भाइरल हुने बौद्धिक मोह
एकजना सभासद्ले स्वस्थानी च्यात्ने अभियान चलाउनुपर्छ भनेर दिएको अभिव्यक्तिको विरोध र समर्थन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको भनाइप्रति त्यत्ति आपत्ति जनाउनुपर्ने स्थिति देखिँदैन किनकि उनी त्यति शिक्षित, चेतनशील एवं विवेकशील होइनन् । यदि उनीहरूमा महिलाले भोग्नुपरेका यसखाले अमानवीय समस्याप्रति अलिकति मात्र विवेक रहेको भए महिलाको ज्यानै लिने छाउपडी प्रथालाई सशस्त्र संघर्षकै बेला निमिट्यान्न पार्नसक्ने स्थिति थियो ।
सशस्त्र संघर्षको मूल थलो भनेकै पश्चिम नेपाल हो । त्यसबेला उनीहरूलाई निरीह जनताले बाध्यतालै नै भए पनि गाँस र बास दिएर बचाएकै हुन् । त्यतिबेला आफू बसेका क्षेत्रमा छाउपडी प्रथा थियो भन्ने उनीहरूको जानकारीमा नभएको पटक्कै होइन । त्यतिबेला उनीहरूको आदेश उल्लंघन गर्नु भनेको यमराजको पाहुना हुनु निश्चितै थियो । यदि उनीहरू साँच्चै समाजबाट विकृति हटाएर समतामूलक समाज स्थापना गर्ने अभीष्टले लागेका थिए भने छाउगोठमा बस्ने र बसाउनेलाई ‘भौतिक कारबाही गरिनेछ’ भनेर हल्ला मात्र पिटाइदिएको भए काम तमाम हुन्थ्यो । त्यसैले उनीहरूको अभिव्यक्तिका लागि प्रतिक्रिया दिनुको कुनै अर्थ रहँदैन ।
पहिलो कुरा, हरेक वर्ग, जाति, समाज कुनै न कुनै परम्पराबाट निर्देशित र सञ्चालित हुन्छ । समाजलाई अनुशासनमा राख्ने अभीष्टले त्यस्ता परम्पराको प्रचलन प्रारम्भ भएको पाइन्छ । शिक्षाको चेतना एवं सञ्चारको अभावमा जंगली अवस्थाबाट विकसित हुँदै जाँदा आफ्नो समूहलाई अनुशासन एवं अगुवाको नियन्त्रणमा राख्ने उद्देश्यले बनाइएका आचारसंहिता नितान्त रुढि, अवैज्ञानिक एवं अमानवीय पनि हुनसक्छन् । आजको युगमा त्यस्ता मिथमाथि विश्वास गर्न कोही बाध्य छैन र कसैले बाध्य पार्दैन पनि ।
महिला विरोधी भएकै कारण स्वस्थानीलाई जलाउनुपर्ने अभिव्यक्ति दिने प्राध्यापक एवं बौद्धिकवर्ग शास्त्रले निर्दिष्ट नगरेको दासत्व झल्काउने कार्यमा महिलालाई धकेलिरहेको यथार्थलाई किन चुपचाप समर्थन गरिरहेछन् ? यसको उदाहरणका रूपमा विवाहमा गरिने संस्कारमध्ये एउटा स्वयंवरको विधिविधानलाई लिन सकिन्छ ।
महिला समस्या उठाउँदा तपाईंहरूलाई केही प्राप्त हुँदैन, बरु भर्याङ खोज्दै ढोकाढोका चाहारे, ल्याप्चेलालहरूको फेर समातेर प्रभुहरूलाई रिझाउन सके तपाईहरु ठूलै चिज हात लाग्नसक्छ ।
‘स्वयंवर’ शब्दको अर्थ नै स्वयं वरण गर्नु भएकाले यो महिला सशक्तीकरणको उत्कृष्ट नमुना हो । महिलाको आत्मनिर्णयको अधिकारका दृष्टिले हेर्दा योभन्दा गतिलो उदाहरण अरू हुनसक्दैन सायद । तर अहिले हामीले यसको व्यापकतालाई खुम्च्याएर यसलाई महिलामाथि थोपरिएको दासताको नमुनाका रूपमा विकास गरिराखेका छौं । पहिलो कुरा स्वयंवर शब्दले दिने अर्थलाई निमिट्यान्नै पारेर अहिले स्वयंवरको निम्तामा समेत वरलाई देवत्वकरण गर्दै अनावश्यक अनेक ढर्राका साथ दक्षिणासहित वरको पूजाअर्चना गर्नुुपर्ने विकृति भित्रिएको छ । अझ अगाडि बढेर हेर्दा कन्या र वर एकअर्काका सामु उभिएर माला एवं औंठी साटासाट गर्ने शास्त्रले स्वयंवरको विधिमा निर्दिष्ट गरेको छ । तर हाम्रो सामाजिक व्यवहारमाचाहिं चाँदीको करुवामा जल भरेर वरलाई देवत्वकरण गर्दै प्रदक्षिणा गर्न कन्यालाई आदेश दिइन्छ । सनातनी परम्परामा आस्था राख्ने भारतका विभिन्न जाति एवं क्षेत्रमा पनि स्वयंवरको विधिविधानमा वरलाई देवत्वकरण गर्दै कन्यालाई जलले वरको प्रदक्षिणा गर्न लगाइँदैन ।
धर्मशास्त्रभित्र नै यस्तो व्यवस्था गरिएको थियो भने पनि समयसापेक्ष ढंगले धर्मशास्त्र एवं संस्कार परिष्कार गर्दै जानुपर्ने थियो तर शास्त्रमै नभएको विधिविधान थपेर हाम्री चेलीलाई दासी बनाउँदै उसको लोग्नेलाई देवता बनाउने अभ्यासको अभियानलाई हामी हर्ष एवं उल्लासका साथ ताली बजाएर स्वागत गरिरहेका छौं । शास्त्रले निर्दिष्ट नगरेको महिलाविरोधी क्रियाकलापको सिर्जनामा रमाउने हाम्रो बौद्धिकवर्गलाई कुनै बेला लेखिएको आख्यानमाथि यति आक्रोश व्यक्त गर्न कुन नैतिकताले दिन्छ ?
अर्काेतर्फ अहिले प्रचलित सम्धीभेटको प्रचलनलाई लिऊँ । हामीले थाहापाउन्जेल पनि सम्धीभेट भनेको वर र कन्याका मातापिताको भेटघाट गर्ने कार्यलाई बुझिन्थ्यो तर अहिले एकातिर सम्धीभेटको ढर्रा हेर्दा यसका लागि कन्यापक्षको घरखेतै उडाउनुपर्ने स्थिति आइसकेको छ भने अर्काेतिर कन्यापक्षका अभिभावकको अस्तित्व वरपक्षका कुकुरबिरालाको समेत पैतालामुनि घुसार्नुपर्ने स्थिति रहेकोतर्पm हामी कोही पनि अनभिज्ञ छैनौं । यस्ता कुरामा उत्साह एवं उमंगका साथ लाइन लागेर लेनदेन (देन मात्र) गर्नु मानवीय अस्तित्वका दृष्टिले कत्तिको उचित हुन्छ भन्नेमा कसैको ध्यान गएको पाइँदैन । भलै यी कुरा शास्त्र एवं परम्पराले निर्दिष्ट गरेको भए कुरो बेग्लै हुन्थ्यो, यसखाले प्रचलन त नेपाली समाजमा भर्खर पलाउन थालेका क्यान्सर मात्र हुन् ।
मिथ अर्थात् पुराकथा नभएको मानव समुदाय यस धर्तीमा छैन होला । सम्बद्ध समाजको लौकिक सम्पत्तिका रूपमा रहेको मिथ समाज विकासको इतिहास बुझ्ने माध्यम पनि हो भन्ने हाम्रा बौद्धिक एवं प्राध्यापकवर्गलाई जानकारी हुनु नै पर्ने हो । त्यसैले समाजमा प्रचलित कथ्य तथा लिखित आख्यान एवं मिथको संरक्षण गर्नु सम्बद्ध जातिको दायित्व पनि हो । त्यसले निर्दिष्ट गरेका सन्दर्भहरू वर्तमानमा समयसापेक्ष एवं व्यावहारिक छन् कि छैनन् अनि अहिले तिनलाई आत्मसात गर्ने कि नगर्ने भन्ने व्यक्तिको चेतना र विवेकले निर्धारण गर्नुपर्छ, त्यसमा पनि अहिलेको विद्युतीय सञ्चारको युगमा मिथद्वारा निर्दिष्ट कतिपय सन्दर्भ आत्मसात गर्न कोही पनि बाध्य छैन र कसैले बाध्य पार्दैन पनि । त्यसैले कुनै आख्यानका पुस्तक च्यातेर, जलाएर कसैको पनि क्रान्तिकारी अभीष्ट पूरा हुँदैन र समाजमा परिवर्तन आउँदैन ।
कुनै लिंग, जाति, वर्गविरोधी आख्यान लेखिएकै आधारमा त्यो च्यातिने, जलाउने कार्य सायद नेपालमा मात्रै हुने गर्छ । पाश्चात्य साहित्यशास्त्रका चिन्तक एरिस्टोटलले महिलाका त्रुटि एवं कमजोरीतर्पm संकेत गर्दै ‘केही गुणहरूको कमीका कारण नारी नारी भएको हो’ भन्ने अभिव्यक्तिका साथ नारीको आलोचना गरेका छन् । सेन्ट टमस एक्विनसले पनि ‘नारीलाई अपूर्ण मानिस’ भनी नारीकै खोट देखाउन परि श्रम गरेको देखिन्छ । अर्काेतिर विश्वप्रसिद्ध मनोविश्लेषक फ्रायडले नारीमा पाइने ‘शिश्न ईश्र्या’ का सन्दर्भबाट नारीको आलोचना गर्दै नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम भनी व्याख्या गरेका छन् । यदि महिलाविरोधी अभिव्यक्ति दिएकै कारण उनीहरूको नामनामेसी नै निमिट्यान्न पार्नुपर्ने भए एरिस्टोटललगायत अन्य कतिपय दार्शनिकको अहिले कुनै अस्तित्व नै बाँकी रहने थिएन तर यसका विपरीत संसारका विभिन्न विश्वविद्यालयमा यिनीहरूद्वारा प्रतिपादित सिद्धान्त सम्मानपूर्वक पढिन्छ, पढाइन्छ । अर्काेतर्फ समाजमा यस्ता सामाजिक असामाजिक तत्वहरूको पनि बोलवाला हुनेगर्छ भनेर भावी पुस्तालाई देखाउन पनि यस्ता सामग्रीको संरक्षण आवश्यक हुन्छ ।
अन्तको कुरा किन गर्नु, हाम्रै देशका अधिकांश व्यक्ति पनि ‘पतिभक्ति त मर्दैन पापी पति भए पनि’ पंक्तिको सप्रसंग व्याख्या गरेरै शिक्षित एवं बौद्धिक भएका हुन् । प्रस्तुत पंक्ति सप्रसंग व्याख्या गर्न गराउनमै हाम्रो बौद्धिकवर्ग रमाइरहेको यथार्थ सर्वविदितै छ । ‘समका अरू थुप्रै नाटक छन्, यसको सट्टा अरू नै पढाउन सकिँदैन र ? ’ भनेर हाम्रो बौद्धिकवर्गले कहिल्यै प्रश्न गर्न सकेन, चाहेन । हुन त नलेखिएका पुस्तकहरूको चाङमा बसेर बौद्धिक एवं प्राध्यापक भएको आत्मरतिमा रमाउनेहरूबाट अरू के आस गर्नु ? अर्काेतिर विश्वविद्यालयले दिएको अध्ययन सुविधाको दुरुपयोग गर्दै बन्दव्यापार गर्ने, छोरीबुहारी स्याहार्न ठूला जहाजमा उड्ने, ल्याप्चेलाल प्रभुहरूको झोला बोकेर हिँड्नेसँग नैतिकता नै के बाँकी रहन्छ र ? अझ भर्याङ खोज्ने चक्करमा ढोका चाहार्दै आफ्नो अस्तित्व नै ल्याप्चेलालहरूका दौराका फेरमा नामेट पार्ने कथित बौद्धिकवर्गबाट विवेकपूर्ण अभिव्यक्तिको आश गर्नु पनि बेकारै हो ।
लैंगिक समानता, महिला आरक्षण र महिला सशक्तीकरण केही समययता नेपालमा सर्वाधिक चर्चामा रहेका शब्दावली हुन् । विश्वस्तरीय यस्ता मानवीय आदर्शयुक्त अवधारणाहरू नेपालमा चाहिँ केही समय पहिलेसम्म कथित नेताहरूका भाषण, तारे होटेलका गोष्ठी, सडक आन्दोलन र पत्रपत्रिकाहरूका स्तम्भमै सीमित पारिएका विषय हुन् भने केही समययता सामाजिक सञ्जालमा भाइरल हुने माध्यम बनेका छन् ।
लैंगिक समानताका लागि भाइरल हुने मोहभन्दा माथि उठेर बौद्धिकवर्गले इमानदारीपूर्वक विवेकपूर्ण ढंगले आवाज उठाइदिएको भए त्यसको सकारात्मक परिणाम पनि सजिलै निस्कने कुरामा कुनै सन्देह छैन । राजनीतिक प्रतिबद्धता र बौद्धिकवर्गको विवेकबाट समाजमा व्याप्त कुप्रथाहरूलाई कानुनी रूपमै पाखा लगाउन सकिने रहेछ भन्ने उदाहरण हाम्रो शास्त्रमै व्यवस्था भएको सतीप्रथा नै पर्याप्त छ । यसका साथै ‘अष्ट वर्षा भवेत गौरी नववर्षा च रोहिणी’ भन्दै कन्यादान गरिदिने व्यवस्था पनि हामै्र शास्त्रले निर्दिष्ट गरेकै थियो तर आज हाम्रा सन्तानलाई यसबारे कुनै जानकारी नै छैन । यसरी हेर्दा हाम्रो सन्दर्भमा राजनीतिक, प्रशासनिक एवं बौद्धिक व्यक्तित्वले महिला समस्यालाई बौद्धिक विलासका रूपमा लिँदै गैरजिम्मेवार भएर गरिदिने हल्काफुल्का टिप्पणीले महिला र महिलाको अस्मितालाई उपहास गर्नुबाहेक अरू केही गर्न सकेको देखिँदैन ।
त्यसैले भाइरल हुने मोहले सामाजिक सञ्जालमा अनर्गल कुरा उराल्ने बौद्धिकवर्गलाई मेरो विनम्र निवेदन छ, महिला समस्या उठाउँदा तपाईंहरूलाई केही प्राप्त हुँदैन, बरु भर्याङ खोज्दै ढोकाढोका चाहारे, ल्याप्चेलालहरूको फेर समातेर प्रभुहरूलाई रिझाउन सके तपाईहरू ठूलै चिज हात लाग्नसक्छ । त्यसैले महिलाका समस्याहरूलाई हल्काफुल्का टिप्पणी गरेर उडाउनाको साटो यथावतै अवस्थामा रहन दिनुहोस् ।