फुटबलका नयाँ स्टार

फुटबलका नयाँ स्टार

सप्तरीका बृजेश चौधरी बाल्यकालमा घर नजिकै फुटबल खेल्दा परिवारको खप्की खान्थे। पढाइलाई भन्दा फुटबलमा बढी ध्यान दिएको भन्दै आमा, बाबु र दाजुको गालीले बृजेशलाई खिन्न बनाउँथ्यो। बृजेश केएफसी क्लब कुशहाको मैदानमा परिवारको आँखा-कान छलेर फुटबल खेल्दै गए।

चार वर्षअघि उनको बल हान्ने शैली बेजोडको बनिसकेको थियो। त्यसबेला गाउँकै सुदीप चौधरीले केएफसी मैदानमा बृजेशसँगै अन्य जुनियर खेलाडीलाई अभ्यास गराउँथे। बृजेशको सट र खेल्ने क्षमतालाई देखेर सुदीपले काठमाडौं जान सुझाए। तर, उनका लागि काठमाडौं त्यति सहज थिएन।

परिवारको कान्छो छोरो फुटबलमा लागेर बिग्रिने डर उनको घरमा थियो। यही मेसोमा सन् २०१६ मा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीका लागि देशभर यू-१४ खेलाडी छनोटको सुरुआत गर्‍यो। सप्तरी जिल्लाको छनोटमा बृजेशले पनि नाम लेखाए। उनी सजिलै जिल्ला छनोटमा परे। त्यसपछि इटहरीमा पूर्वाञ्चल स्तरीय छनोट भयो। एन्फाका प्रशिक्षक बालगोपाल महर्जनको निगरानीमा भएको त्यहाँको छनोटमा उनी अब्बल ठहरिए। त्यसपछि उनको पाइला केन्द्रीय छनोटका लागि काठमाडौं बढ्यो। उनी केन्द्रमा पनि सजिलै छनोट भए।

चार वर्षअघिदेखि एन्फा एकेडेमीमा बसेर फुटबल खेल्दै आएका बृजेश उमेरसमूहका अब्बल खेलाडी हुन्। उनको बल हान्ने र छल्ने क्षमता बेजोडको छ। उनले एन्फा एकेडेमीमा बसेर पढाइ र खेललाई सँगै अगाडि बढाएका छन्। बृजेशले नेपालको उमेरसमूहका यू-१४, यू-१५, यू-१६, यू-१८ र यू-१९ का सबै खाल राष्ट्रि«य र अन्तर्राष्ट्रि«य प्रतियोगिता खेलेका छन्। यू-१८ साफ च्याम्पियनसिप र एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा बृजेशको दमदार प्रदर्शनले नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।

एन्फा एकेडेमीका १८ बर्षीय बृजेशले पढाइ र खेललाई सँगै अगाडि लगेका छन्। सुकेधारास्थित इनसाइड भिलेज कलेजमा दस जोड दुई पढिरहेका बृजेश उमेरसमूहमा नेपालका सफल स्ट्राइकर हुन्। उनले उमेरसमूहअन्तर्गत नेपालका लागि सर्वाधिक ११ गोल गरिसकेका छन्।

पछिल्लो समय घाइते उनी उपचारमा व्यस्त छन्। उपचार गरिरहेका उनी छिट्टै मैदानमा फर्कने तयारीमा छन्। ‘एउटा खेलाडीका लागि दुर्भाग्य भनेको घाइते हुनु रहेछ। उमेरसमूहको खेल सकेर बिस्तारै सिनियर टोलीमा खेल्ने बेलामा घाइते भएँ। यही वर्ष यू-१९ एएफसी कप छनोट खेलको तयारीका क्रममा घाइते भएकाले खेल्न सकेको छैन,’ बृजेशले भने।

दायाँ तिघ्राको काखमा ‘ग्रोइन÷पेल्भाजिया’ नामक चोटको समस्याबाट पीडित बृजेश अहिले ग्रान्डी अस्पतालमा डा. चक्रराज पाण्डेको निगरानीमा उपचार र फिजियोथेरापी गरिरहेका छन्। उनलाई डाक्टरले केही हप्तामा खेल्न सक्ने सुझाव दिएको बताए। ‘पहिला रोहित चन्द र विक्रम लामा दाइको पनि ग्रान्डी अस्पतालमै उपचार भएको रहेछ। उहाँहरू फेरि खेलमा फर्किएर राम्रो गरिरहनु भएको छ। म पनि खेलमा फर्किएर देशका लागि धेरै गर्ने योजनामा छु। एन्फा एकेडेमीमा परेपछि परिवारको फुटबलप्रतिको मोह र हेराइ फेरिएको छ। अहिले परिवारबाट धेरै सहयोग पाएको छु,’ बृजेशले भने।

उनले नेपालका लागि उमेर समूहअन्तर्गत सर्वाधिक ११ गोल गरिसकेका छन्।

बृजेशको खेलले एन्फा एकेडेमीमा आएपछि पूर्णता पाएको हो। एन्फाको उमेरसमूहमा उनले सनोज श्रेष्ठ, हरि खड्का, सुनील    श्रेष्ठ, चेतनारायण    श्रेष्ठ, मेघराज केसीजस्ता दिग्गज प्रशिक्षकबाट फुटबल सिके। खेलकै क्रममा उनी तीन वर्षअघि पनि घाइते भएका थिए। दायाँ घुँडाको शल्यक्रिया गरेर उनी १८ महिनापछि खेलमा फर्किएका थिए। त्यतिबेला खेलमा फर्किएलगत्तै उनले सनसनी मच्चाएका थिए। ललित मेमोरियल यू- १८ फुटबल च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राइकरको उपाधि जितेका बृजेशले आठ गोल गरेका थिए।

दैनिक उपचार र फिजियोका लागि ग्रान्डी धाइरहेका बृजेशलाई अहिले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न नपाएकोमा चुकचुक लागेको छ। उनी लिगका लागि ब्रिगेड ब्वाइज क्लबमा अनुबन्ध भएका थिए। तर घाइते उनी दैनिक ब्रिगेड र उनका साथीले खेलेको हेरेर बस्न विवश छन्। उनकै ब्याचका साथीहरू सन्दीप पौडेल, पृथ्वी चौधरी, पदम भट्टराई, रोशन डोङ, शिशिर लेखी, एन्जल महर्जन, रोशन रानामगर र विशाल सुनार ब्रिगेडबाटै लिग खेलिरहेका छन्।

बृजेशलाई पनि यसपटक लिगमा खेल देखाउने ठूलो धोको थियो। तर उनको योजना सफल भएन। डाक्टरको सल्लाहमा उनले भर्खर ‘पीआरजीएफ’ नाम इन्जेक्सन लगाएका छन्। ‘मेरो योजना सिनियर टोलीमा पनि राम्रो खेल्दै सर्वाधिक गोल गर्ने हो। नेपालले गोल गर्न नसक्दा ठूला खेलमा हार खेपेको यथार्थ मलाई राम्रो सँग थाहा छ। उमेरसमूहमा त धेरै गोल गरेँ। सिनियरमा पनि किन नसक्ने ?    म अझै सिनियर टोलीमा केही गरेर देखाउनेछु,’ बृजेशले भने। उनले राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा गर्न मेहनत गरिरहने पनि बताए।

मैदानमा फर्किएपछि विदेशी लिग खेल्ने चाहना पनि छ। उनको। उनी रोहित चन्दले जस्तै इन्डोनेसियाको लिग खेल्न चाहन्छन्। ‘राम्रो खेल्दै गयो भने त्यो पनि सम्भव हुन्छ होला। डाक्टरले अब छिट्टै खेल्न मिल्छ भन्नुभएको छ। त्यसैमा खुसी छु,’ बृजेशले भने। मैदानमा मेहनत गरेर खेल्ने र गोलका लागि अग्रसर हुने बृजेश घरेलु फुटबलमा विमल घर्तीमगरका फ्यान हुन्। उनलाई विदेशी खेलाडीमा अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेसी मन पर्छ।

‘विमल दाइ र मेसीको ‘ड्रिब्लिङ र सुटिङ’ गर्ने क्षमता बेजोडको छ। मेसीको बल खेलाउने स्किल र स्पिड मलाई निकै मन पर्छ। म उनीहरूले खेलेको सधैं फलो गरिरहेको छु। त्यही शैलीलाई पछ्याएर तयारी गर्ने गर्दछु,’ बृजेश भन्छन्। बृजेशले विमल र मेसीले लगाउने जर्सी नम्बर १० लाई नै आफ्नो प्रिय पोसाक बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.