उनको रूप, उनको स्वाभिमान
कतिलाई बाहिरी रूपको खासै महत्व नहोला। तर जब कसैले ‘कम महत्व’को आफ्नै रूपलाई ‘कुरूप’ बनाउने प्रयास गर्छ, तब यो स्वाभिमानसँग जोडिएर आउँछ। ‘रूपको अधिकार’लाई बाँच्न पाउने अधिकारबाट छुट्ट्याएर हेर्न मिल्दैन। रिसईवीका कारण कसैलाई कुरूप बनाउन गरिने एसिड एट्याक अर्थात् तेजाब आक्रमणबारे केही बेर घोत्लिऔं, न हामी।
दीपिका पादुकोणको ‘छपाक’ चलचित्र चर्चामा छ। मालतीको कथामा हामी हलभित्रै रोयौं पनि। उसको मुद्दाले गर्दा कानुन बदलिने फैसला सुन्दा हामीले थपडी पनि बजायौं। ठिक यही पल सम्झना आयो, दुई वर्षअघि जेठमा बजेका यस्तै थपडीहरू। नेपालको सर्वोच्च अदालतले पनि संगीता मगरलगायतले दर्ता गरेको रिट निवेदनमा ‘आगो तथा तेजाब आक्रमण’लाई सरकारवादी भई चल्ने फौजदारी मुद्दामा सूचीकृत गर्न निर्देशित गरेको थियो।
तेजाब आक्रमण अरू अभियोगभन्दा पृथक् छ। किनभने, यसमा अभियुक्तसम्बन्धी अनुसन्धानका साथै पीडितको यथाशीघ्र उपचार आवश्यक छ। अदालतले यस्तो आदेश दिएको थियो ः
सुगम ठाउँ तथा सहरमा घट्ने एसिड, पेट्रोल तथा मट्टीतेल छर्किई वा खन्याई आगो लगाउने कार्यबाट पीडित व्यक्तिले समयमा उचित उपचार प्राप्त गर्न नसकेमा पीडितको शरीरमा बढी पीडा भई पीडितको मृत्युसमेत हुन सक्ने भएको हुँदा नेपालका सरकारी तथा निजी अस्पतालहरूमा तत्काल अनिवार्य रूपमा बर्न युनिट स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाउने र सम्भव भएसम्म ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा पनि यस्तो सेवा विस्तार गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूले प्रबन्ध गर्ने। (निर्णय नं. १०२१२)
यसका साथै अन्य खर्च लाग्ने भएमा पीडकबाट उपलब्ध गराउने र पीडकले तत्काल खर्च उपलब्ध नगराए वा पीडक पहिचान नभएको खण्डमा राज्यले उपचार खर्च व्यवस्था गराउन अदालतले निर्देशन दिएको थियो।
उनको रूपसँग उसको स्वाभिमान नजोडिएको भए विचारको एसिड र व्यवहारको एसिडबीच केही सम्बन्ध हुँदैनथ्यो होला।
नेपालमा यस आदेशपछि कानुनमा पनि परिवर्तन आयो र हाल नेपाल मात्र होइन छिमेकी मुलुकमा समेत यस अपराधलाई संवेदनशील रूपमा लिई कानुन बनाइएका छन्।
हाल नेपालमा एसिड एट्याकसम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दाका रूपमा हेरिन्छ। तेजाब प्रहार गरी अनुहार कुरूप पारेका खण्डमा अपराधको प्रकृति हेरी पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
यस्तै कसुरमा वरपरका देशमा के छ त ? बंगलादेशमा सन् २००२ मा बनेको कानुनले एसिड एट्याक गर्नेलाई मृत्युदण्डसम्म हुन सक्ने व्यवस्था गरेको थियो। यसै कानुनका आधारमा हालसम्म १४ व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। यही कानुनले गर्दा २०१९ मा जम्मा आठ जनामा मात्र एसिड एट्याक भयो भन्ने रिपोर्ट भेटिन्छन्।
सजायको त्रास देखाई अपराध घटाउनु पनि एउटा उपाय होला तर यो विधिको प्रयोग सबै परिवेशमा सही हुन्छ भन्ने छैन। यस्तै अवस्था देखिन्छ, अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा। पाकिस्तानमा सन् २०१० मा एसिड एट्याकसम्बन्धी कानुन बनाइयो र कसुरदारलाई जन्म कैदको सजाय कायम गरियो। तर हालसम्म पनि पाकिस्तानमा बर्सेनि डेढ सयको हाराहारी एसिड एट्याक हुने रिपोर्टहरूमा देखिएको छ।
भारतको फौजदारी कानुनमा सन् २०१३ मा संशोधन गरी एसिड एट्याकसम्बन्धी प्रावधान परिमार्जित गरियो। हाल उक्त कसुरको प्रकृति हेरी न्यूनतम १० वर्षदेखि अधिकतम जन्मकैदसम्म जेल र जरिबानाको व्यवस्था गरिएको छ। भारतमा पनि बंगलादेशको सूत्र लागू भएको देखिँदैन किनभने सन् २०१४ देखि २०१८ सम्म कुल १४ सय ८३ एसिड एट्याकको घटना रिपोर्ट भएको देखिन्छ।
अपराध पीडितको हक र पीडकको कारबाहीसँगै अपराधको अन्त्य आवश्यक छ। कठोर सजायले मात्र यसको अन्त्य नहुने कुरा माथि उल्लेखित तथ्यांकले देखाइसकेको छ। तसर्थ यस अपराधको अन्त्यका निम्ति कारण खोतल्नु आवश्यक छ।
तेजाबको इतिहास
तेजाबलाई औद्योगिक क्रान्तिको युगमा घातक रूपमा प्रयोग गरिएको थियो। सन् १८३३ मा सर्वप्रथम एसिड एट्याकका सिकार बेलायती पुरुष भएका थिए जसमाथि उनकै सहकर्मीले द्वैषका कारण एसिड प्रहार गरेका थिए। १९५६ मा अमेरिकामा एक पत्रकारमाथि संगठित अपराधको रिपोर्टिङ गरेका कारण एसिड एट्याक भएको थियो। पछि इरानमा संक्रमणकालमा संस्कृति बचाउने अभियानमा हिजाब लगाउन इन्कार गर्ने महिला माथि एसिड एट्याकको त्रास देखाइयो। सन् २०१० मा चीनमा लुटपाट मच्चाउन र पैसावाललाई धम्क्याउन एसिड एट्याक भएको थियो। कम्बोडियामा बहुविवाहका कारण महिलाहरूले शक्ति र सौन्दर्यको होडबाजीमा एकआपसमा एसिड प्रहार गरेका घटना अत्यधिक छन्। विश्वमा यसरी विभिन्न कारणले घट्ने यो अपराधबारे दक्षिण एसियाली मुलुकमा भने केही समानता छन्।
दक्षिण एसियाली मुलुकमा यस एट्याकका पीडित सर्वाधिक महिला छन्। अफ्रिकामा पीडित महिला र पुरुषको संख्या झन्डै बराबर छ। नेपालमा पनि केही वर्षअघि अछाममा भएको ६ महिने बालकको मृत्युको घटनाबाहेक सबै एसिड एट्याक पीडित महिला छन्।
काठमाडौंकी सरिता जस्ती अविवाहित युवतीमाथि छिमेकी दाजुको प्रेम प्रस्तावको इन्कारीको इख। उत्तर प्रदेशकी विवाहित युवती देवीमाथि उनकै पतिद्वारा महिला भएर जागिर खान खोजेको द्वैष। कराँचीकी मारिया साह माथि कुनै अञ्जान युवकको विवाहको प्रस्ताव स्वीकार नगरेको रिस। उनीहरूको कुरूपतासँग तिनीहरूको स्वाभिमान कसरी गाँसियो ?
मारियामाथि एसिड एट्याक गर्नेले भनेका रहेछन्, ‘यो रूप मेरो भएन भने कसैको हुन सक्दैन।’ के महिलाको रूप भोगचलनको वस्तु हो ?
अहो ! यहीँ त रहेछ समस्या। हाम्रो समाजमा महिलाको रूप भोगचलनको वस्तु हो। स्त्री ३२ गुण युक्त हुनुपर्छ। जसमा उसको दाँतको लहरदेखि आँखीभुइँको आकारसम्म मिलेको हुनुपर्छ। विवाहका बखत ‘ब्राइडल मेकअप’ आवश्यक छ, बेहुली राम्री हुनुपर्छ। एयर होस्टेस हुन भारतमा ‘फेयर टु क्लियर कम्प्लेक्सन’ आवश्यक छ। आज इस्लाम व्यवहारले महिलालाई निश्चित पुरुषबाहेक अरुका सामुन्ने आफ्नो रूप देखाउन बञ्चित गरेको छ। त्यसैले त पीडकको स्वाभिमान पीडितको रूपसँग जोडिएको छ।
पीडकले अदालतमा हारेर जेल गए पनि समाजमा जितेकै छन्। एसिड एट्याक सर्भाइभर महिलाले चाहेर पनि कहाँ सामान्य जीवनयापन गर्न पाएका छन् र ? ‘जब फर एसिड एट्याक सर्भाइभल’ भनी विभिन्न सस्ंथा कार्यरत छन्। यीनले गरेका काम राम्रा छन्। तर आपत्ति छ यिनको स्थापनामा। समाज रूपको उपभोक्ता हो। एसिड एट्याक पीडितका सिभीभन्दा पनि अनुहार हेरिन्छ। नेपालका एसिड एट्याक सर्भाइभर पनि यिनै संस्थामा कार्यरत छन्। उत्तर प्रदेशकी सोनीले अनुहार जलेका कारण न कलेजमा भर्ना पाइन्, न जागिर। भारतकी लक्ष्मी अग्रवालले बाराक ओबामाबाट अन्तर्राष्ट्रिय सम्मान पाए पनि आफ्नो देशमा जागिर पाउन मुस्किल छ।
अनि यसरी पीडकहरूको सामाजिक जितसँगैँ अरू रिस र ईख बोकेकाहरू हौसिँदै छन्। देखासिकी गर्दैछन्। रूपसँग आफ्नो स्वाभिमान साट्दै छन्, एसिड छ्याप्दै छन्।
बंगलादेशमा बजारमा एसिड बिक्दैन तर विचारमा त उत्पादन भइरहेछ। गाजीपुरकी एक छात्रा माथि सन् २०१९ मा एसिड प्रहार भएकै छ। बजारको बिक्रीमा त सरकारले रोक लगाउला, तर विचारमा रोक लगाउन सक्दैन। तसर्थ तपार्इं हामीले समस्याको गहिराई बुझी चिन्तनमनन् गर्न आवश्यक छ। नारीको अस्तित्व अनुहारमा होइन, उसको ज्ञान र विचारमा छ भनी बुझाउन आवश्यक छ।
रिस, ईष्र्या, द्वेष र स्वाभिमानजस्ता संवेग त कन्ट्रोल गर्न नसकिएला तर तिनको व्यक्त हुने तरिका त सामाजिक परिवेशअनुसार ढाल्न सकिएला नि। प्रेमीले प्रेमिकाको अस्तित्व रूपमा नभई उसको सीप र ज्ञानमा देख्न थाले, प्रेममा धोका पाएपछि उसलाई कुरूप बनाएरभन्दा नी उसलाई शैक्षिक वा व्यावसायिक कम्पिटिसनमा हराई आफ्नो स्वाभिमान उच्च राख्दो हो।
काठमाडौंकी सरिताको रूपभन्दा तेज पढाइलाई त्यो छिमेकी दाजुले उनको अस्तित्वका रूपमा लिएको भए प्रेमप्रस्तावको इन्कारीको ईख एसिडले होइन, एकेडेमिक कम्पिटिसनले मेट्थ्यो कि ? उत्तर प्रदेशकी देवीले महिला भएर आफ्नोभन्दा राम्रो जागिर खान थालेको द्वेष उनको पतिले अझ राम्रो जागिर खोजेर मेट्थ्यो कि ? कराँचीकी मारिया शाहले विवाहको प्रस्ताव स्विकार नगरेको रिस त्यो अञ्जान युवकले उनीभन्दा तेज महिलासँग विवाह गरी मेटाउथ्यो कि ?
उनको रूपसँग उसको स्वाभिमान नजोडिएको भए विचारको एसिड र व्यवहारको एसिडबीच केही सम्बन्ध हुँदैनथ्यो होला।
– बीए एलएलबी, चौथो वर्ष अध्ययनरत