अज्ञानको परिधि
निल डिग्रास टाइसन /अनुवाद : राम लोहनी
बितेका शताब्दीहरूमा धेरै वैज्ञानिक ब्रह्माण्डीय रहस्य र ईश्वरको शिल्पकारिताबारे बोल्दा काव्यिक हुन बाध्य थिए। त्यो समयका अधिकांश वैज्ञानिक र अहिलेका कतिपय वैज्ञानिकहरूसमेत, आफूहरू आध्यात्मिक रूपले गम्भीर भएको स्वीकार्छन् भन्ने सुन्दा अचम्म मान्नु पर्दैन।
तर, विशेष गरी ब्रह्माण्डसँग सम्बन्धित पुराना ग्रन्थहरूको सचेत अध्ययन गर्दा ती ग्रन्थका लेखकहरू आफ्नो ज्ञान त्यहाँभन्दा अगाडि बढ्न सक्दैन भन्ने प्रस्ट भएपछि मात्र ईश्वरत्वको सहयोग लिन्थे भन्ने बुझिन्छ। जब उनीहरूलाई आफ्नो असीमित अज्ञानताको बोध हुन्थ्यो, तब मात्र तिनीहरू सर्वोच्च शक्तिको गुहार माग्थे। अर्थात्, प्रकृतिलाई बुझ्न नसक्दाको असहाय र संकटपूर्ण घडीमा मात्र उनीहरू ईश्वरलाई सम्झन्थे। आफ्ना व्याख्या, विवेचनाप्रति निश्चिन्त रहुन्जेल भने उनीहरूलाई ईश्वरको सायदै आवश्यकता पर्थ्यो।
माथिबाटै सुरु गरौं। आइज्याक न्युटन विश्वको आजसम्मकै महान् बौद्धिक व्यक्तिमध्येका एक हुन्। सत्रौं शताब्दीको मध्यतिर उनले बताएका चालका नियम र गुरुत्वाकर्षणको विश्वव्यापी नियमले हजारौं वर्षदेखि दार्शनिकहरूले बुझ्न नसकेका ब्रह्माण्डीय गुत्थीलाई सुल्झाइदिएका थिए। तिनै नियमहरूको सहायताले मानिसहरू एउटा प्रणालीभित्र रहेका वस्तुहरूबीचको परस्परको गुरुत्वाकर्षण र ग्रहहरूका कक्षबारे प्रस्ट भएका थिए।
न्युटनको गुरुत्वाकर्षणको नियमको मद्दतले हामी कुनै पनि दुई वस्तुबीचको आकर्षण बलको गणना गर्न सक्छौं। दुईवटा वस्तु मात्र भएको उक्त प्रणालीमा तेस्रो वस्तु थपिदिने हो भने प्रत्येकले बाँकी दुई वस्तुलाई आकर्षण गर्छन् र तिनीहरूले निर्धारण गर्ने कक्षको हिसाब निकाल्न निकै जटिल हुन जान्छ। त्यसमा अझ अर्को वस्तु, फेरि अर्को, अनि अर्को वस्तु थप्दै गयौं भने त्यो चाँडै नै हाम्रो सौर्यमण्डलका ग्रहहरूको प्रतिरूप बन्न पुग्छ। पृथ्वी र सूर्यले एकार्कालाई तानिरहेका हुन्छन्, वृहस्पतिले पनि पृथ्वीलाई तान्छ, शनिले पृथ्वीलाई तान्छ, मंगलले पृथ्वीलाई तान्छ, वृहस्पतिले शनिलाई तान्छ, शनिले मंगललाई तान्छ, र यसैगरी सबैले सबैलाई तानिरहेका हुन्छन्।
न्युटनलाई ग्रहहरूको परस्परको आकर्षणले सौर्यमण्डलका कक्षहरूमा अस्थिरता पैदा गर्छ भन्ने भय थियो। उनको समीकरणअनुसार ग्रहहरू या त धेरै अघि नै सूर्यमा खसिसकेको हुनुपर्थ्यो, या त सूर्यलाई छोडेर यसको प्रभाव क्षेत्रबाट टाढा पुगिसकेका हुनु पर्थ्यो। यी दुवै अवस्था भनेको सूर्य ग्रहविहीन हुने अवस्था हो। तर सौर्य परिवार, र बृहत् ब्रह्माण्डसमेत, अनुशासन र स्थिरताको गज्जबको नमुनाका रूपमा दीर्घकालदेखि उपस्थित थियो। त्यसकारण, न्युटन आफ्नो महान् कृति ‘प्रिन्सिपिया’मा ईश्वरले समय–समयमा हस्तक्षेप गरेर त्यसलाई ठीक बाटोमा हिँडाउने गर्छन् भन्ने निष्कर्षमा पुगे :
‘यी छवटा मुख्य ग्रहहरूले सूर्यलाई केन्द्रमा राखेर एउटै दिशामा र लगभग उही सतहमा रहेर संकेन्द्रित रूपमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन्... तर यति धेरै संख्याका नियमित गतिहरू केवल यान्त्रिक प्रेरणाले मात्र पैदा हुन सके भन्ने किमार्थ ठान्नु हुँदैन... सूर्य, ग्रह, र पुच्छ्रेताराहरूको यो सुन्दर व्यवस्थापन बुद्धिमान र शक्तिशाली सत्ताको सम्मति र निर्देशनबाट मात्र सम्भव हुन सक्छ।’
‘प्रिन्सिपिया’मा न्युटन परिकल्पना र प्रयोगात्मक दर्शनको फरकलाई छुट्याउँछन्, र परिकल्पनाहरू चाहे आधिभौतिक वा भौतिक हुन्, चाहे रहस्यमय वा यान्त्रिक हुन्, प्रयोगात्मक दर्शनमा तिनीहरूका लागि कुनै स्थान नहुने घोषणा गर्छन्। न्युटन तथ्यांक चाहन्थे र तथ्यांकहरू घटनाहरूबाट निर्दिष्ट भएको हुनुपर्छ भन्ने ठान्थे। तर तथ्यांकको अभावमा, कारणहरू पहिचान भएकाले व्याख्या गर्न सकिएका र कारण पहिचान नभए पनि स्वीकार्न बाध्य तथ्यहरूको दोसाँधमा न्युटन प्रसन्नतापूर्वक ईश्वरको आह्वान गर्छन् :
‘अनादि र अनन्त, सर्वशक्तिमान र सर्वज्ञ... जसले सबै कुराको नियन्त्रण गर्छ, र जसले भए जति र भविष्यमा हुन सक्ने सबै कुरा जान्दछ... जसलाई हामी उसको कार्य–व्यापारको बुद्धिमत्तापूर्ण र उत्कृष्ट कौशल तथा उद्देश्यमार्फत मात्र बुझ्न सक्छौं, जसको पूर्णताको हामी सराहना गर्छौं तर उसको प्रभुत्वको कारण हामी उसलाई श्रद्धा गर्छौं र उसको आराधना गर्छौं।’
एक शताब्दीपछिका फ्रान्सेली खगोलविद् एवं गणितज्ञ पिएर–साइमन दी लाप्लासले न्युटनको अस्थिर कक्षसम्बन्धी द्विविधाको ठाडो प्रतिरोध गरे। सौर्यमण्डलको रहस्यपूर्ण स्थिरतालाई अज्ञेय ईश्वरको देन ठान्नुको सट्टा लाप्लासले यसलाई वैज्ञानिक चुनौतीको संज्ञा दिए। बहुखण्डका रूपमा प्रकाशित आफ्नो उत्कृष्ट कृति ‘मेकानिक सेलस्ट’, जसको पहिलो ठेली १७९८ मा प्रकाशित भएको थियो, मा लाप्लासले सौर्यमण्डल न्युटनले अनुमान गरेभन्दा धेरै लामो अवधिदेखि स्थिर रहिरहेको कुरा प्रमाणित गरेका छन्। त्यसका लागि उनले व्यक्तिक्रमको सिद्धान्त (पर्टर्बेसन थिअरी) भनिने नयाँ गणितको प्रवर्तन नै गरे। यो सिद्धान्तले उनलाई अनगन्ती तुच्छ र महत्वहीन बलहरूको सञ्चित प्रभावको विश्लेषण गर्न सहयोग गर्यो। प्रायः उल्लेख गरेको पाइने, तर सम्भवतः अलंकृत, एउटा चर्चाअनुसार जब लाप्लासले ‘मेकानिक सेलेस्ट’को एक प्रति भौतिक विज्ञानका सामान्य जानकार मित्र नेपोलियन बोनापार्टलाई दिए, नेपोलियनले उनीसँग अन्तरिक्षको निर्माण र नियमनमा ईश्वरको भूमिकाबारे जिज्ञासा राखेका थिए। लाप्लासको जवाफ थियो, ‘सरकार, मलाई त्यो परिकल्पनाको कुनै आवश्यकता परेन।’
लाप्लासले जे भने पनि, न्युटनबाहेक अरू धेरै वैज्ञानिकले पनि जहाँ आफ्ना ज्ञान आफ्नै अज्ञानको दाँजोमा क्षीण देखे, त्यहाँ ईश्वरलाई पुकारेका छन्। इसाको दोस्रो शताब्दीका अलेक्जेन्ड्रियाका खगोलशास्त्री टोलमीलाई नै लिऊँ। टोलमी ग्रहहरू त्यहाँमाथि के गरिरहेका होलान् भनेर वर्णन गर्न सक्थे, तर उनलाई ग्रहहरू किन त्यसो गर्छन् भन्ने वास्तविक बुझाइचाहिँ थिएन। त्यसैले उनले आफ्नो धार्मिक आवेशलाई रोक्न सकेनन् :
‘मलाई थाहा छ, प्राकृतिक रूपमा म नश्वर र नाशवान् छु। तर जब म आकाशीय पिण्डहरूको रोमाञ्चक गतिविधिको आफ्नै ढंगबाट रेखांकन गर्छु, मेरा खुट्टाहरू धरती स्पर्श गरिरहेका हुँदैनन्; म आफूलाई जिउसकै साथमा उभिएर तृप्त हुने गरी अमृतपान गरिरहेको पाउँछु।’
अथवा सत्रौं शताब्दीका डच खगोलविद् क्रिस्चियान हाइगनलाई नै लिऊँ। हाइगन तिनै व्यक्ति हुन्, जसले पहिलो कामचलाउ दोलक (पेन्डुलम) घडी निर्माण गरेका थिए र शनिको रिङ पनि पत्ता लगाएका थिए। मरणोपरान्त १६९६ मा प्रकाशित उनको आकर्षक पुस्तक ‘द सेलेस्टिअल वल्डर््स डिस्कभर्ड’का पहिलो पाठको अधिकांश वर्णनले तत्कालीन समयमा ज्ञात भएका ग्रहहरूको कक्ष, आकारप्रकार र विस्तारका अलावा तिनीहरूको सापेक्षिक उज्ज्वलता र सम्भावित चट्टानी संरचनाको गुणगान गाएको छ। पुस्तकमा सौर्यमण्डलको संरचनालाई प्रस्ट पार्ने रेखाचित्र भएको दोबारेर पट्याइएको एउटा ठूलो पृष्ठ पनि संलग्न छ। उनको वर्णनमा ईश्वरको कुनै स्थान छैन। जब कि न्युटनको सफलताभन्दा एक शताब्दी अगाडिसम्म ग्रहहरूको कक्ष एउटा ठूलो रहस्यको विषय थियो।
‘सेलेस्टियल वल्र्ड्स’ सौर्यमण्डलभित्र जीवनको सम्भाव्यताबारेका अनुमानहरूले पनि भरिएको छ। र तिनै प्रसंगहरूमा हाइगनले आफूलाई उत्तर थाहा नभएका प्रश्नहरूलाई पनि उठाएका छन्। यस पुस्तकमा उनले जीवित वस्तुको जटिलताको उत्पत्ति जस्ता तत्कालीन समयको जैविक पहेलीको पनि चर्चा गरेका छन्। र निश्चितै रूपमा, हाइगनले जीवविज्ञानको कुरा गर्दा मात्र ईश्वरको दुहाई दिएका छन्, किनभने सत्रौं शताब्दीको भौतिकविज्ञान समकालीन जीवविज्ञानभन्दा धेरै विकसित थियो :
‘जड वस्तुहरूको जीवनहीन रासमा भन्दा वनस्पति र प्राणीहरूको उत्पत्ति तथा विकासमा केही न केही ज्यादा जुक्ति र केही न केही बेसी जादु हुनै पर्छ भन्ने कुरा कसैले पनि अस्वीकार गर्दैन भन्नेमा म विश्वस्त छु... किनभने भगवत् स्पर्श र ईश्वरीय विधानको बुद्धिमत्ता अन्यत्रभन्दा यिनै कुरामा ज्यादा मुखरित भएको प्रस्ट छ।’
हिजोआज धर्मनिरपेक्ष दार्र्शिनकहरू त्यस प्रकारको भगवद् आह्वानलाई ‘रिक्तताको ईश्वर’ (गड अफ द ग्याप) भन्न रुचाउँछन्। यो किन पनि सुविधाजनक छ भने मानिसको ज्ञानमा रिक्तताको अभाव कहिल्यै हुँदैन।
न्युटन, हाइगन र बितेका शताब्दीका महान् वैज्ञानिकहरू जतिसुकै श्रद्धालु भए पनि तिनीहरू अनुभववादी (एम्पिरिसिस्ट) पनि थिए। तिनीहरू तथ्य–प्रमाणको सहायताले अनिवार्य रूपमा निकालिएको निष्कर्षबाट कहिल्यै पनि विचलित भएनन्। आफ्ना आविष्कारहरू प्रचलित धार्मिक विश्वाससँग प्रतिकूल देखिएको स्थितिमा तिनीहरू आविष्कारकै पक्षमा उभिन्थे। यसको मतलब यो एकदमै सजिलो थियो भन्ने पनि होइन। कहिलेकाहीँ उनीहरू ग्यालिलियोले जस्तै कडा प्रतिरोधको सामना पनि गर्थे। ग्यालिलियोलाई आफ्ना टेलिस्कोपले देखाएको प्रमाणको पक्षमा उभिन धर्मग्रन्थ र ‘व्यावहारिक’ समझ दुवैतिरबाट कडा प्रतिरोधको सामना गर्नुपरेको थियो।
ग्यालिलियोले विज्ञानको भूमिकाबाट धर्मको भूमिकालाई प्रस्ट रूपमा छुट्याएका थिए। ग्यालिलियोको लागि धर्म भनेको ईश्वरको सेवा र आत्माको मुक्ति थियो, र विज्ञानचाहिँ विशुद्ध अवलोकन र प्रमाणित सत्यको स्रोत थियो। १६१५ को गृष्मतिर तुस्कानीकी महारानी (ग्य्रान्ड डचिस अफ तुस्कानी) लाई लेखेको लामो, प्रसिद्ध र तिखो पत्र (तर ऊ बेलाका अन्य चिठीपत्रजस्तै बौद्धिक समाजमा प्रचारित) मा ग्यालिलियोले आफ्नो प्रतिरक्षामा चर्चका एक अज्ञात तर दयालु अधिकारीले बाइबलले मानिस कसरी स्वर्ग पुग्न सक्छ भन्ने चर्चा गरेको तर स्वर्ग आफैंचाहिँ कसरी गतिवान् रहन्छ भन्नेचाहिँ उल्लेख गरेको छैन भनी बताएको कुरालाई उद्धृत गरेका थिए।
महारानीलाई लेखेको पत्रले पवित्र बाइबलको प्रचलित भावार्थअनुसार ग्यालिलियो कहाँ उभिन्छन् भन्ने प्रस्ट पार्छ :
‘बाइबलको व्याख्या गर्ने क्रममा सपाट व्याकरणिक अर्थमा मात्र सीमित हुने हो भने व्याख्याकारबाट त्रुटि हुन सक्छ...सबुत प्रमाणले हामीलाई प्रस्ट पारिदिएको कुनै पनि भौतिक तथ्यलाई केवल बाइबलका अनुच्छेदहरूको गवाहीको आधारमा प्रश्न गर्नु हुँदैन (निन्दा त परै जाओस्), किनभने यी अनुच्छेदका शब्दहरूपछाडि बेग्लै अर्थ पनि हुन सक्छ...ईश्वर जसले हामीलाई चेतना, विवेक र बुद्धिले युक्त तुल्याएको छ, उही ईश्वरले हामीलाई त्यसको प्रयोग गर्नबाट वञ्चित गरेको छ भन्ने कुरा विश्वास गर्न म विवश छैन।’
वैज्ञानिकहरूमध्येका पनि असाधारण व्यक्ति ग्यालिलियो अज्ञेयलाई ईश्वरको हस्तकौशलद्वारा नियन्त्रित अनादि रहस्य ठान्नुको सट्टा जाँचपडतालको क्षेत्रको रूपमा हेर्थे।
अन्तरिक्षलाई सामान्यतया ईश्वरीय अधिकार क्षेत्र ठान्ने मत प्रभावकारी रहुन्जेल यसको गतिविधिको व्याख्या एउटा नश्वर प्राणीले गर्नै सक्दैन भन्ने तथ्यलाई नै ईश्वरीय सर्वोच्च बुद्धि र शक्तिको पक्षमा प्रमाणका रूपमा सजिलै उल्लेख गर्न सकिन्थ्यो। तर सोह्रौं शताब्दीको प्रारम्भसँगै कपर्निकस, केप्लर, ग्यालिलियो, र न्युटन (भौतिकविज्ञानका आधारभूत नियमहरू पत्ता लगाउने म्याक्स्वेल, हिजनबर्ग, आइन्स्टाइन र अरू धेरैलाई उल्लेख नगर्दा पनि) आदिले एकपछि अर्को गर्दै विविध घटनाको तर्कसंगत व्याख्या उपलब्ध गराए। क्रमशः ब्रह्माण्ड विज्ञानको विधि र उपकरणको विषय बन्दै गयो र तथ्यगत रूपमा नै जान्न सकिने स्थानको रूपमा रूपान्तरण भयो।
अनि भयो आकस्मिक र आश्चर्यजनक ढंगको दार्शनिक पश्चगमन। पादरी र विद्वान्हरूको जमातले भौतिक विज्ञानका नियमहरू स्वयंले नै ईश्वरको बुद्धि र शक्तिको प्रमाणको पक्षपोषण गर्ने दाबी गर्न थाले।
सत्रौं र अठारौं शताब्दीको एउटा चर्चित प्रकरण थियो ‘यन्त्रसदृश ब्रह्माण्ड’ (क्लकवर्क युनिभर्स), अर्थात् ईश्वर र ईश्वरको भौतिक नियमद्वारा निर्मित एवं सञ्चालित सुव्यवस्थित, तर्कसंगत र अनुमान गर्न सकिने यन्त्ररचना। देखिने प्रकाशमा मात्र निर्भर प्रारम्भिक टेलिस्कोपहरूले सुव्यवस्थित प्रणालीको उक्त धारणालाई निस्तेज पार्न सकेन। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरह्यो। पृथ्वी र अन्य ग्रहहरू आफ्नो अक्षमा घुम्दै सूर्यको वरिपरि परिभ्रमण गर्दै रहे। ताराहरू चम्किरहे। नेबुलाहरू (ग्यास र धुलोका बादल) अन्तरिक्षमा उन्मुक्त तैरिरहे।
उन्नाइसौं शताब्दी सुरु नहुँदासम्म दृश्यमान प्रकाश विद्युत् चुम्बकीय तरंगको विशाल वर्णपटको एउटा पुञ्ज (मानिसको आँखाले देख्न सक्ने तरंगपट्टी) मात्र हो भन्ने प्रमाणित भइसकेको थिएन। १८०० मा अधिरक्त (इन्फ्रारेड) पत्ता लाग्यो, परावैजनी (अल्ट्राभायलेट) १८०१ मा, रेडियो तरंग १८८८ मा, एक्स–रे १८९५ मा र ग्यामा–रे १९०० मा पत्ता लागे। त्यसपछिको शताब्दीमा एक एक दशकको अन्तरमा नयाँ–नयाँ टेलिस्कोपहरू पनि प्रयोगमा आउन थाले। यी टेलिस्कोपहरू विद्युत् चुम्बकीय वर्णपटको पहिले अदृश्य रहेका तरंगहरूलाई देख्नसक्ने संसूचक (डिटेक्टर)ले युक्त थिए। अनि सुरु गरे खगोल भौतिकविद्हरूले, ब्रह्माण्डको वास्तविक चरित्र उजागर गर्न।
लाग्छ, केही आकाशीय पिण्डहरू वर्णपटको दृश्यमान पट्टीभन्दा अदृश्य पट्टीतिरका प्रकाश बढी प्रसारित गर्छन्। अदृश्य प्रकाशलाई समात्ने नयाँ टेलिस्कोपहरूले ब्रह्माण्डमा प्रचुर मात्रामा उथलपुथल भइरहने तथ्य देखाइदिएका छन्। विकराल ग्यामा–रे विस्फोट, भयंकर पल्सार, पदार्थलाई संकुचित गर्ने गुरुत्वाकर्षण क्षेत्र, बिस्तार हुँदै गरेका छिमेकी ताराका पत्रहरू उप्काउँदै खाइदिने पदार्थ–खन्चुवा कालो प्वाल, संकुचित हुँदै गएका ग्यासका ढिक्काभित्र चम्किरहेका नवजात तारा आदि। जति हाम्रा साधारण प्रकाश–टेलिस्कोपहरू ठूला र उत्कृष्ट हुँदै गए, ब्रह्माण्डीय हलचल झन् झन् पत्ता लाग्दै गए, जस्तो कि, ठोक्किने र एकार्कालाई भक्षण गर्ने तारापुञ्ज (ग्यालेक्सी), अतिविशाल ताराहरूको विस्फोट, नक्षत्र र ग्रहहरूको अस्तव्यस्त कक्ष आदि। हाम्रो आफ्नै ब्रह्माण्डीय छिमेक भित्री सौर्यमण्डल पनि बेलाबेला ग्रहहरूमा ठोक्किन आइपुग्ने आवारा शिशु ग्रह र पुच्छ«े ताराहरूले भरिएको युद्ध मैदानको रूपमा प्रकट भएको छ। यदाकदा तिनीहरूले पृथ्वीबाट आश्चर्यजनक परिमाणमा जन्तु र वनस्पतिहरूलाई सखाप पारिदिएका पनि छन्। यावत् प्रमाणहरूले हामी शिष्ट र यन्त्रसदृश ब्रह्माण्डमा नभएर एउटा विनाशकारी, क्रूर र प्रतिकूल चिडियाखानामा बसिरहेका छौं भन्ने तथ्यलाई उजागर गर्छन्।
वास्तवमा, पृथ्वी हाम्रो स्वास्थ्यका लागि पनि अनुपयुक्त देखिन्छ। जमिनमा कुनै हिंस्रक भालु हामीलाई आक्रमण गर्ने ताकमा हुन सक्छ, समुद्रमा सार्क हामीलाई भोजन तुल्याउन तत्पर छ। हावाले उडाउँदै ल्याएको हिउँले गर्दा कठ्यांग्रिनु पर्छ, मरुभूमिले निर्जलीकरण गरिदिन सक्छ, भुइँचालोले जमिनमुनि पुरिदिन सक्छ, ज्वालामुखीले भष्म गरिदिन सक्छ। भाइरस संक्रमण हुन सक्छ, परजीवीले रगत चुसिदिन्छ, क्यान्सरले ज्यानै लिन्छ, जन्मजात रोगले अल्पायुमै मृत्युको मुखमा पुर्याइदिन सक्छ। र हामीलाई तन्दुरुस्तीको सौभाग्य कदाचित् रहेछ भने पनि अर्कोतिर सलहको बथानले हाम्रा बाली सखाप पारिदिन सक्छ, सुनामीले परिवार नै बगाइदिन सक्छ, अथवा आँधीबेरीले हाम्रा सहर बस्ती तहसनहस पारिदिन सक्छ।
वास्तवमा ब्रह्माण्ड त हामी सबैलाई समाप्तै पारिदिन उद्यत छ। तर अहिलेको लागि त्यस प्रकारको जटिलतालाई बिर्र्सििदऊँ।
विज्ञानको अग्रपंक्तिमा थुप्रै, अझ भनौं भने असंख्य प्रश्नहरू मडारिइहेका हुन्छन्। केही मामिलामा भेटिएका उत्तरले मानव जातिकै सर्व श्रेष्ठ मस्तिष्कहरूलाई समेत दशकौं र अझ शताब्दीऔंसम्म पनि भ्रममा पार्न सफल भएका छन्। उच्च कोटिको बुद्धि नै सबै रहस्यको एउटै उत्तर हो भन्ने अवधारणाले समकालीन अमेरिकामा फेरि महत्व पाउँदै गएको छ। रिक्तताको ईश्वरको पछिल्लो संस्करणले नयाँ नाम पाएको छ— कुशल संयोजन (इन्टेलिजेन्ट डिजाइन)। यो अवधारणाअनुसार मानवीय मस्तिष्कले एकीकृत गर्न सक्नेभन्दा कैयौं गुणा मानसिक क्षमताले युक्त कुनै सत्ताले भौतिक संसारका सबै कुरालाई सिर्जना गर्यो अथवा क्रियाशील तुल्याइदियो, त्यसैले यसको व्याख्या गर्न हाम्रा वैज्ञानिक विधिहरू सक्षम छैनन्।
एउटा रमाइलो परिकल्पना !
तर जसको अस्तित्व र विशेषताका लागि हामीले कुनै अधिबौद्धिकता (सुपरइन्टेलिजेन्स)को सहारा लिनुपर्छ, किन हामी आश्चर्यजनक र चामत्कारिक लाग्ने त्यस्तै वस्तुसँग आफूलाई बाँध्न चाहन्छौं ? यसको विपरीत, त्यस्ता भद्दा, हास्यास्पद, हावादारी र अव्यावहारिक परिकल्पनालाई बुद्धिहीनताको प्रतिविम्ब भनेर किटानी गर्न किन सक्दैनौं ?
मानव स्वरूपलाई लिऊँ। हामी हाम्रो अनुहारमा रहेको एउटै प्वालबाट खान्छौं, पिउँछौं र सास पनि फेर्छौं। र, त्यसैले हेनरी जे. हाइमलिचले आफ्नै नाममा विकास गरेको हाइमलिच प्रविधि (श्वासप्रश्वास रोकिएको अवस्थामा गरिने आकसम्मिक उपचार) को बाबजुद अमेरिकामा ‘अनभिप्रेरित दुर्घटनाबाट हुने मृत्यु’को चौथो प्रमुख कारणमा श्वासप्रश्वासको अवरुद्धता देखिन्छ। पाचौं नम्बरमा आउने डुबेर हुने मृत्युको बारेमा नि ? पृथ्वीको तीन चौथाइ भूभाग पानीले ढाकेको छ तर हामीचाहिँ स्थलचर हौं। केही मिनेट मात्रै पानीमा टाउको डुबाइराख्नुस् त, मृत्युको मुखमा पुगिहाल्नुहुन्छ।
त्यसैगरी हाम्रा शरीरका अनावश्यक अवयवहरूलाई नै लिऊँ। खुट्टाका औंलाका गुलाबी नङको के काम छ ? बाल्यावस्थापछि कुनै काम नलाग्ने र त्यसपछि एपेन्डिसाइटिसको कारण बन्न सक्ने एपेन्डिक्सको बारेमा नि ? उपयोगी अंगहरू पनि समस्याग्रस्त हुन सक्छन्। मलाई मेरो घुँडा मन पर्न सक्छ, तर यो घुँडालाई ठक्कर र प्रहारबाट किन सुरक्षित राख्नुपर्ने हो भनेर कसैले पनि गुनासो गरेको छैन। हिजोआज घुँडामा समस्या भएका मानिसहरू शल्यक्रियाबाट घुँडा प्रतिस्थापन गर्न सक्छन्। प्रायः दुखिरहने ढाडको बारेमा भन्नुपर्दा अब केही वर्र्षिभत्रमा कसै न कसैले त्यसको पनि प्रतिस्थापन गर्ने तरिका पत्ता लगाई छाड्ने छन्।
मौन घातकबारे ? उच्च रक्तचाप, मलाशयको क्यान्सर, मधुमेह हरेकको कारण अमेरिकामा मात्रै बर्सेनि दसौं हजार मानिसको मृत्यु हुने गरेको छ। तर आकस्मिक मृत्युको कारण पत्ता लगाउने विज्ञले नभनेसम्म हामी ती समस्याबाट आक्रान्त छौं भन्ने कुरा स्वयंलाई थाहा नहुन सक्छ। कुनै पनि सम्भावित खतराको बारे पहिले नै सजग गराउने त्यस्तो कुनै जीवप्रमापक (बायोगेज) जन्मजात अन्तर्निहित हुने भइदिएको भए कति राम्रो हुन्थ्यो ! आखिर, सामान्य गाडीहरूमा पनि त इन्जिन प्रमापक हुन्छ।
त्यसैगरी, हाम्रा दुई खुट्टा बीचका अंगको प्रबन्ध कुन विनोदी योजनाविद्ले गर्यो होला ? मनोरञ्चजन केन्द्रको निर्माण मलमूत्र प्रणालीको परिसरमा गर्नुको कुनै तर्क छ ?
आँखालाई जैविक अभियान्त्रिकीको कमाल मान्ने गरिन्छ। खगोल भौतिकविद्को लागि यो एक प्रकारको कामचलाउ संसूचक मात्र हो। आकाशका अँध्यारा वस्तुहरू र वर्णपटका सबै अदृश्य अंशहरूलाई पनि देख्न सक्ने योभन्दा राम्रो आँखा हुन सक्थ्यो। अधिरक्त र परावैजनी किरण पनि देख्न सक्ने भैदिएको भए सूर्यास्तको दृश्य कति विस्मयकारी भइदिन्थ्यो होला ! वातावरणका सूक्ष्मतरंग हरेकका स्रोतलाई एकै पटक देख्ने र कुनचाहिँ रेडियो प्रसारण केन्द्र सक्रिय छ भन्ने थाहा पाउन सक्ने भइदिएको भए कति उपयोगी हुन्थ्यो होला ! प्रहरीको राडार संसूचक रातमा कता कता छ भन्ने थाहा पाउन सकिने भए कति सहयोगी हुन्थ्यो होला !
विचार गर्नुस् त, हाम्रो टाउकोमा भएको चुम्बकत्वले चराहरूले जस्तै कुनचाहिँ बाटो उत्तरतिरको हो भनेर बताइदिने भएको भए अपरिचित सहरको घुमघाम कति सजिलो हुन्थ्यो होला ! हामीसँग फोक्सो र गिल्स दुवै भइदिएको भए कति राम्रो हुन्थ्यो होला ! दुईवटाको सट्टा छवटा हात भइदिएको कति उपयोगी हुन्थ्यो होला। आठवटा हात भइदिएको भए हामी एक हातले सेल फोनमा कुरा गर्दै, एउटा हातले रेडियो स्टेसन फेर्दै, मेकअप पनि गर्दै, अर्को हातले पिउँदै र एउटा हातले देब्रे कान चिलाउँदै सुरक्षित ढंगबाट गाडी चलाइरहन पनि सक्थ्यौं होला।
भद्दा संयोजनले स्वयंलाई गतिशील हुन प्रेरित गर्छ। यसलाई प्रकृतिको स्वाभाविक परिणति मान्न सकिँदैन, यद्यपि सबैतिर यस्तै देखिएको चाहिँ छ। अझै पनि मानिसहरू हाम्रो शरीर, हाम्रो मस्तिष्क र हाम्रो ब्रह्माण्डले समेत स्वरूप र विवेकको उत्कर्षको प्रतिनिधित्व गर्छ भन्ने ठान्दै आनन्दित देखिन्छन्। यसरी सोच्नु एउटा राम्रो अवसाद–प्रतिरोधी (एन्टिडिप्रिसेन्ट) त हुन सक्ला। तर यो विज्ञान होइन— अहिले पनि होइन, हिजो पनि थिएन र भोलि पनि हुँदैन।
हामीले अपनाएको र जीवनको अभिन्न अंग बनिसकेको अज्ञान अर्को गैरवैज्ञानिक आचरण हो। तथापि कुशल संयोजनको दार्शनिक आधार यही हो, यो के हो भन्ने मलाई थाहा छैन। यसको कार्यप्रणाली कस्तो छ भन्ने मलाई थाहा छैन। यसको बारेमा अनुमान गर्नु मेरा लागि दुसाध्य कुरा हो। कुनै पनि व्यक्तिको लागि यसको अनुमान गर्नु असम्भवजस्तै कार्य हो। त्यसैले यो सबै उच्च बौद्धिकताकै परिणाम हुनुपर्छ।
यस प्रकारको तर्कसँग तपाईं के गर्न सक्नुहुन्छ ? त्यसो भए समस्या समाधानको जिम्मेवारी आफूभन्दा बुद्धिमान अरू कसैलाई सुम्पिनुहुन्छ त, जो कि अझ मानव नै होइन ? तपाईं आफ्ना विद्यार्थीलाई सजिला उत्तर भएका प्रश्नहरूको मात्र पछि लाग्न सुझाव दिनुहुन्छ ?
मानव मस्तिष्कले हाम्रो ब्रह्माण्डको बारेमा बताउन सक्ने कुराको सीमा हुन सक्छ। मैले कुनै समस्या समाधान गर्न सकिन भन्नुको मतलब अरू कसैले पनि सकेका छैनन् र भविष्यमा पनि कसैले सक्दैनन् भनेर दाबी गर्नु अति नै पूर्वाग्रहप्रेरित हुन्छ। ग्यालिलियो र लाप्लासले पनि त्यसरी सोचेको भए ? अझ त्योभन्दा पनि, न्युटनले त्यसरी नसोचेको भए ? लाप्लासको समस्या न्युटनले सय वर्षअघि नै समाधान गरिदिसकेका हुने थिए। त्यसले लाप्लासलाई अज्ञानताको अर्को सीमा अतिक्रमण गर्न बाटो खुल्ने थियो।
विज्ञान अन्वेषणको दर्शन हो। कुशल संयोजन अज्ञानताको दर्शन हो। प्रश्नको समाधान कसैले पनि दिन सक्दैन भन्ने धरातलमा उभिएर अन्वेषणको कार्यक्रम निर्माण गर्न सकिँदैन। कुनै जमानाको कुरा थियो मानिसहरू नेप्च्युन नामको ईश्वरलाई समुद्री उपद्रवको कारण मान्थे। आज हामी यही उपद्रवलाई तुफान भन्छौं। यिनीहरू कहिले र किन उठ्छन् भन्ने हामीलाई थाहा छ। त्यसलाई केले प्रेरित गर्छ भन्ने पनि हामीलाई थाहा छ। त्यसको विनाशकारी शक्तिलाई केले समन गर्न सकिन्छ भन्ने पनि हामीलाई थाहा छ। र भूमण्डलीय तापक्रम वृद्धिको अध्ययन गर्ने जोकोहीले के कुराले तिनीहरूलाई अझ विनाशक तुल्याउँछन् भन्ने बताउन सक्छ। तुफानलाई अझै पनि ‘ईश्वरको कर्म’ ठान्ने मानिस तिनीहरू मात्रै हुन् जो बीमाको फारम भर्ने गर्छन्।
ईश्वरत्वलाई आफ्ना अध्ययनमा स्थान दिने वैज्ञानिक र विचारकहरूको समृद्ध र रंगीन इतिहासलाई अस्वीकार गर्नु वा मेटाउन खोज्नु बौद्धिक दृष्टिमा बेइमानी ठहरिन्छ। कुशल संयोजनको अवधारणा अध्ययनको विषय हुन सक्ने उपयुक्त स्थान बौद्धिक परिदृश्यमा निश्चितै विद्यमान छ। धर्मको इतिहासमा यसको चर्चा हुन सक्दैन ? दर्शनशास्त्र वा मनोविज्ञानमा हुन सक्दैन ? यसको सम्बन्ध नजोडिएको एउटै स्थान छ, त्यो हो विज्ञानको कक्षाकोठा।
कदाचित तपाईं प्राज्ञिक तर्कबाट प्रभावित हुनुभएको छैन भने वित्तीय परिणामलाई विचार गर्नुस्। कुशल संयोजनको अवधारणालाई विज्ञानको पाठ्यपुस्तकमा, प्रवचन कक्षहरूमा, र प्रयोगशालाहरूमा स्थान दिएर हेर्नुहोस्, त्यसले भविष्यको अर्थनीतिलाई परिचालन गर्ने विशिष्ट क्षेत्रको वैज्ञानिक अन्वेषणको लागत असामान्य तुल्याइदिन्छ। नवीकरणीय ऊर्जाको स्रोत अथवा अन्तरिक्ष भ्रमणको बारेमा महत्वपूर्ण खोज गर्ने सम्भावना भएका विद्यार्थीलाई उनीहरूले बुझ्न नसकेका र आजसम्म कसैले नबुझेका कुरा ईश्वरीय सिर्जना हुन् र त्यसैले यो उनीहरूको बौद्धिक क्षमताभन्दा परको कुरा हो भनेर पढाइन्छ भने त्यो कदापि सही ठहरिँदैन।
(न्याचरल हिस्ट्री, नोभेम्बर २००५, © न्याचरल हिस्ट्री म्यागजिन, इन्क., २००५)