सं (क्रान्ति)
कहिले माघे संक्रन्तिका नाममा
केही थान साँढेहरू जुधिरहन्छन्
साँढेहरू कहिले वेत्रावतीको फाँटमा जुध्छन्
कहिले इन्द्रावतीको किनारमा सिंगौरी खेल्छन्
कहिले वाग्मतीको खलो वरिपरि डुक्रिन्छन्
तिनकै पछिपछि हूलका हूल बच्चाहरू कुध्द्छन्, कुदिरहन्छन्।
साँढेको धर्म जुध्नु हो
जुध्छन्, जुधिरहन्छन बाच्छाको धर्म साँढेका पछि पछि कुद्नु हो
कुध्छन्, कुधिरहन्छन्।
बच्छाहरू
कहिले साँढेका पछि रमाई रमाई कुध्छन् कहिले साँढेकै पुच्छर समाई समाई कुध्छन् बच्छाहरूलाई
साँढेको जुधाइको अन्तर्य बुझ्नु पर्दैन
फगत साँढेकै पछि कुध्न पाए पुग्छ।
जोधाहा साँढेका
पुच्छर समाउँदै कुदेका
कति बच्छाहरू फुत्केर
घरि इन्द्रावतीको भेलमा पर्छन् र मर्छन् जुध्दाजुध्दै साँढेहरू
बेत्रावती फाँटको गह्राको डिलैसम्म पुग्छन् बच्छाहरू डिलबाट
खुस्केर झर्छन् र मर्छन्।
साँढेहरू बागमतीको खलो
भत्किने गरी जुध्छन् बच्छाहरू किचिञ्छन् थिचिञ्छन् र मर्छन्।
साँढेहरू डुक्रिन्छन् बच्छाहरू उछिट्टिन्छन् साँढेहरू जुध्छन् बच्छाहरू किचिञ्छन् साँढेहरू जुध्छन् बाली मडारिन्छ
खलो भत्किन्छ।
बाच्छा मिचियून् बाच्छा किचियून् बाली मडारियो सखलो भत्कियोस् साँढेहरूलाई केही हुँदैन
किन्तु परन्तुले कसै गरी छुँदैन
क्रम चलिरहन्छ
साँढेहरू जुधिरहन्छन् एकाथरी बाच्छाहरू किचिन्छन् र मिचिन्छन् फेरि नयाँ नयाँ बच्छाहरू
तिनका पछि कुदिरहन्छन् बाली मडारिन्छ, खलो भत्किन्छ
तैपनि साँढेहरूको खेलो चलिरहन्छ
कहिले संक्रन्तिका नामका
कहिले अनेक अनेक क्रान्तिका नाममा
साँढेहरू जुधिरहन्छन्।