्रिय फिचर फिल्म र उत्कृष्ट फिल्म दुवै जित्ने पहिलो फिल्ममा पनि दरियो। ‘प्यारासाइट’अघि ११ वटा गैरअंग्रेजी फिल्म मात्र यसरी अन्तर्राष्ट्रिय फिचर फिल्म र उत्कृष्ट फिल्मको मनोनयनमा अटाएका थिए। समारोहमा ‘प्यारासाइट’ले उत्कृष्ट निर्देशक र मौलिक पटकथातर्फको अवार्ड पनि जितेको थियो।

ओस्कारमा ‘प्यारासाइट’को जितलाई फिल्म पण्डितले बहुआयामिक कोणबाट व्याख्या गर्न थालेका छन्। कसैको विश्लेषणमा यो जित ओस्कारको बदलिँदो संरचनाको प्रभाव हो भने कसैको नजरमा कोरियन फिल्मको धाक। कसैले भने यो जितलाई ओस्कारलाई गोराको मात्र अवार्डको आरोपबाट बाहिर निकाल्ने प्रयत्नका रूपमा अथ्र्याएका छन्। पछिल्लो समय ओस्कारलाई लिएर संसारभर नै विरोधको लहर उठ्न थालेको थियो। रङ, जात र लैंगिकताको सवालमा अवार्ड पक्षपाती रहेको भन्दै अमेरिकामै पनि यसको नियतलाई लिएर बाक्लै प्रश्न उठ्न थालेका थिए। 
जसरी लियोनार्दो डिकाप्रियोलाई ओस्कार नदिँदा ओस्कार आलोचित थियो, त्यसैगरी अवार्ड गोराले मात्र बाँडीचुँडी लिइरहँदा बाँकी विश्व ओस्कारसँग असन्तुष्ट थियो। त्यसैले ओस्कारलाई जसरी लियोलाई अवार्ड दिन ‘रेभेनेन्ट’जस्तो फिल्मको प्रतीक्षा थियो, त्यस्तै प्रतीक्षा एसियाबाट आउने फिल्मको पनि थियो। पुँजीवादी व्यवस्थालाई आलोचनात्मक चेतसहित हेर्दै सतहमा आएको ‘प्यारासाइट’ यो कामका लागि सबैभन्दा योग्य फिल्म थियो। त्यसैले ‘प्यारासाइट’लाई जति ओस्कारको जरुरी थियो, त्योभन्दा बढी जरुरी ओस्कारलाई ‘प्यारासाइट’को थियो।

पछिल्ला वर्षमा काला जातिको कथामा बनेका ‘टवेल्भ इयर स्लेभ’ र ‘ग्रिनबुक’ जस्ता फिल्मले पुरस्कार पाएका थिए। तर, ओस्कारलाई ‘सिनेमाका लागि दिइने’ अवार्डमा विश्वास गर्नेहरूलाई यसले पनि सन्तोष दिएको थिएन। गत साल काला र गोराको मित्रताको कथा बुनिएको ‘ग्रिनबुक’लाई अवार्ड दिएपछि ओस्कारले सिनेमाभन्दा पनि मुद्दा हेरेर अवार्ड दिन थालेको आवाज उठेका थिए। तर, यो साल ‘प्यारासाइट’को जितले ओस्कार फेरि सिनेमामा फर्किएको धेरैको निष्कर्ष छ। बङको ओस्कार जितपछि भेराइटीका समीक्षक ओवेन ग्लेइबरमेनले भनेको कुराले यही संकेत गर्छ। उनले भनेका थिए, ‘केही वर्षयता हाम्रो बहस मार्भल भर्सेज सिनेमामा कैद थियो। ओस्कारले सिनेमामा छानेको छ।’

नयाँ विषय, शैली र शिल्पको उद्घाटनमा सिनेमाले ठूलो फड्को मारेको छ। ‘प्यारासाइट’को ऐतिहासिक जितका पछाडि पनि समीक्षकले यिनै तीन तत्वलाई कारक मानेका छन्। वर्ग निर्माणको विश्वजनीन प्रक्रियालाई बङले सिनेमाको कुनै एक जन्रमा नबाँधी यसरी प्रस्तुत गरेका छन् जसले विषयको गहिराइसँगै प्रस्तुतिमा पनि नयाँ शैलीको बान्की पेस गरेको छ। र, संसारका उत्कृष्ट अवार्डले तिनै फिल्मलाई पुरस्कृत गर्छन् जसले सिनेमा निर्माणमा नयाँ व्याकरण बनाउँछन्।

‘प्यारासाइट’ले यस्तो परिवारको कथा पेस गर्छ जो गरिब छ तर चतुर छ। यही चतुर्‍याइँ प्रयोग गर्दै किमको परिवार पालैसँग पार्कको घरमा प्रवेश गर्छ। तर, व्यक्तिगत महत्वाकांक्षाको कुनै सीमा हुन्न। कुनै समय सडेगलेको पाउरोटी खाएर गुजारा गर्ने किमको परिवारलाई पार्कको घरमा गएपछि खान लाउनको कुनै समस्या छैन तर धनी बन्ने र उनीहरूजस्तै जीवन बाँच्ने लालसाले उनीहरू एकपछि अर्को अपराध गर्दै जान्छन्। उनीहरूको महत्वाकांक्षाले किमको परिवार त बर्बाद हुन्छ नै, साथमा पार्कको परिवार र पार्ककै घरमा काम गर्ने नोकरको पनि दुनियाँ तहसनहस हुन्छ। किम परिवारको यात्रा जहाँबाट सुरु भएको थियो, त्यहीँ पुगेर टुंगिन्छ। किम परिवारको यो नियतिलाई माध्यम बनाएर फिल्मले पुँजीवादी व्यवस्थाको कटु यथार्थलाई उदांगो गरेको छ। पुँजीवादी व्यवस्थामा ‘गरिबले जति नै प्रयत्न गरोस्, धनी हुन सक्दैन’, फिल्मले यही सत्यको उद्घाटनसँगै बिट मारेको छ।

आर्थिक शक्तिमा विश्वमा १२औं स्थानमा रहेको कोरियामा धनी र गरिबबीचको खाडल कसरी बढिरहेको छ, बोङको यो फिल्मको सहायक कथा हो। फिल्मको मुख्य कथा हो, व्यक्तिले व्यक्तिको रूपमा बाँच्न पाउने अधिकारमाथि भइरहेको अतिक्रमण। फिल्मले दर्शकलाई छाडेको प्रश्न हो, ‘मान्छेलाई सम्मानजनक रूपमा बाँच्न केले गाह्रो बनाइरहेको छ ? ’

विपन्नता आजका दिनमा ‘युनिभर्सल ट्रुथ’ हो तर उत्तिकै मौलिक पनि। कोरियाको विपन्नता र नेपालको विपन्नतामा कसैगरी पनि एकरूपता भेट्न सकिन्न। आज संसारका दर्शकले यो फिल्म किन रुचाइरहेका छन् भने फिल्म हेरिरहँदा हरकोहीले यसमा आफ्नो देश र समाजको विपन्नता अनुभूत गर्न सक्छन्। यसो गर्नलाई बोङले डार्क ह्युमरदेखि थ्रिलर र हरर जन्रका गुणसमेत समेटेका छन्। त्यसैले अवार्ड पाउने धेरै फिल्मभन्दा फरक यो हेरुन्जेल रोचक पनि छ। एकपछि घट्ने घटनाक्रमले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छन्। यसका लागि बोङले मानवीय संरचनादेखि प्रकृतिसम्मलाई पात्रको रूपमा प्रयोेग गरेका छन्। तर, सबैभन्दा अर्थपूर्ण प्रयोग छ, बेसमेन्ट अर्थात् छिँडीको।

सियोलमा छिँडीको बास गरिबीको प्रतीक हो। आज पनि सियोलका ६ प्रतिशत बासिन्दा यस्तै छिँडीमा गुजारा गर्छन्। यही छिँडीलाई बोङले भने सम्पन्नता र विपन्नताको विम्बका रूपमा प्रयोग गरेका छन्। तर, सियोलको इतिहासमा यी छिँडीको निर्माण राजनीतिसँग जोडिएको छ।

सन् १९६८ मा उत्तर कोरियाका कमान्डोहरू दक्षिण कोरियाका राष्ट्रपतिको हत्या गर्ने मनशायले छिरेको हल्ला चल्यो। यसको दुई वर्षपछि दक्षिण कोरिया सरकारले नयाँ घर निर्माण नीति जारी गर्‍यो जहाँ घर बनाउँदा छिँडी बनाउनैपर्ने बाध्यकारी नियम लागू गरियो। बंकरजस्ता लाग्ने यी छिँडीमा राष्ट्रिय संकट आइपरे लुक्न सकिन्छ भन्ने सरकारको आशय थियो। कोरियन भाषामा बन्झिहा भनिने घरको यो तला भाडामा लगाउन मनाही थियो तर सन् १९८० सम्ममा दक्षिण कोरियामा यति जनघनत्व बढ्यो कि सरकार यो प्रतिबन्ध फुकुवा गर्न बाध्य भयो। यस्ता ठाउँमा ती मानिस बसोबास गर्न थाले जो आर्थिक रूपमा कमजोर थिए। सायद किमको परिवार तिनै हजारौं परिवारमध्ये एक हो। यसरी छिँडीमा बस्दा उनीहरूको शरीरबाट निस्कने गन्ध, उनीहरूको गरिबीको द्योतक। यही छिँडीको बासले किम परिवारको जीउ पनि गन्हाउँछ। तर, धनी पार्क परिवारलाई यो गन्ध असह्य छ। उनीहरू सहनै नसकिने गन्ध कहाँबाट आयो भनेर हैरान छन्। पार्कको छटपटीले किमको परिवारलाई पनि बैचेन बनाउँछ। 

किमको परिवार गन्ध हटाउने उपायको बारेमा छलफल गर्छ। किमको गन्ध हटाउने चिन्तामा छोरी भन्छे, ‘यो छिँडीको गन्ध हो। यो गन्ध तबसम्म जान्न जबसम्म हामी त्यो ठाउँ छाड्दैनौं।’ साधारण लाग्ने यही संवादले किम परिवार गरिबीको गन्ध हटाउन कुन हदसम्म जान सक्छ भन्ने संकेत गर्छ। नभन्दै यही गन्धको अपमान सहन नसकेर किमले अन्त्यतिर पार्कको छातीमा छुरा धस्न पुग्छ। गन्धजस्तै फिल्मभरि बङले सिंढी, घाम, पानी र गल्लीको सुन्दर प्रयोग गरेका छन् जसले यो फिल्मलाई विषयसँगै शिल्पगत रूपमा पनि बलियो बनाएको छ।

परजीवीको शाब्दिक अर्थ हो, अर्काको सहारामा बाँच्ने। बुङको यो सिनेमा हेरिरहँदा उनको फिल्मले परजीवी भनेर कसलाई भन्न खोजेको हो, ठम्याउन गाह्रो पर्छ। सतहमा हेर्दा किमको परिवारले फिल्मको शीर्षक बोकेको भान हुन्छ तर यथार्थमा हेर्ने हो भने परजीवी किम हैन पार्कको परिवार देखिन आउँछ। किनभने गरिबलाई भन्दा धनीलाई अर्काको सहारामा बाँच्ने आदत हुन्छ।

ओस्कारको रेड कार्पेटमा हिँडिरहँदा बङलाई होस्टको जिज्ञासा थियो, ‘ओस्कार समारोहपछि तपाईं के गर्दै हुनुहुन्छ ? ’ बङको जवाफ थियो, ‘भोलि साँझसम्म पिउँछु।’ पिउनलाई बङले योभन्दा सानदार बहाना कहिले पाउलान् ?

@samipya13
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.