प्राविधिक शिक्षामा पहुँच बढ्दै
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ४ का स्थानीय युवकको प्राविधिक शिक्षा पढ्ने सपना भीमदत्त पोलिटेक्निक इन्स्टिच्यूटले पूरा गर्न थालेको छ।
सीटीइभीटीबाट मान्यता प्राप्त सो शिक्षालयमा तीन वर्षे बाली विज्ञानमा पढ्न पाउँदा तेजराज भट्ट अहिले निकै खुसी भएका छन्। सुर्नया ४ कै देवकी महरा पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्यूटमा तीन वर्षे सिभिल इन्जिनियरिङ पढ्दै छन्।
‘सिभिल इन्जिनियरङ पढेपछि केही न केही काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ’, उनले भनिन्, ‘बैतडीको पाटनमा गत वर्षदेखि सरकारको पूर्ण लगानीमा इन्जिनियरिङ शिक्षा सुरु भएको हो।’
पाटनमा प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका विद्यार्थीको पनि प्राविधिक शिक्षामा पहुँच बढेको शिक्षालय प्रमुख हरिशसिंह थापाले बताए । ‘कतिपय विद्यार्थीको आर्थिक अवस्था कमजोर हुँदा टाढा गएर प्राविधिक शिक्षा हासिल गर्न सकिरहेका थिएनन्’, उनले भने, ‘जिल्लामै प्राविधिक शिक्षा पढ्न पाउँदा उनीहरुको प्राविधिक शिक्षामा पहुँच बढेको छ ।’
गत वर्षदेखि सञ्चालनमा आएको शिक्षालयमा तीन वर्षे बाली विज्ञान र सिभिल इन्जिनियरङको पढाई भइरहेको छ। बाली विज्ञान गतवर्ष र सिभिल इन्जिनियरिङ यो वर्षबाट सुरु भएको हो।