काठ कुर्दै काष्ठमण्डप
काठमाडौं : वसन्तपुरमा रहेको मरु सतः (काष्ठमण्डप) सात महिनादेखि काठको पर्खाइमा छ। राम्रो काठ जुटाउन नसकेपछि पुननिर्माणको कामसमेत सुस्त गतिमा छ। काठैकाठले बनेको काष्ठमण्डपमा करिब १२ देखि १५ हजार क्युफिट काठ आवश्यक पर्छ।
भूकम्पले पूर्णरूपमा भत्काएको काष्ठमण्डप पुनर्निर्माणको क्रममा छ। काष्ठमण्डप पुननिर्माण समितिले पुराना काठलाई प्रयोगमा नल्याउँदा नयाँ काठको पर्खाइमा बस्नुपरेको हो। काष्ठमण्डपमा प्रयोग हुने काठ विशेष खालको हुन्छ। सामान्यतया ३७ फिट लम्बाइ र १५÷१५ इन्चको मोटाइ भएको काठ चाहिन्छ। जुन सजिलै पाइँदैन। एक महिनाअघि काठ जुटाउन समिति हेटौंडासम्म पुगेको थियो। तर काठ झिकाउन सकेन। प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपछि काठ निकासीमा लामो प्रक्रिया अपनाउनु परेको समितिका सचिव गौतम डंगोलले बताए।
‘मन्त्रिपरिषद्बाटै आवश्यक काठ प्राप्तिका लागि निर्णय भएको छ’, डंगोलले भने, ‘तर पक्रिया पूरा गर्दा गर्दै काठ निर्माण स्थलसम्म आइपुग्न ढिला हुन्छ।’ काष्ठमण्डका लागि चार हजार क्युफिट काठ ल्याइसकिएको छ। अब ८ हजार क्युफिटका लागि समितिले उपत्यका बाहिर खोजी गरिरहेको उनले बताए। यसपटक काठ कञ्चनपुरको जंगलबाट ल्याइने छ। भुइँ तलामा इँटा र माटोको गाह्रो लगाउँदै थाम, निदाल (निनाः) राख्ने काम सकिएको छ। बाँकी काठबाट अहिले पहिलो तल्लामा काठको झ्याल राखिँदै छ। उनले भने, ‘अघिल्लो चरणमा भिœयाइएको बाँकी काठबाटै काम चलाइरहेका छौं। काठकै कारणले काम रोकेका छैनौं।’
२०७५ साउनमा मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणको ४०० केबी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डप पुनर्निर्माणका लागि दिने निर्णय भएपछि काष्ठमण्डपको काम अघि बढेको थियो। पहिलो चरणको काठ खरिदको लागि समितिले ‘द टिम्बर कर्पोरेसन अफ नेपाल’ (टीसीएन) मार्फत महोत्तरी जिल्ला बर्दिबास टुटेश्वरनाथ साझा वन र गढन्ता साझा वनसंग खरिदको सम्झौता गरेको थियो।
दोस्रो चरणमा समितिले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको निर्माण गर्दा काटिएको रुखलाई काष्ठमण्डप पुननिर्माणमा प्रयोग गरेको छ।
काठमा बुट्टा भर्ने र सम्याउने कार्य हनुमानढोकामा रहेको प्रहरी चौकी परिसरमा गरिँदै छ। उक्त स्थानको प्रहरी चौकी भुकम्पपछि टेकुमा सरेलगतै काष्ठमण्डप पुननिर्माणको अफिस यही ठाउँमा राखिएको हो।
काष्ठमण्डप एउटै रुखको काठले बनेको विश्वास गरिन्छ। भुकम्पपछि बेलायतको दुर्हम विश्वविद्यालय र पुरातत्व विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि गरेको छ।
फोटोः अन्नपूर्ण