सजिँदै आलम्पुको स्लेट
चरिकोट : उत्तरी दोलखास्थित आलम्पुको स्लेट व्यवसाय ब्युँतिएको छ। बिगु गाउँपालिका–६, आलम्पुको गाग्रोफुटेमा रहेको स्लेट भूकम्पअघि स्थानीय स्तरमै खपत हुने गथ्र्याे। तर, अहिले राजधानी भित्रिन थालेको छ।
आलम्पुको दोक्याङ गैरा संरक्षण वनमा रहेको स्लेट (पातलो ढुंगा)को भूकम्पपछि माग निकै कम आउन थालेपछि उपयोग हुन सकेको थिएन। पछिल्लो ४ महिनादेखि राजधानीको ठुल्ठूला महल र विभिन्न मार्बल कम्पनीबाट आलम्पुको स्लेटको माग बढेसँगै सरकार र स्थानीयले मनग्य लाभ लिन थालेको स्थानीय स्लेट व्यवसायी वेदबहादुर थामीले बताए। दसैंपछि स्लेटको मागअनुसार उत्पादन पनि बढेको स्लेट व्यवसायी थामीले बताए। स्थानीयले प्रतिवर्गफिट स्लेट ३० देखि ३५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए।
बिगु गाउँपालिका–६, आलम्पुका वडाध्यक्ष पदम थामीले भने, ‘पछिल्लो समय मार्बल कम्पनी र काठमाडौंका ठूला घरमा स्लेट निकासी हुने गरेको छ।’ उनका अनुसार दैनिक ६० देखि ७० जनाले स्लेट उत्खनन गर्छन्। आलम्पु स्लेट खानी आसपासमा नेपालका सीमान्तकृत जातजातिमध्ये थामी समुदायको बसोवास छ। आधाभन्दा बढी थामी समुदाय स्लेट उत्पादन र बिक्रीमा संलग्न रहेको वडा कार्यालयले जनाएको छ।
घरको छाना छाउन मात्र प्रयोग हुने स्लेटको बजार ह्वात्तै बढ्नुमा मार्बलभन्दा ४ गुणा तौल कम र सस्तो रहेको स्लेट मजदुर बताउँछन्। काठमाडौंका महलमा आलम्पुको स्लेट बिछ्याएर मेसिनले घोटेपछि मार्बलभन्दा हलुका, गुणस्तर र सस्तो हुने व्यवसायीको भनाइ छ।
खानीबाट दैनिक करिब सवा लाख बराबरको स्लेट उत्खनन हुने गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति आलम्पुका सचिव यज्ञबहादुर थामीले जानकारी दिए। उनका अनुसार दैनिक करिब ४ हजार वर्गफिट तयारी स्लेट उत्पादन हुन्छ। संरक्षण क्षेत्र व्यवस्थापन समितिले प्रतिवर्गफिट संकलनबापत डेढ रुपैयाँ र राजस्वबापत ३ रुपैयाँ गरी कुल साढे ४ रुपैयाँ प्रतिवर्गफिट संकलन गर्ने गरेको सचिव थामीले बताए। आलम्पुबाट दैनिक ४ देखि ५ ट्रक स्लेट निकासी हुने गरेको समितिले जनाएको छ।
खानी तथा भूगर्भ विभाग र अमेरिकी अध्ययन टोलीले १० वर्षअघि छुट्टाछुट्टै सार्वजनिक गरेको प्रतिवेदनमा आलम्पुको स्लेट उच्च गुणस्तरको भएको उल्लेख छ। उक्त खानीबाट २ करोड ६९ लाख ८ हजार ७ सय ७५ वर्गफिट स्लेट उत्पादन गर्न सकिने विभिन्न सरकारी तथ्यांकमा उल्लेख गरेको पाइएको छ। सदरमुकाम चरिकोटबाट करिब ५५ किलोमिटर दूरीमा रहेको खानीक्षेत्र २ हजार २ सय मिटर उचाइमा अवस्थित छ।