मेरो सहपाठी र काका-काकीको सवाल
२०५२ माघको आखिरी साता अविरल वर्षाले लपेटेको थियो, गोरखाको हाम्रो गाउँ पन्द्रुङलाई पनि। माघको अन्तिम साँझ घरमाथिको थामडाँडामा लस्करै अगुल्टो बालेर दौडिएका मानिसहरूको कल्याङमल्याङ सुनिएको थियो। राजनीतिले उलटफेरको यात्रामा बाँकाटे हान्ने तयारीको आखिरी झिल्को सल्काएको त्यो जुलुसलाई अबला गाउँलेहरूले राँकेभूतको चकचकी भनेर त्रासको सिरकभित्र आफूलाई छोपे।
हामी भने घरको बार्दलीमा निस्किएर त्यो जुलुसतिर आफ्ना कान केन्द्रित गर्यौं। जिन्दावाद र मुर्दावादका अप्रष्ट आवाजहरूमा मिसिएर आएको थियो एउटा प्रष्ट नारा- जनयुद्धको बाटोमा दृढतापूर्वक अघि बढौं।
संयुक्त जनमोर्चा नेपालले स्थानीय चुनाव जितेको गाविस थियो हाम्रो। थपिरहनु परेन, गाविसभरकै चुनावको परिणाम फेरबदल गर्ने निर्णायक मत दिने वडाहरूमै पथ्र्यो हाम्रो गाउँ। गाविसका अध्यक्ष हाम्रै गाउँका स्थानीय थिए।
जनमोर्चाको राजनीतिको कमान्ड गरिरहेको पार्टी नेकपा (माओवादी) को जिल्ला समितिमा हाम्रै गाउँकी दिदी (मेरी गुरुआमा) कौशिला गुरुङ पनि हुनुहुँदो रहेछ। पछि माओवादी उपक्षेत्रीय ब्युरो सदस्य एवं लमजुङ जनसरकार उपप्रमुख रहेको बेला २०५९ वैशाख २२ मा तार्कुघाटमा पार्टीभित्र ‘शिल्पा’ नामले चिनिएकी उहाँ मारिनुभयो।
अभियान सांस्कृतिक परिवार गोरखाको संस्थापक सदस्य रहेकी उहाँ मारिएपछि, सहिद चुनु गुरुङसमेतको नाम जोडेर माओवादीले ‘चुनु-शिल्पा सांस्कृतिक परिवार’ नै गठन गरेको थियो। त्यसरी माओवादीको समर्थक रहेको हाम्रो गाउँले त्यही राँके जुलुसले ऐलान गरेको जनयुद्धकालमा अकल्पनीय बलिदान गर्यो, विद्रोही र सरकारी सुरक्षाफौजका नाममा।
२०५२ फागुन १४ को दिन ‘हाफछुट्टी’को समयमा स्थानीय ब्रह्मचारिणी स्कुलको मैदानमा भलिबल खेलिरहेका थिए विद्यार्थीहरू। हामी त्यही हेरिरहेका थियौं।
स्कुल पारिको सिम्ले फाँटबाट एक हूल विद्यार्थीहरू केही प्रहरीको पछिपछि ढुंगामुढा गर्दै आइरहेको थियो। गाउँकै एकजना दाइ दौडिँदै आएर भने- वीरबहादुर सरलाई पुलिसले समातेर लग्यो।
दिउँसो सरकारी बन्दुकबाट छुटेका असिनाजस्ता गोलीले छियाछिया बनाएर ढलाएको हाम्रो बालापनदेखिको साथी दिलबहादुर त्यही असिनापानीको साइतमा चिचिलै उमेरमा निख्रियो।
वीरबहादुर हाम्रै गाउँले, मृदुभाषी प्रधानाध्यापक थिए छिमेकी सूर्यज्योति माविका। गाउँलेहरू एकोहोरिएर प्रहरीको बाटो छेक्न अघि सरे। ब्रम्हचारिणीका प्रधानाध्यापकले पनि ‘ल, वीरबहादुर सरलाई छुटाउन जाऔं’ भनेर विद्यार्थी उरालेर लगे।
पछिपछि आइरहेका सूर्यज्योतिका विद्यार्थी र अघिल्तिर उभिएका जराङका स्थानीय र ब्रम्हचारिणीका विद्यार्थीहरूको दोहोरो ढुंगा हानाहानको बीचमा प्रहरी फसिरहेको थियो। दोहोरो ढुंगाको प्रहार बाँसका घनामा लागेर आवाज आएको थियो- पटटटटट। वीरबहादुर सर ‘तपाईंहरू शान्त हुनुस्, मलाई केही हुँदैन, बाटो छोड्नोस्’ भनिरहेका थिए। त्यहीबेला प्रहरीको कमान्डरले भनेको थियो- फायर !
त्यत्ति नै खेर कसैले मेरो दुवै खुट्टा तानेर भुइँमा लडाइदियो। त्यसरी मलाई पछारेर भुइँमा लम्पसार परेर सुतिरहेका व्यक्ति थिए- मेरा विद्यालयका एकजना शिक्षक। गोली नलागोस् भनेर उनले त्यसो गरेका रहेछन्। केही पटक ड्वाङ ड्वाङ ड्वाङ गरेर पहाडै थर्कर्ने गरी गोली चलेको थियो। त्यसपछि विद्यार्थी र स्थानीयहरू तितरबितर हुँदै थिए। कसैले एक्कासि भन्यो- लौ न नि गोली लाग्यो।
त्यसरी गोली लागेर ढल्ने दिलबहादुर रम्तेल र रामप्रसाद भट्ट थिए। रामप्रसादलाई पेटनेर गोली लागेको थियो। दिलबहादुरलाई छाती र घाँटीबीचको जोर्नीनेर गोली लागेको थियो। पहिलोचोटि मानिसको शरीरबाट भुलभुले मूलबाट पानी निस्किए जसरी भुलुकभुलुक हुँदै रगत आएको देखेर त्यसलाई रोक्न भनेर मैले उसलाई गोली लागेको ठाउँमा हातले थिचेँ। अरूहरू पनि धुइरिएर त्यसै गरे। हात रगताम्ये भएर भिज्यो, तर रगत किन रोकिन्थ्यो र ? कसैले भन्यो- थिच्न हुँदैन।
पछि मात्रै थाहा पाएँ- त्यसरी सत्ताको गोलीले ढलेको पहिलो मानिस रहेछ दिलबहादुर। उसको रगतले लछफ्फै भिजेका हाम्रा हात युद्धमा बगेको रगतले भिजेको पहिलो हातहरू रहेछन्।
दिलबहादुरको बा (सेते काका) कसैको घर बनाउन मेलामा लागेका रहेछन्। कोही विद्यार्थीले गएर बोलाएर ल्याएछन्। गाउँले जम्मा भएर अस्पतालतिर लैजाँदा निकै अबेर भइसकेको थियो। गोली लागेर ढलेको बेला ऊ पानी पानी भनेर अलापिरहेको थियो। पछि ऐय्या पनि भन्न नसक्ने गरी शिथिल भएर हुँ हुँ मात्रै गरिरहेको थियो।
साँझ भयानक असिनापानी पर्यो। भर्खरै किसानहरूले मकै रोपेका थिए। त्यसका चिचिला पातहरू छियाछिया बनाएर ध्वस्त बनाइदियो असिनापानीले।
दिउँसो सरकारी बन्दुकबाट छुटेका असिनाजस्ता गोलीले छियाछिया बनाएर ढलाएको हाम्रो बालापनदेखिको साथी दिलबहादुर त्यही असिनापानीको साइतमा चिचिलै उमेरमा निख्रिएछ। त्यसयताका दिनमा ऊ जनयुद्धको पहिलो सहिदको रूपमा परिचित छ। उसका बा सेते रम्तेल र आमा सरिमाया पहिलो सहिदका बाआमाका रूपमा।
ती काकाकाकीले युद्धका दिनमा पहिलो सहिदको बाउआमा हुनुको भुक्तमान कति व्यहोरे सत्ताको कृदृष्टि र उन्मादीका कारण के हिसाब !
दिलबहादुरसँग मैले दुई र तीन कक्षा सँगै पढेँ। तीनमा ऊ फेल भयो। गरिब किसानको छोरो, बाउसँग जुवा काँधमा हालेर जोत्न जान्थ्यो सानैदेखि। पढ्नमा समय लगाउन पाएन। त्यसैले लगालग पास हुन सकेन। फेल- पास, फेल-पास हुँदै ५ मा पुगेको थियो, सत्ताको गोलीको निशानामा परेर मारियो।
अन्नपूर्ण पोस्ट् फुर्सदले मेरो गाउँ जराङको रूपुङे डाँडाको आखिरी घरमा पुगेर सेते काका र सरिमाया काकीसित अन्तर्वार्ता गरेछ। उहाँहरूको कुराकानी पढेपछि अलिक भावुक खालको कुराका घानहरू चलेका छन् मेरो मनभरि।
हो, त्यसरी दिलबहादुर ढलेपछि हामीले सेते काकालाई विद्यार्थीका अनेक कार्यक्रममा घिसार्यौं। म छिमेकी गाविस मसेलको विन्द्रावती माविमा पढेको बखत माओवादी समर्थित विद्यार्थी संगठनको विद्यालय कमिटीको सचिव थिएँ।
कौशिला दिदीको सल्लाहमा सञ्जय ढकाल ‘आकाश’, चूडामणि बञ्जारा ‘विदुर’, चूडामणि खड्काहरूको निर्देशनमा सेते काकालाई जनयुद्धको पहिलो सहिदका बाका रूपमा विद्यार्थीको क्षेत्रीय कार्यक्रमहरूमा निकै घिसारियो। मैले देखेको बन्दुक बोकेर हिँडेको पहिलो छापामार तिनै विदुर थिए। पछि कालिकाटार प्रहरीचौकी रेडमा तिनी मारिए। सञ्जय अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष थिए। मलाई पहिलोपटक संगठित गर्ने तिनी २०५५ सालयता बेपत्ता छन्।
त्यसरी हामीले उनलाई कार्यक्रमहरूमा घिसारेबापत उनी आतंककारीका रूपमा प्रहरीद्वारा सताइए। सरिमाया काकी आतंककारीकी स्वास्नीका रूपमा। ऐनकेन तिनको ज्यान जोगियो।
शान्तिप्रक्रियामा आएपछि सेते काका पटकपटक काठमाडौंका कार्यक्रममा ल्याइए। उनी मानिसहरूलाई देखाउन मिल्ने पोस्टर बने माओवादी नेताहरूका लागि, जनयुद्धका पहिलो सहिदको पिताका रूपमा।
लडाइँका क्रममा आधा दर्जन मानिसहरू गाउँबाट मारिएका थिए। संस्कृतिको विद्यार्थीका रूपमा, विदेशका अनेकन् संग्रहालयहरूको जानकारीका कारण मैले सेते काकाको कान फुकेँ— माओवादी नेतासँग पहिलो सहिदको गाउँमा सहिद स्मृति संग्रहालय निर्माणको माग गर्नुस्।
गाउँका केही उत्साही तन्नेरीहरूसँग पनि मैले त्यो योजनाबारे कुरा गरेँ। कुरामै मात्र सीमित भयो। नेताहरूले हुन्छ भने। तर, त्यो कुनै व्यापारीको काम गरिदिएबापत फ्याट्टै कमिसन आउने खालको काम थिएन। गरेनन्।
संविधान जारी भइवरी भएको स्थानीय गाउँपालिकाको अध्यक्षमा सहिद परिवारकै विष्णु भट्ट निर्वाचित भएका थिए। निर्वाचन जितेपछि गाउँको आवश्यकता निक्र्योल गर्ने र योजना बनाउने भनेर काठमाडौंमा बस्ने स्थानीयहरूसँग तिनले काठमाडौंको नयाँबजारस्थित एउटा स्कुलमा भेला आयोजना गरेका थिए।
देशविदेशमा देखेका अनुभवहरू जोडेर तै पनि भै पो हाल्छ कि भनेर मैले त्यहाँ पनि सहिद स्मृति संग्रहालय निर्माणको सुझाव दिएको थिएँ। विष्णुले त्यसदिन गरेको भाषणको अधिकांश समय उक्त प्रस्तावको प्रशंसा र कार्यान्वयनमा प्रतिबद्धताका लागि खर्च गरेका थिए।
गएको दसैंमा सेते काकाले मसँग निकै असन्तोषपूर्ण ढंगले गुनासो गरेका थिए, विष्णुको कामबारे। छोराको नामको स्मृति पार्क घरबाट टाढा लगेर साइनो न सुर्तोको पहिरोको टुप्पोमा बनाएको भनेर। त्यो जग्गासँग न दिलबहादुर रम्तेलको कुनै सम्बन्ध छ, न सेते-सरिमायाको अपनत्व। न जन्मको सम्बन्ध, न मृत्युको। त्यो कसरी स्मृति पार्क, मैदान भयो, त्यसभित्रको खेलोफड्को के कसो हो विष्णु भट्टले बुझाउनैपर्छ सरिमाया- सेते दम्पतीलाई।
उहाँहरूले निकै पटक दोहोर्याएर देश फेरि पनि लडाइँमा जाने आशंका गर्नु भएको रहेछ। केही निश्चित मानिसहरूले शान्तिको, गणतन्त्रको, संघीयताको होहल्ला चलाएर लुटतन्त्र मच्याइरहेको देखेर यसले बाँकी मानिसहरूमा असन्तोष ल्याउने र असन्तोषले हतियार उठाउन बाध्य पार्ने सोझो बुझाइ उहाँहरूको हुन सक्छ।
ग्रामीण अबलाहरूले देखेको यो भयानक सम्भावनासँग सत्ता सञ्चालकहरू परिचित छैनन् भने बेलैमा चेतेर सेते-सरिमायाको मनमा उठेको युद्धको भयलाई हटाउन समानता, समावेशिता, न्यायपूर्ण समाज निर्माण गर्ने दिशामा संकेन्द्रित होऊन्।
सरिमायाजस्ता युद्धमा आफ्ना नानी गुमाएका आमाहरूले जति युद्धको मूल्य अरू कसले अनुभूत गर्न सक्छ र ? सत्ताले विवेक नगुमाओस्। देशका थप आमाहरूलाई अर्को सरिमाया बन्न विवश बनाउने बाटोबाट देशलाई जोगाउन विवेक र संयमताको डोरी नचुडालिऊन्।
@gaunkomanchhey