विचारशून्य कांग्रेस
मानवअधिकारको सम्मान, विधिको शासन र स्वतन्त्र न्यायालयप्रति आस्थावानले कांग्रेस त्याग्ने वातावरणको निर्माण कांग्रेस स्वयंले गर्दैछ, यो आत्मदाह नभएर के हो त ?
आफ्नो झन्डामा भएका चार तारालाई कांग्रेसले चार आधारभूत स्वतन्त्रतासँग जोडेको छ/थियो। ती आधारभूत स्वतन्त्रताले मानव अधिकारलाई सर्वोच्च स्थानमा राख्छन्। यिनै मान्यताका कारण भ्रष्टाचार र कुशासनका अनेक मुद्दामा आरोपित हुँदा पनि पटक पटक जनताले कांग्रेसलाई सम्मानित स्थान दिएका छन्। वर्तमान परिस्थितिमा प्रमुख प्रतिपक्षमा कांग्रेसले प्राप्त गरेको स्थान पनि सम्मानजनक छ। नत्र भारतमै हेरौं न, जनताले प्रतिपक्षलाई कुन धरातलमा होच्याएका छन्। ती आधारभूत स्वतन्त्रतासँगको सम्झौता कांग्रेसको नीतिविपरीत हुन्छ। लोकतन्त्रको सर्वोच्च मन्दिर संसद्को सभामुखमा मानवहत्या जस्तो जघन्य अपराधमा आरोपित व्यक्तिलाई प्रस्ताव गरिँदा कांग्रेसले आफ्नो फरक मत वा विमतिसम्म राख्न उचित ठानेन। लोकतन्त्रमा फरक मत एक शक्तिशाली शस्त्र हो। कांग्रेसले आफ्नो सैद्धान्तिक विमति प्रदर्शन गर्न सक्थ्यो। मानव अधिकारको पक्षमा आफ्नो मत इतिहासमा अंकित गर्ने अवसर गुमेको कांग्रेसका मस्तराम नेताहरूले चालै पाएनन्। भ्रष्टाचार काण्डमा आफ्ना नेताको बचाउ गरेर कांग्रेसले अर्को अवसर गुमाएको छ।
एउटा दन्त्य कथा छ—एउटा जंगलमा ठूलो आगलागी भएछ। सबै जनावरहरू भागाभाग भएछन्। दुईवटा चराहरू भने एउटा नजिकैको पोखरीबाट आफ्नो चुच्चोमा पानी ल्याउँदै आगोमा हाल्दै गरिरहेका रहेछन्। एउटा हात्तीले ती चरालाई देखेछ र सोधेछ, ‘ए मूर्ख चराहरू हो, तिमीहरूले यो के नाटक गरेको ? तिमीले बोकेको पानीले यो आगो निभ्दैन, आफ्नो समय नष्ट नगर। बरु भागेर सुरक्षित स्थानमा गएर बस।’ चराहरूले भनेछन्, ‘हामी चुच्चोमा बोकेको पानीले जंगलको आगो निभाउन सक्दैनौं तर यो आगो निभाउने प्रयास गर्नुपर्छ भन्ने हाम्रो मत हो। वर्षौंपछि यो आगो निभाउन खोज्ने र निभाउन नखोज्ने व्यक्तिको इतिहासले खोजी गर्नेछ। हामी चाहन्छौं, त्यसबेला इतिहासले हामीलाई यो आगो निभाउन प्रयत्न गर्ने प्राणीको रूपमा लिपिबद्ध गरोस्।’ ती चराहरूले आफ्नो मत प्रदर्शन गर्ने अवसरको सदुपयोग गरे। एक प्रतिपक्षीका रूपमा प्राप्त भएका संसदीय अवसरहरू कांग्रेसले रणनीतिको अभावले गुमाउँदै गइरहेको छ। यो कांग्रेस नेतृत्वको वैचारिक संकुचनको संकेत हो।
अमेरिकी संसद्मा हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग सामना गरे। अमेरिकी संसद्को तल्लो सदन कांग्रेसमा डेमोक्रेट र माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ। कांग्रेसमा दलीय आधारमा मत विभाजन भएको स्पष्ट देखिएको थियो। राष्ट्रपतिलाई पदमुक्त गर्न सिनेटमा दुईतिहाइ बहुमत चाहिन्छ तर डेमोक्रेटसँग त्यहाँ सामान्य बहुमत पनि थिएन। त्यसैले ट्रम्पलाई सिनेटले पदमुक्त गर्ने कुनै सम्भावना थिएन। तर पनि सिनेटले यो महाभियोगमा पन्ध्र दिनसम्म बहस गर्यो। ट्रम्पले पाएको सफाइ आश्चर्यजनक थिएन। तर सिनेटमा व्यक्त गरिएका धारणा इतिहासले कैद गरेको छ। रिपब्लिकन पार्टीका एकजना सिनेटर मिट राम्नीले ट्रम्पको विरुद्ध मत हाले। उनको एक मतले महाभियोगको परिणाममा कुनै फरक पर्दैनथ्यो तर उनको त्यो मत भने इतिहासमा अंकित हुनेछ। सिनेटमा प्रस्तुत गरिएका मतले अमेरिकाको आगामी निर्वाचनमा उल्लेख्य भूमिका खेल्ने छन्। यो लामो समयसम्म अमेरिकाको राजनीतिमा देखिनेछ। नेपालको इतिहासले कांग्रेसलाई अग्नि सापकोटाको पक्षमा राख्नेछ। सभामुखमा कांग्रेसको पराजय निश्चित थियो तर लम्पसार हुनुआवश्यक थिएन। कांग्रेसका नेता, नीति र रणनीतिका असफलता यो लम्पसारवादका प्रमुख कारण हुन्, त्यसैले यसको परिणाम कांग्रेसले देख्नेछ, भोग्नेछ।
गत निर्वाचन नेकपाका नेता केपी ओली र कांग्रेसका नेता शेरबहादुर देउवाको बीचको प्रतिस्पर्धा थियो। तर ओली डँडेलधुरामा देउवासँग वा देउवा ओलीसँग झापामा प्रतिस्पर्धामा थिएनन्। डँडेलधुरामा नेकपा र झापामा कांग्रेसले उम्मेदवारी भने दिएका थिए। पराजय हुने निश्चित भएका स्थानमा पनि तिनले उम्मेदवारी किन दिए ? किनकि त्यसो गर्दा आफ्ना राजनीतिक मुद्दाहरू जीवित रहन्छन्। पराजित भएर पनि आफ्नो सैद्धान्तिक आन्दोलन जीवित रहन्छ। पराजय निश्चित हुने खेलमा पनि नेपालले ओलम्पिक खेलमा खेलाडी पठाउने गर्छ। किन ? खेलाडीको मनोबल उच्च राख्न, खेलाडीलाई प्रोत्साहन गर्न। त्यसो नगरे खेलको स्तरमा वृद्धि हुँदैन। पराजय निश्चित भएको राजनीतिमा पनि आफ्ना मुद्दा कायम राख्न र कार्यकर्ताको मनोबल उच्च राख्न नेतृत्वले उच्च प्रयास गरिरहनुपर्छ। आत्मसमर्पण राजनीतिमा आत्मदाह हो।
एमालेले माओवादीसँग एकता गरेपश्चात युद्धकालका अमानवीय हत्या हिंसाका घटनाका मुद्दा स्वाभाविक रूपले प्रतिपक्षी कांग्रेसको पोल्टामा गए। एमाले र माओवादीको एकीकरणपश्चात् कांग्रेससँग जनताको अपेक्षा बढेको कांग्रेसका नेताका इन्द्रियले चाल पाएनन्। मानवअधिकारको उच्च सम्मानमा विश्वास गर्ने तत्कालीन एमालेनजिकका कतिपय बौद्धिकलाई कांग्रेसले आफूतिर आकर्षित गर्ने र पीडितको पक्षमा बोल्ने त्यो एक अवसर पनि थियो। कांग्रेसलाई त्यसको मतलब भएन। युद्ध क्रममा भएको जनजनको क्षतिको राजनीतिक छिनोफानो होला तर युद्धकालमा आस्थाका आधारमा वा आर्थिक लेनदेनका लागि माओवादी युद्धमा कांग्रेस, एमालेलगायत अन्यको ठूलो मानवीय क्षति भएको छ। तिनको विषयमा सत्तापक्ष र विपक्षमा एकमत भएपछि अब जनताले कांग्रेसलाई केको आधारमा चिन्ने ? लोकतन्त्रको भद्दा मजाक उडाएर रेणुदाहाललाई मेयर बनाउन कांग्रेसको सहयोग थियो। वाइडबडी र एनसेल कर छली जस्ता भ्रष्टाचारका बृहद मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएका छन्।
कांग्रेसको सैद्धान्तिक विचलन, व्यक्तिगत स्वार्थ र दिशाहीनताले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी त्याग गरेका थिए। तैपनि नेता, नीति र रणनीतिको अभावमा संकुचित भएको कांग्रेसको संकुचन यात्रा जारी छ।
खुल्ला मञ्चमा सत्तारूढ दलका अध्यक्षले पाँच हजारको हत्याको जिम्मा आफ्नो भनेर हुंकार गरेका बेला प्रमुख प्रतिपक्षी दल शीत निन्द्रामा मस्त छ। ललिता निवास काण्डमा विजय गच्छदार र रौतहटको एक हत्याकाण्डमा अफताब आलमको नाम मुछिनुमा भने कांग्रेसको सत्तापक्षसँग विमति छ। गच्छदारको छिनोफानो अदालत बाहिर खोज्नुस्वतन्त्र न्यायालयप्रतिको अनास्था हो। अदालतमा सत्य तथ्यको भन्डाफोर गरेर सरकारी सम्पत्ति हिनामिना गर्नेलाई कानुनी कठघरामा उभ्याउने अवसर कांग्रेससँग अझै सुरक्षित छ। संकुचित कांग्रेसलाई फराकिलो बनाउने यो एक अवसर पनि हो तर कांग्रेस केवल गच्छदारको मुक्ति चाहन्छ।
कांग्रेसले आफ्नो विद्यार्थी संगठनको मनोबल घटाउन पनि अनेक प्रयत्न गरेको छ। पदको मिलोमतो गरेर अस्थायी रूपमा विवाद थामथुम पार्नमै कांग्रेसले समय बर्बाद गरिरहेको छ। एकथरि देउवालाई जसरी पनि जोगाउनैपर्ने र त्यसबाटै आफ्नो भलाई हुनेमा निश्चिन्त छन् भने अर्काथरी देउवालाई हटाएर पार्टीमा हालीमुहाली गर्ने अवसरको खोजीमा छन्। कार्यकर्ताले गच्छदारलाई बोक्नमा पनि दलीय स्वार्थ छैन, निजी स्वार्थ छ। कम्युनिस्टको सरकारमा शिक्षा र स्वास्थ्यमा निजीकरण फस्टाएको छ। कम्युनिस्ट नेताले उपयोग गरिरहेका अनेक सुविधाले समतामूलक समाज निर्माणको उपहास गरेको छ। असमानता बढ्दो छ। कांग्रेसले सामाजिक रूपान्तरणका लागि चाहिने नवीनतम विचार र बृहद राष्ट्रनिर्माणका लागि चाहिने भावी दृष्टिकोण प्रस्तुत गर्न सकेको छैन। बृहद राजनीतिक मुद्दामा कांग्रेस मौन छ, समसामयिक मुद्दामा विचारविहीन छ र कुशासनमा सरकारको सहयोगी बनेको छ। त्यसैको परिणाम कांग्रेसले मिडियामा कम स्थान पाएको छ। कम्युनिस्ट नेताहरूले सर्वहारा मुक्तिका विश्वव्यापी नाराहरू घोकेका छन्। तिनले साम्यवादको एकतर्फी अल्प ज्ञानार्जन गरेका छन्, त्यसैले तिनले वास्तविकतामा समानता ल्याउन सकेनन्। विरोध र प्रतिक्रियावादले विद्रोह हुन्छ, समृद्धि हुँदैन। त्यो अल्पज्ञान अहिलेको समृद्धिको बाधक हो। दुर्भाग्य के हो भने कांग्रेसमा कम्युनिस्ट जति अध्ययनशील नेता पनि छैनन्। तिनलाई कांग्रेस लोकतान्त्रिक दल भएको र कम्युनिस्टमा रुन पनि नपाइने भन्ने मात्र थाहा छ, बस। कुशासनका विरुद्ध शब्द र वाक्यको चयन मात्रै उपयुक्त गर्न सके लोकतन्त्रमा मिडिया प्रतिपक्षको हुन्छ। विचारशून्यताले गर्दा कांग्रेसले मिडियालाई आफूतिर आकर्षित गर्न सकेको छैन।
अहिले नेपालको सरकारले एक अमेरिकी अनुदान सहयोग एमसीसी संसद्बाट पारित गर्न खोजेको छ। एमसीसी सहयोग संसारका सबै देशले प्राप्त गर्दैनन्। मानवअधिकारको उच्च सम्मान र भ्रष्टाचार नियन्त्रण यसका निश्चित मापदण्डमध्येका हुन्। एमालेले माओवादीसँग एकता गरेपश्चात नेकपाको भविष्यको बाटो तय भएको छैन। नेपालमा जघन्य अपराधमा मुछिएकालाई कुनै कारबाही नगरिएकाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई विदेश भ्रमणका क्रममा अपमानजनक व्यवहार गरिएको थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको विदेश यात्रामा पनि अनेक प्रश्न उठेका थिए। ती शोभनीय होइनन्। त्यसैले मानवअधिकार उल्लंघनको विषयमा कांग्रेसले पनि मौन ग्रहण गर्नुदेशकै लागि दुर्भाग्य हुन्छ। मानवअधिकार उल्लंघन हुने कुनै पनि कार्यको अनुपालनले कांग्रेसको राष्ट्रिय र अन्तर्राष्ट्रिय छविसमेत बिग्रनेछ। एमसीसी सहयोग नेपालमा आइहाले पनि मानवअधिकारको उल्लंघन वा भ्रष्टाचार नियन्त्रण गरिएन भने यो सहयोग जुनसुकै बेला स्थगित हुनसक्छ।
राणाशासनविरुद्ध बोल्नु मात्रै पनि एक ठूलो मुद्दा थियो। त्यसैको परिणाम २०१५ सालमा कांग्रेसले सम्मानजनक जनमत प्राप्त गर्यो। निर्दलीय व्यवस्थाविरुद्ध संघर्ष गरेर बहुदलीय व्यवस्था स्थापना गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको पुरस्कार पनि कांग्रेसले पाइसकेको छ। नेपालमा कम्युनिस्ट दलहरूको व्यापक उपस्थिति हुनुले पनि लोकतान्त्रिक दल कांग्रेसलाई थोरबहुत लाभ मिलेको छ। ‘बाहुनले पनि जनै देखाउनुपर्छ र ? ’ भन्ने उखान झैं कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यताको विषयमा सधैं शंकाको लाभ प्राप्त गरेको छ। तर नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएका जो कोहीका लागि कांग्रेसको अहिलेको भूमिका सन्तोषजनक छैन, त्यो चिन्ताजनक छ। कांग्रेसले आज खेलेको भूमिकाको आधारमा भोलिको पुस्ताले कांग्रेसलाई चिन्नेछ। कांग्रेसले सभामुखमा व्यक्ति हत्या जस्तो जघन्य आरोप लागेको व्यक्तिलाई सर्वसम्मत रूपमा स्वीकार गरेर सैद्धान्तिक गल्ती गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने कांग्रेसले क्षणिक स्वार्थ वा सानो प्रलोभनका लागि मानवअधिकार जस्तो आफ्नो सैद्धान्तिक विषयमा सम्झौता गर्नुकांग्रेसका तमाम लोकतान्त्रिक योद्धाप्रतिको धोखा हो। सापकोटा र गच्छदारको बचाउ गर्नुकांग्रेसका लागि आत्मदाहसरह हो। भविष्यमा कांग्रेसको राजनीति गर्ने अहिलेको नयाँ पुस्ताले यसको मूल्य तिर्नुपर्नेछ। अब कांग्रेसले जनै देखाउनु पर्नेछ। हिङको टालोमा हिङ भर्नुपर्नेछ।
गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसम्मको कांग्रेस लोकतन्त्रका लागि संघर्षरत थियो। त्यसबेला लोकतन्त्र स्वयंमा एउटा ठूलो जोखिमपूर्ण मुद्दा थियो। चार आधारभूत स्वतन्त्रता कांग्रेसका आदर्श भएकाले कांग्रेस बहुदलपश्चात आजसम्म जीवित छ। कांग्रेसको सैद्धान्तिक विचलन, व्यक्तिगत स्वार्थ र दिशाहीनताले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस त्याग गरेका थिए। नेता, नीति र रणनीतिको अभावमा संकुचित भएको कांग्रेसको संकुचन यात्रा जारी छ। मानवअधिकारको सम्मान, विधिको शासन र स्वतन्त्र न्यायालयप्रति आस्थावान् जनताले कांग्रेस त्याग्ने वातावरणको निर्माण कांग्रेस स्वयंले गर्दैछ। यो आत्मदाह नभएर के हो त ?